प्रदिप लामा
यूवा नेता, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा), काभ्रे
० तपाईंको राजनीतिक तथा पारिवारिक अवस्थाकोबारेमा बताइदिनुहोस् न ।
–विद्यार्थी जीवनदेखि नै राजनीतिक अभियानमा सहभागी भएको हँु, जतिबेला म १४÷१५ वर्षको थिएँ । त्यो समय दलहरुमाथि प्रतिवन्ध लगाएको अवस्था थियो । म पढ्ने विद्यालयमा रहेका शिक्षकहरुले पनि मलाई राजनीतिक दिशा पकड्न सघाउनु भएको थियो । त्यसो त मेरो पारिवारिक पृष्ठभूमी पनि राजनीतिक नै थियो अर्थात मेरा बुबा स्वर्गीय कमानसिं लामा जनपक्षीय प्रधानपञ्च हुनुहुन्थ्यो । काभ्रेको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिकामा रहेका शिक्षक शिवबहादुर देउजा र नारायण पाण्डे लगायतका नेताहरुको सम्पर्कले म कम्युनिस्ट बनेको हुँ । तत्कालिन नेकपा (माले) गाउँ पार्टी कमिटीको सदस्य हुँदै सचिवको भूमिका निर्वाह गरेको थिएँ । पछि पार्टी एकता भएपछि प्राजातान्त्रिक राष्ट्रिय युवा संघको इलाका कमिटी सदस्यको समेत जिम्मेवारी सम्हालेको थिएँ यससँगै पार्टीको इलाका कमिटी सचिव भएर काम गरें ।
तत्कालिन प्ररायुसंघको २ कार्यकाल जिल्ला कमिटी सदस्य र पछि कोषाध्यक्षको भूमिकामा रहेका बेला ३ कार्यकाल नेकपा (एमाले) को जिल्ला कमिटी सदस्य भएर भूमिका निर्वाह गरेको छु । यो सँगै एक कार्यकाल लोकतान्त्रिक तामाङ संघ काभ्रे–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष भएर पनि जिम्मेवारी निर्वाह गरेको थिएँ । नयाँ संरचनाअनुसार भएको पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा तत्कालिन नेकपा (एमाले) को तर्फबाट तेमाल गाउँपालिकामा अध्यक्षको उमेद्वार भएको थिएँ । हाल पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा पार्टी सदस्य बाहेक जिम्मेवारी विहिन अवस्थामा छु ।
मध्यम वर्गीय पहाडी किसान परिवारका हामी ५ दाजुभाइ र एक बहिनी मध्ये म २०२८ सालमा जन्मिएको साइलो छोरा हुँ ।
० तेमाल गाउँपालिकाको वर्तमान अवस्थाको बारेमा बताईदिनुहोस् न ?
–संघीय संरचनाअनुसार तीन तहको सरकार गठन भइसकेको छ । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचपछि तेमाल गाउँपालिकाम पनि स्थानीय सरकार छ । समग्रमा तेमाल गाउँपालिकाको वर्तमान निर्वाचित सरकारले विकास निर्माणलाई सही ढंगले नेतृत्व गर्न सकेको छैन । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, सञ्चार लगायतका क्षेत्रमा गाउँपालिकाले प्रभावकारी रुपमा जनतालाई सेवा प्रवाह गर्न सकेको छैन । गाउँपालिका सामान्य विषयका गतिविधिमा समेत समन्वय गर्न नसकेर गाउँ सरकार विवादहरुमा अल्झिने गरेको छ । गाउँ सरकारको गलत गतिविधिका कारण यसले अनावश्यक झमेलाको सिर्जना आफैंले गरेको देखिएको छ । त्यस्ता गम्भीर विषयमा के भइरहेको छ ? त्यो जनतालाई कुनै जानकारी हुने गरेको छैन ।

तेमाल गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टीको बहुमत छ । यति हुँदाहुँदै पनि हामी प्रतिपक्षको भूमिकामा रहेका छौं । त्यसैले पनि हामीले निर्वाचनका समयमा प्रस्तुत गरेका सबैखाले योजनाहरुलाई जनताको बीचमा पस्कन सक्ने अवस्थामा छैनौं । हामीले प्रस्ताव गरेका जनताका कतिपय योजनाहरुलाई नियोजित रुपमा हटाउने खेलहरु भएको अनुभूति नेपाल कम्युनिस्ट पार्टीले गरेको छ । तथापी हाम्रा एजेण्डाहरुलाई हामीले जवरजस्त रुपमा लिएर जान बाध्य भने पार्न सकेका छौं ।
गाउँपालिकाले जनताको विकास निर्माणमा सहजता बनाउनका लागि आफैंले पाएको अधिकारलाई समेत कार्यान्वयनमा ल्याएको छैन । यसले दैनिक कार्यसञ्चालनका लागि आवश्यक ऐन, नियमावली, कार्यविधी र निर्देशिका बनाउन सकिरहेको छैन । बनाएको ऐन र नियमावलीलाई पनि लोकतान्त्रिक पद्दति विपरित कार्यान्वयन गरिरहेको छ । विद्यालय व्यवस्थापन समिति अभिभावकबाट छनौट नगरी गाउँपालिकाले तोकेर पठाउने व्यवस्था गरिएको छ । तेमाल गाउँपालिकाले लोकतन्त्रको यस्तो गलत अभ्यास गरिरहेको छ । यहाँ सुशासनको राम्रो अभ्यास भएको अनुभूति जनताले गर्न पाएका छैनन् । म पनि तत्कालिन नेकपा एमालेबाट लोकप्रिय मत प्राप्त गरेको व्यक्ति हुँ । म लोकतान्त्रिक विधी र पद्दतिमा गाउँपालिका सञ्चालन होस भन्ने पक्षमा छु ।
तेमाल गाउँपालिका कम्युनिस्टहरुको उर्वर भूमी हो । तेमालमा भइरहेको विकास निर्माणको नेतृत्व कम्युनिस्टले हिजोदेखि नै गरेका हुन् । तेमाल समृद्ध र सवल बनाउने अभियानमा कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता र शुभचिन्तक लागिरहेका छन् । तेमाललाई अरु गाउँपालिकाभन्दा नमूना बनाउने अभियानमा हामी क्रियाशील नै छौं ।

० तपाईं गाउँपालिका अध्यक्षको उम्मेदवार हुँदै गर्दा जनता समक्ष प्रस्तुत गरेका प्रतिद्धताहरु के–के थियो ?
–मेरो चुनावी प्रतिवद्धताहरु धेरै थिए । यसलाई मैले निर्वाचनका बेलामा भैतिक पूर्वाधार निर्माण, आर्थिक पूजीको विकास र सशक्तीकरण, सामाजिक विकास, सूचना तथा सञ्चारको विकास लागायतमा वर्गीकृत गरी प्रतिवद्धता जाहेर गरेको थिएँ । यो सबै प्रतिवद्धताहरु मैले जनतालाई वितरण नै गरेको छु । सारमा तेमालमा भौतिक पूर्वाधारको क्षेत्रमा तेमाललाई नयाँ तेमालको रुपमा विकास गर्नका लागि नौवटै वडाहरुमा रहेका मठमन्दिरहरु, गुम्बा, पाटीपौवाहरु पुनर्निर्माण गर्ने, पाहुना घरहरुको निर्माण गर्ने, तेमालमा १२ वटा द्वार निर्माण गर्ने, अन्तर्राष्ट्रिय तामाङ पार्क बनाउने, तामाङ फिल्म पार्क बनाउने र तेमाललाई आर्थिक विकासको रुपमा विभिन्न वित्तीय संघ÷संस्थाहरुको स्थापना गर्ने, तेमालको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पु¥याउने, बहुचर्चित बोधिचित्तको प्रशोधन केन्द्र निर्माण गर्ने, शिक्षामा समाजवादउन्मुख शिक्षा प्रणालीको जग बसाल्दै तेमालका बहुसंख्यक युवाहरुलाई तेमालमा नै रोजगारी दिने गरी शिक्षा प्रदान गर्ने, त्यसैगरी तेमालमा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निर्माण गर्ने लगायत रहेका थिए ।
० पूरा गर्ने कोशिस गर्नुभयो ?
–प्रशस्तै गरेको छु । म निरन्तर जनताको घरदैलोमा नै छु । मैले चुनावका बेलामा प्रतिवद्धता गरेका ऐजेण्डाहरुलाई पूरा गराउन क्रियाशील छु । संघ सरकार, प्रदेश सरकारलाई झकझकाउने काममा निरन्तर लागिरहेको छु । मैले तेमालमा तामाङ संग्राहलाई बनाउने भनेको थिएँ । त्यो कामको प्रारम्भ मैले नै गराउन लगाएको छु । तेमाल भ्यु टावरको निर्माण म निर्वाचित भएर आएपछि गराउने भनेको थिएँ । त्यो काम शुरु भएको छ । डम्फूपार्कको योजना पनि मैले बनाएको थिएँ । त्यो काम पनि शुरु हुँदैछ । अझ योभन्दा पनि महत्वपूर्ण कुरा तेमाल जनतालाई काकाकुलबाट बाहिर ल्याउने कामलाई पनि अन्तिम अवस्थामा पुर्‍याइएको छ । यो निकट भविष्यमा नै तेमाले जनताको घर–घरमा धारा जाडान हुनेछन् ।
यो मेरो र नेपाल कम्युनिस्ट पार्टी तेमालको अगुवाईमा नै भएको हो । तेमालमा पालिका जोड्ने मोटर बाटो निर्माण गर्ने पनि मेरो सपना थियो । त्यो संघ र प्रदेश सरकारको अगुवाईमा भइरहेको छ । जिल्ला सदरमुकामबाट गाउँपालिकाको सदरमुकामसम्म कालोपत्रे सडक निर्माण गर्ने मेरो अभियानलाई मैले जारी राखेको छु । यसरी नै चरणवद्ध रुपमा मैले प्रस्तुत गरेका अन्य योजनाहरु लगालग शुरु हुँदै जानेछन् र एकदिन तेमाले जनताहरुले सुखी जीवनको अनुभूति हुने गरी नै जनताको जीवनस्तर उठ्नेछ भन्ने विश्वास म तपाईको मिडियामार्फत जनतालाई दिलाउन चाहन्छु ।
० काँग्रेस कै शासन छ होइन त तेमालमा ?
–तपाईले कसरी भन्नु भएको हो ? म तेमालमा कांग्रेसको सरकार नै देख्दिनँ । अंकगणितीय हिसाबले केही मत तलमाथी भएको होला । म र पार्टीलाई तेमाले जनताले अपार माया दिएका छन् । त्यसैको जगमा संघ सरकारमा नेकपा छ । प्रदेश सरकारमा नेकपा छ । तेमालमा पनि बहुमत नेकपा नै छ भने भन्नु त कसरी कांग्रेसको सरकार छ भनेर भन्न सकिन्छ ? तपाईंको जस्तो लोकप्रिय मिडियाले यसरी प्रचार गर्नु भनेको मलाई तेमाले जनताको अपमान गर्नु हो जस्तो लाग्छ ।
० नेकपाको बहुमत हुँदा हुँदै पनि नेकपाबाट जनप्रनिधि बनेकाहरुको भूमिका कस्तो पाउनुभएको छ ?
तेमालमा नेकपाबाट निर्वाचित हुनु भएका जनप्रतिनिधिहरुको भूमिका सशक्त छ । जनप्रतिनिधिहरुले सुझबुझपूर्ण तरिकाले नै जनताको काम गरिरहेका छन् । मैले सुनिरहेको छु कि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले गरेका कामीकमजोरीहरुलाई समेत नेकपाका जनप्रतिनिधिहरुले सच्याएर लाने काम गरिरहनु भएको छ । जनप्रनिधिहरु भएको हिसाबले अन्य नेकपा इतरका वडाहरुमा नेकपा समर्थित समुदायलाई विभेद गरेको सुनिएको छ । हरेक उपभोक्ता समितिहरुमा नेपाली कांग्रेसको ट्याग लागेकाहरु समाहित गरिएको छ । यो लोकतन्त्रको मूल्य र मान्यता विपरित हो र प्रजातन्त्रको उपहास हो । तर हाम्रो वडाअध्यक्षहरुले त्यस्तो कुनै पनि विभेद गरेको देखिएको छैन । हाम्रा जनप्रतिनिधीहरु पार्टीभन्दा माथि उठेर आम समुदायको सुख दुःखमा एकाकार गरिरहेका छन् । उनीहरु पार्टीको चेन अफ कमाण्डमा छन् । यो तेमालको कम्युनिस्ट पार्टीको लागि राम्रो कुरा हो । तेमालको सुन्दर भविष्य पनि यसमै निहित रहेको छ भन्ने मलाई लाग्छ ।
० तेमालको लागि तपाईंले केन्द्र सरकार र प्रदेश सरकारमा के कस्तो भूमिका खेलिरहनु भएको छ ?
–थुप्रै भूमिका निर्वाह गरेको छु । यो कुरा मैले अघि नै चर्चा गरिसकेको छु । संघ र प्रदेश सरकारले तेमालमा हाम्रो चुनावी घोषणापत्रअनुसार नै काम गरिरहेको छ । त्यसैले तेमाल गाउँपालिकाबासीको सपना निकट भविष्यमा पूरा हुन्छ भन्ने मलाई लाग्छ । जनताको कामलाई अगुवाई गर्न सकेकाले मलाई यतिबेला निर्वाचनमा पराजित भएको समेत महसुस भएको छैन ।
० अबको तपाईंको योजना के छ त ?
–तपाईले सोध्नु भएको प्रश्न चाहिं के मा केन्द्रित हो मलाई थाहा भएन । म हिजो पनि जनताको काखमै थिएँ । म फेरि पनि जनताको बीचमा नै रहनेछु । मेरो तेमाललाई सबल र समृद्ध बनाउने योजनाहरु केही अधुरा छन् । जसको सपना उसैको नेतृत्व भन्छन् नि, कार्यक्रम र नेतृत्व एउटैको हुनुपर्छ भन्ने मान्यता म पनि राख्छु । त्यसका लागि म तेमालको छोरो भएको हिसाबले कुनै न कुनैदिन तेमाले जनताको नेतृत्व गरेर जनताको बीचबाटै तेमाललाई समृद्ध बनाउन लाग्नेछु ।
० अन्तमा तेमालका जनतालाई के भन्न चाहनुहुन्छ ?
–म योजनावद्ध रुपमा नै तेमालबासी जनताको सुखको दिन ल्याउन लागिरहेको छु । त्यसका लागि सबै तेमाले जनताले साथ र सहयोग गर्ने नै छन् । हाम्रो पार्टीले नयाँ सवल र समृद्ध तेमालको परिकल्पना गरिरहेको छ । तेमालमा सबै खाले विकास निर्माण हाम्रै अगुवाईमा भएको हो । हामीले तेमाललाई नेपालकै सभ्य र मौलिक नमुना गाउँको रुपमा विकास गर्ने योजना बनाएका छौं । यो अभिभारा पूरा गर्न हामीलाई अंक गणितीय मतदानको जरुरी पनि छैन । हामीले विधीको शासन र कानुनी प्रक्रियालाई संस्थागत गर्न हिजो सहभागीता जनाएका हौं । तेमालको विकासमा तेमाले जनताको अपार माया, सदभाव र सहयोग नै काफी छ । तेमाले जनताले अहिलेको अभियानमा देखाउनु भएको साहस र अपार मायाप्रति म लगायत नेकपा सधै ऋणी छ ।
जनताको अभिमतलाई साथ लिंदै अविचलित भई तेमाल विकासमा अविराम लागिरहँने प्रण गर्दछु । यो शरिरमा एक थोपा रातो रगत छाउन्जेल तेमाले जनवस्ती र घर आँगनमा रहनेछु । मलाई साथ र सहयोग गर्ने सबैमा ह्दयदेखि धन्यवाद दिन चाहन्छु । अब थप नयाँ जोस, उर्जा र क्रियाशील भएर म तेमाले जनताको बीचमा आउनेछु ।
मेरा भनाईहरुलाई आम तेमालबासी र तपाइएको पाठकसामु पुर्‍याउन सघाउनु भएकोमा तपाई लगायत तपाईको मिडियालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
प्रस्तुतिः अञ्जली तामाङ 

Comments

comments