शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफूहरु शिक्षालाई सिप र रोजगारसँग जोडेर लैजाने अभियानमा रहेका बताएका छन् । शानिबार काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं. ८ मा रहेको श्री भूमेस्थान माविको ६१ औँ वार्षिकोत्सव एवं नव निर्मित चारकोठे र आठ कोठे भवनको संयुक्त उद्घटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

शिक्षा मन्त्री पौडेलले अहिलेको सबैभन्दा बढी आवश्यकता शिक्षा र स्वास्थ्य रहेको बताए । उनले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानको लागि आफु लागिरहेको समेत बताए । ‘देशैभरिका शिक्षा क्षेत्रलाई सुधार गर्न जरुरी छ ।’ उनले भने, ‘विद्यालय सुधारका लागि शिक्षक महासंघ र अभिभावक महासंघसँगै शिक्षाविद्हरुसँग निरन्तर छलफल गरिरहेको छ ।’

उनले शिक्षक सेवा आयोगलाई सक्रिय बनाउदै लैजाने समेत बताए । उनले भने, ‘५७६ जना शिक्षकहरुलाई पुनस्र्थापना गरेको छ । शिक्षकहरुलाई कर्मचारीको सेवा सुबिधा समान गर्नेछौँ ।’

त्यस्तै शिक्षामन्त्री पौडेलले आफु संघीयताको लागि लडेको मान्छे भएको बताउँदै स्थानीय तहको अधिकार खुम्च्याउन भन्दा पनि थप बलियो बनाउन चाहेको बताए । ‘शिक्षक महासंघसँग गरेको सम्झौता स्थानीय तहको अधिकार खोस्न खोज्यो भनेर प्रचार गरे । त्यसो होइन ।’ उनले भने, ‘शिक्षकहरुसँग गरेको संझौता तोड्मोड नगर्न अनुरोध गर्छु । म संघीयताको लागि लडेको मान्छे हुँ । संघीयताको विरुद्धमा जाने, स्थानीय तहको अधिकार खोस्ने कुरै आउँदैन । बरु बलियो बनाएर अघि बढ्ने प्रयत्न हुनेछ ।’

उनले निजी विद्यालयलाई गाली गर्नु भन्दा पनि सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न आग्रह गरे । उनले शैक्षिक सुधार गर्न कहिँबाट कोहि आउँछकी भनेर मुख तोकेर नबसी आफैले गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा संघीय सांसद गंगाबहादुर दोङ ‘वमध्वज’, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम ‘प्रयास’ लगायतका उपस्थिति रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।