काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गरेका छन् । गत वर्ष त्यही अनुपातमा खेती गरेका उनले यस वर्ष राम्रो आम्दानी पाएको बताए।
पहिलो पटक आलु खनेर बिक्री गरिसकेका उनले प्रतिकिलो ३२ रुपैयाँ सम्ममा बिक्री गरेको बताए । आलुको अवस्था अनुसार किलोको ३५ सम्म मूल्य पाएको अधिकारीको भनाइ छ । “केही वर्षयताको मूल्यमा यस वर्ष राम्रो भाउ पाएका छौँ”, उनले भने, “गत वर्ष भन्दा यस वर्ष आलुखेती गर्ने किसानले राम्रो मूल्य पाएका छन् ।” गत वर्ष किलोको २० देखि २२ सम्म मात्रै पाएको उनले बताए । पच्चीस रोपनीमा आलुखेती गरेका उनले अझै चाररपाँच पटक खन्न बाँकी नै रहेको जानकारी दिए ।
सोही वडास्थित लाम्डीका अर्का किसान यादव अधिकारीले यस वर्ष आलुको राम्रो मूल्य पाएको बताए । “खेती गरे अनुसार यस वर्ष किसानले राम्रो भाउ लिइरहेका छन्”, उनले भने, “मैले यसपाली अलि ढिला लगाएकाले बेच्न बाँकी नै छ, त्यस बेलासम्ममा राम्रो मूल्य पाउँछु होला ।” उनले यस वर्ष २० रोपनीमा आलुखेती गरेका छन् । गत वर्षको भन्दा यस वर्ष राम्रो मूल्य पाइरहेकाले आलुखेतीप्रति किसान उत्साहित भएका उनको भनाइ छ ।
काभ्रेको पाँचखालमा उत्पादन भएको आलुमा बढी मात्रामा विषादी प्रयोग गरेको भन्ने आरोप खेप्दै आएकामा कालिमाटीस्थित बाली संरक्षण निर्देशनालय, हरिहरभवन अन्तर्गत द्रुत विषादी विश्लेषण प्रयोगशालाबाट गरिएको परीक्षण अनुसार सो आलुमा कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट प्रतिशत ११ भन्दा कम भएको पाइएको उनले बताए ।
विज्ञका अनुसार कार्बमेट्स र अर्गानोफोस्फेट्स दुवैको गरी विषादीको रोकावट ३५ प्रतिशतभन्दा कम भएको आलु खानाका लागि योग्य भएको मानिन्छ । त्यसरी खेती गर्दै आएका किसानलाई सहयोगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुपरजोन ९आलु० ले विभिन्न प्रक्रियाबाट सहयोग गर्दै आइरहेको छ । किसानको सहजताका लागि गुणस्तरीय बीउ र खेतीमा सहजताका लागि औजारसमेत कम मूल्यमा पाउने गरी कस्टम हायरिङ सेन्टरसमेत स्थापना गरेर सहयोग गरेपछि किसानमा आलुखेती गर्न थप हौसला मिलेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन ९आलु० काभ्रेका सञ्चालक समिति अध्यक्ष हरि खतिवडाले बताए।
“त्यससँगै आलु सुपरजोन कार्यक्रम लागू भएपछि विषादी न्यूनीकरणका लागि किसानलाई विभिन्न प्रकारका सचेतनाका कार्यक्रम गर्दै आइरहेका छौँ”, उनले भने । त्यससँगै किसानलाई माटो सुधार, खेतीको तरिका र आलुको जात छनोट लगायत गोठ सुधारको कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ । -रासस
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।