तेमाल । ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै काभ्रेको तेमाल गाउँपालिका १ नं. वडा कार्यालयले निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । यही फागुन २२ गते शनिवार वडाभित्रका ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण कार्यक्रम हुने वडाध्यक्ष मानबहादुर श्रेष्ठले जानकारी दिए ।
‘वडा समितिले निर्णय गरेर शिविरको आवश्यक तयारी गरिरहेका छौँ ।’ वडाध्यक्ष श्रेष्ठले भने, ‘तेमाल गाउँपालिका स्वास्थ्य शाखा,स्थानीय स्वास्थ्य हिकाइसँगको समन्वयमा धुलिखेल अस्पताल र मेथिन्कोट अस्पतालका दक्ष तथा अनुभवी चिकित्सकहरुद्धारा यस वडाभित्रका ज्येष्ठ नागरिकहरूको सबै खालका रोगहरूको परीक्षण र परामर्श गरिनुका साथै औषधी पनि वितरण गर्नेछौँ ।’
सामुदायिक स्वास्थ्य हिकाइ सस्र्यूंखर्कमा हुने शिविरमा जान आउन निःशुल्क गाडीको व्यवस्था गरिएको छ । शिविरमा आउँदा वृद्ध भत्ता कार्ड वा नागरिकताको प्रमाणपत्र लिएर आउन पनि सूचित गरिएको छ ।
‘यो उमेरमा वृद्धवृद्धाहरुलाई विशेष माया, स्याहार आवश्यक हुन्छ ।’ वडाध्यक्ष श्रेष्ठको भनाई छ, ‘उहाँहरू हाम्रा मार्गदर्शक हुनुहुन्छ, उहाँहरूको सम्मान स्वरूप पनि यो कार्यक्रम आयोजना गर्न लागेका हौँ ।’ वडाध्यक्ष श्रेष्ठका अनुसार वडा नं. १ भित्र १६० जना ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक छन् ।

Comments

comments