ओलीको निर्देशनमा ‘पूर्व एमाले’ एकीकरण अभियानमा वामदेव
१४ माघ २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारीक हिसाबले विभाजन भइसकेको छ । यो विभाजनलाई रोक्ने भन्दै नेकपाका उपाध्यक्ष वामदेव गौतम पार्टी एकताको लागि देशै भरि अभियान सञ्चालन गर्ने भन्दै न ओली (अल्पमत) तिर लागे न प्रचण्ड–नेपाल (बहुमत) तिर लागे ।
उनले आज (बुधबार) पार्टी एकता अभियान घोषणा गरेका छन् । एकता अभियान घोषणासँगै उपाध्यक्ष वामदेवले ‘नेकपा एकता राष्ट्रिय अभियानको अवधारणापत्र समेत सार्वजनिक गरेका छन् ।
अवधारणा पत्रमा पार्टी एकता अभियानको सामान्य योजना, एकता प्रक्रियाको यस अवधिमा पालना गर्नुपर्ने आचार संहिता, पार्टी एकता राष्ट्रिय अभियानको संगठनात्मक संरचना, संगठन सञ्चालन सम्बन्धी नियमहरु, अभियानमा अध्ययन गर्ने सैद्धान्तिक दस्तावेजहरु (गौतमद्वारा लेखित केही पुस्तकहरु अभियानमा अध्ययन गर्ने सैद्धान्तिक दस्तावेजहरुका रुपमा अघि सारेका छन्), अभियानका मुख्य कार्यभारहरु लगायतका शिर्षकलाई व्याख्या गर्ने काम गरेका छन् ।
केपी ओलीसँग ठ्याक्कै मिल्ने अवधारणा
यो अवधारणा पत्रमा पार्टी एकताका लागि धेरै सकारात्मक विषयहरु अघि सार्ने काम गौतमले गरेका छन् । तर यो अवधारणा पत्रमा विचार र सिद्धान्त होइन, भावनालाई केन्द्रमा राखेर अगाडि बढेको प्रष्ट देखिन्छ ।
उनको यो अवधारणा पत्र प्रधानमन्त्री केपी शर्मा ओलीको धारणासँग ठ्याक्कै मेल खान्छ । जव पार्टीभित्र अन्तरविरोध पेचिलो हुँदै आएको थियो त्यतिखेर ओलिले मुख्यतः जनताको बहुदलीय जनवादलाई मान्नेहरु एक ठाउँमा बस्नुपर्ने तर्क अघि सार्दै पूर्व एमाले एक ठाउँमा उभिनु पर्नेमा जोड दिंदै आएको थियो ।
पार्टी अनौपचारीक रुपमा विभाजनमा गएपछि केपी ओली समूहले ‘यो त नेकपा फुटेकै होइन, पूर्व एमाले फुटेको हो, त्यसैले हामी एकै ठाउँमा हुनुपर्छ’ भन्दै भ्रम फैलाइरहेका छन् । त्यस्तै जनताको बहुदलीय जनवादलाई आत्मसात गर्नेहरु अब एकै ठाउँमा बस्न आवश्यक छ भन्दै पूर्व एमालका नेता, कार्यकर्ताहरुको भावनामा खेल्न खोज्दै छ ।
ठीक त्यस्तै वामदेव गौतमको अवधारणा पत्रमा पनि पार्टी एकता अभियानको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद राखिएको छ । उनको अवधारणा पत्रको संगठन सञ्चालन सम्बन्धी नियमहरुमा उक्त कुराको उल्लेख छ । यो बुँदामा यस्तो छः
१. नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको केन्द्रीय समन्वय समिति यसको सर्वोच्च संस्था हुनेछ ।
२. यस अभियानको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद हुनेछ ।
३. यसको संगठनात्मकम सिद्धान्त जनवादी केन्द्रीयता हुनेछ,
(व्यक्ति कमिटी मातहत रहनेछ । तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहनेछ । मत विभाजन हुँदा बहुमतको निर्णय कमिटीको निर्णय हुनेछ ।)
४. अभियानका सबै तहमा आयोजना गरिने अध्ययन, प्रशिक्षण र तालिममा अभियन्ताहरुले भाग लिनुपर्नेछ ।
त्यसैगरि अभियानमा अध्ययन गर्ने सैद्धान्तिक दस्तावेजहरु समेत ठोस गरिएको देखिन्छ । त्यसमा पनि जनताको बहुदली जनवादलाई प्रमुख अध्ययन दस्तावेजको रुपमा उल्लेख गरेका छन् । उनले लेखेकाछन्ः
५. अभियानमा अध्ययन गर्ने सैद्धान्तिक दस्तावेजहरु निम्नानुसार हुनेछन्ः
क. जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन,
ख. एक्काइशौं शताब्दीको कम्युनिष्ट पार्टी,
ग. नेपाली जनताको समृद्धिको कार्यक्रम बहुदलीय समाजवाद,
घ. कस्तो हुनुपर्छ कम्युनिष्ट पार्टीको विधान,
ङ. राजनीतिक ज्ञान र शिक्षाका आधारहरु,
च. आवश्यक माक्र्सवादी साहित्य,
केपी ओलीपथ मै वामदेव
यी सबै कुराले के प्रष्ट हुन्छ भने गौतम पनि केपी ओलीपथमै गएको प्रष्ट हुन्छ । उनको ध्यय अझै पनि के देखिन्छ भने पूर्व एमाले समूहलाई ओली गुटमा लैजाने । पूर्व एमाले र पूर्व माओवादी केन्द्र विघटन भइसकेको र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भइसकेको अवस्थामा केपी ओली जस्तै गौतम पनि पछि फर्कन उद्धत देखिन्छ । त्यसैले प्रतिगामी, पश्चागामी कदमको रुपमा यो अभियानलाई लिन सकिन्छ ।
पार्टी एकता हुँदाको बखत पूर्ववत दुवै पार्टीले अंगीकर गरेको पार्टीका कार्यदिशा र मार्गदर्शक सिद्धान्तलाई संयुक्त रुपमा अघि सारेको छ । पार्टी एकता हुँदा माओवादी केन्द्रले अघि सारेको एक्काइसौं शताब्दीको जनवादको विकासबारे र एमालेको जनताको बहुदलीय जनवादलाई थाँती राखेर दुवै कार्यदिशाले विकास गरेको कुरालाई संश्लेषण गर्दै समाजवाद उन्मुख जनताको जनवाद पार्टीको न्यूनतम कार्यक्रम बनाएको थियो । यो कुरालाई वामदेवले आफ्ना अवधारणा पत्रमा सिधै अस्वीकार गरेको प्रष्ट छ । त्यसैले यो ओलीपथ बाहेक केही पनि होइन । उनी नेकपा एकताको पक्षमा देखिदैन, पूर्व एमालेको एकताको पक्षमा देखिन्छ ।
परिवार ओलीको पक्षमा, गौतम एमाले तान्ने बाटोमा
उपाध्यक्ष गौतमका परिवारका सबै सदस्य ओली समूहको विभिन्न कमिटिमा आवद्ध छन् । परिवारका सदस्यहरुलाई ओलीको कमिटिमा पठाएर आफू चाहिं एकता अभिायन चलाउनु कलाविहिन नाटक हो भन्ने कुरा पुष्टि हुन्छ ।
वामदेव माथि शंका लागेको छ । कतै केपी ओलीले त यो अभियानको चलाउन निर्देशन वा योजना दिएको होइन ? पूर्व एमाले मात्रै भएपनि केपी समूह तिर लानको लागि यो अवधारणा पत्र अघि सारेको त होइन ? व्यवहार र अभिव्यक्तिले यो कुराको पुष्टि गरि नै सकेको छ । एका तिर परिवारका सदस्यहरु ओली तिर लाग्नु र अर्को तिर अभियानको मार्गदर्शक सिद्धान्त जनताको बहुदलिय जनवाद राख्नुले यो कुराको व्यबहारिक पुष्टि भएको छ ।
नेकपा एकताको पक्षमा लागे नेता गौतम नै हो
अझै पनि समय छ, वामदेवलाई सच्चिने समय । वामदेव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनबाट पूनः एकताको पक्षमा छ भने पूर्व एमालेलाई फेरि ओली गुटमा लगेर विलय गराउने सोंचको अन्त्य गर्न जरुरी छ । नेकपाको लिगेसीको रक्षा र निरन्तर वकालत गर्न सके वामदेवको अभियान सफल हुन सक्छ, अन्यथा पूर्व एमाले वा पूर्व माओवादीका केही मान्छेहरुलाई यता उता बाहेक केही गर्न सक्ने छैन ।
एक्काइसौं शताब्दीको जनवादको विकासबारे र जनताको बहुदलीय जनवाद जो पूर्ववत समूहको कार्यदिशा थियो, यसले नेपाली कम्युनिष्ट आन्दोलनमा गरेको उपलब्धी, यसले नेपाली राजनीतिक अभियानमा गरेको उपलब्धीको रक्षा र विकास गर्न जरुरी छ, अब नयाँ ढंगले दुवै कार्यदिशाको संश्लेषण गर्दै अगाडी बढ्ने कुरा यो अभियानमा उल्लेख हुन आव्श्यक छ । एउटा मात्र कार्यदिशालाई सिंगो नेकपाको कार्यदिशाको रुपमा अपव्याखा गर्दै अगाडि बढ्नु केपी ओलीकै पक्षपोषण गर्नु बाहेक केही होइन ।
नेकपा एकता अभियान कि एमाले एकता अभियान हो आम जनता, कार्यकर्ताहरुले छुट्याउन सक्ने गरि प्रष्ट एकता अभियान सञ्चालन गरे सार्थकता पाउन पनि सक्छ । नत्र केपीपथमा नेपाली कम्युनिष्ट आन्दोलनलाई सञ्चालन गर्नु सही हुँदै होइन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।