कमल कुईकेल
आशाले भरिएको प्रकृतिको सुन्दर तर अव्यवस्थित
प्रकृतिले दिएको अतुलनिय उपहार तर अदृष्य दुरा अवस्था
देख्दा शान्त छ तर भित्रभित्रै दविएका शकुनीपाशाहरु
कोमल व्यवहार तर स्वार्थलुकेका चिम्टी पाइलाचापहरु
मन हुन र नहुनुको के अर्थ,
जुन मन गलतलाई सहि भन्छ, सहिलाई
रोसीको निश्चलता भेट्न दैडिएको दाप्चेका अङ्गअङ्गमा
मानवका अनेक विकृत रोकावट अनि
अवाच्छनिय क्रिया, प्रक्रियाले मृत्युशैश्यामा छटपटाउँदै
चिच्चाउछिन त एकपल्ट बर्खाका खहरेखोलाको साथले ।
नमोबुद्धमा !
माने ! खै कता गयो गयो
पेमो ! आँखामा पट्टि बाँधेर
हूँ हुँ ! राति स्वास्नीकुटेको आवजलाई सुनिरहन्छ ।
कुखुराको भाले बेचेर
अरबबाट पठाएको पैसाले किनेको बाइकमा
तेल हाल्दिन्छिन छोरालाई साहिली भाउजु
भन्दिनन् छोरा !
भैरव कुण्ड अगाडीको खेतमा आलु फलाउ
भन्छिन् बाबु
ईटा भट्टाको साहुले बर्षभरिको भाडा दिन्छ
तिमी भट्टी पसलको उधारे तिर्नु भनेर ।
साइलाबाको बाहुको
खरकाट्ने ति चुचुरे पारीका डाँडाहरु अचेल
धुरुधुरु रुन्छन तर
रुवाउनेहरु चिल्ला गाडीमा
डाँडाका पाटपुर्जा बेच्नेहरु हुइकिन्छन्
अलिकति मन भएकाहरु रुख रोप्छन्
अलिकति धन भएकाहरु बन फाड्छन्
एकहात जमिनहुनेहरु बाटोलाई दान गर्छन
रोपनी रोपनी बाँजो राख्नेहरु
माटोको कण कणको मुल्य निर्धारण गर्छन
र कुर्रलन्छन्
विकास र समृद्धिको लागि योगदान गरको छु भनेर ।
अलिकति मामता भएकाहरु
आफै थिचिन्छन्
इतर, अरुबाट निमोठिन्छन्
आशा न हो,
काशिखण्डका गराहरुमा
धन लहलह झुलेको
पिलटार लटरम्ब भएको
दाप्चामा धित मरुञ्जेल आरु,नसपाति र ओखर फलेको
भिडाबारीमा सुन फलेको
कानपुरमा बुद्धचित्र फलेको
हेर्न र देख्न आशा छ ।
जहाँ
बुद्ध ध्यान मग्न हुन्छन्
र बुद्धत्व पाउँछन्
टुङ्गना र डम्फु बजाउँदै तामाङ दाइ
बेसी झर्छन् र बेच्छन्
डोकाभरी तरुल र सखरखण्डा
सुस्ताउँदै उकालो लाग्दा
सोल्टीनीलाई भन्छन्
छोराले काउलीको बीउ राखेको छ
मिलेर रोपौँला ।
भिडाबारीमा गोलभेडा फलाउँदा
चनौटेमा धान ठटाउन जाने
ओ आत्मराम दाइ !
पुरानागाउँको मौसम खानु छ
कानपुरको खुवा, काठमाडौले मागेको छ
प्रत्येक घरका दूध डेरीले उठाउने गरेको छ ।
साँच्चै आत्माराम दाइ
अब त जनजन आत्मनिर्भर बन्दैछन् ।
घाँसकाट्न जाँदा इन्टरनेट चलाएर
विदेश जान आवेदन दिने छोरीलाई भनिदिनुहोस्
वैज्ञानिक प्रविधिले काम गर्ने वातावरण मिलाइदिन्छु भनेर
खाडिबाट भर्खरै फर्किएको छोरालाई भन्नुहोस्
श्रम र सिपको कदर हुने भाछ भनेर ।
गाउँमा मान्छे भरिए, बारीका पाटा रमाउँछन्
वरिपरिका डाँडा झुले देश बनाउँछन् ।
मिति – २०७५/०१/२८
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।