सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेको छ। बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबण्डा मिलेको हो।
बिहीबारको बैठकमा जुटेको ‘सैद्धान्तिक सहमति’अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार शुक्रबार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइने छ।
बिहीबारको सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री पाउने भएको छ। यस्तै, माओवादी केन्द्रले ५ मन्त्री तथा १ राज्यमन्त्री, एकीकृत समाजवादीले ४ मन्त्री तथा जनता समाजवादी पार्टीले ४ मन्त्री पाउने भएका छन्।
यसअघि नेपाली कांग्रेसले ७ मन्त्रालय पाउने सहमति भएको भनिए पनि गठबन्धनका नेताहरु कांग्रेसलाई थप मन्त्रालय दिन सहमत भएका हुन्।
बिहीबारको बैठकमा कांग्रेस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छाड्न पनि राजी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब एकीकृत समाजवादीले पाउने छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।