काभ्रे जिल्लाको बनेपा नगरपालिकामा यत्तिखेर करार कर्मचारीहरु हटाउने प्रकरणले उग्ररुप लिन थालेको छ । एमालेबाट निर्वाचित मेयरले नियुक्ति गरेको सल्लाहकार लगायतका विभिन्न क्षेत्रका कर्मचारीहरुको करार नविकरण नगर्ने वर्तमान मेयर शान्तिरत्न शाक्यको कदमलाई लिएर उपमेयर विमला सापकोटा दाहाल आफै ‘दादागिरी’ शैलीमा उत्रेकी छिन् ।

नगरपालिकाको प्रमुख र उपप्रमुखले आफ्नो लागि सल्लाहकार र सचिवालय राख्ने परिकल्पना स्थानीय सरकार सञ्चालन ऐनले नगरेपनि दफा ८६ को उपदफा ७ मा संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा कुनै कार्य सम्पादन गर्न विशेषज्ञ सेवा आवश्यक पर्ने भई सेवा करारबाट कार्य सम्पादन गर्दा उपयुक्त र प्रभावकारी हुने देखेमा सेवा करारबाट त्यस्तो कार्य गर्न सक्ने व्यवस्था छ । यस अघि यस कुरालाई टेकी प्रमुख र उपप्रमुखको कामकारवाहीको सहजताका लागि सहयोगी, प्रेस सल्लाहकार, कानुनी सल्लाहकार, सहकारी संयोजक, आदिमा करार कर्मचारी राखेको थियो ।

मेयरले आफ्नो कार्य सम्पादनलाई उपयुक्त र प्रभावकारी बनाउन एमालेबाट निर्वाचित मेयरले नियुक्ति गरेको करार कर्मचारीहरुलाई हटाउनु स्वभाविक हो । नैतिक हिसाबले समेत ती कर्मचारीहरु आफैले सोच्नुपर्ने विषय हो । तर काँग्रेसबाट निर्वाचित मेयरको सल्लाहकार एमालेकै कार्यकर्ता हुनुपर्छ भनेर उपमेयर सापकोटाको नेतृत्वमा अस्वभाविक क्रियाकलापहरु गर्न थालेको छ ।

सापकोटाको नेतृत्वमा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले सोमबार नगरप्रमुख शाक्यलाई कार्यकक्षमै पुगेर धम्कीपूर्ण ब्यवहार सहित नवीकरण नगरेको पत्र च्यातेका थिए ।

यस विषयमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो स्पष्टिकरणमा उपमेयर आफैले ‘प्रमुख र उपप्रमुखको कामकारवाहीको सहजताका लागि सहयोगी, प्रेस सल्लाहकार, कानुनी सल्लाहकार, सहकारी संयोजक, आदिमा करार कर्मचारी राख्ने नजिर हामीकहाँ छ ।’ लेखेका छन् । उसो भए मेयरले कार्यसम्पादनलाई प्रभावकारी बनाउन आफुलाई सहजता लाग्ने ब्यक्ति राख्ने प्रक्रिया अघि बढाउँदा उपमेयर सापकोटाले आपत्ति जनाउनुपर्ने कारण के होला ? प्रश्नहरु उठिरहेको छ ।

न्यायिक समितिको संयोजक समेत रहेकी सापकोटाले ‘पत्र च्यातेर कानुन हातमा लिने की, पत्र च्यात्नु अघि कानुन सम्झाउने ?’ भिडियोमा देखिए अनुसार उपप्रमुख सापकोटाले यति अशोभनिय ढंगले पत्र च्यातेर नगरप्रमुखको कुर्सी अगाडी फालेकी छिन्, कुनै मर्यादाको ख्याल गरिएको छैन् । नगरप्रमुख शाक्य निकै निरिह भएजस्तो भिडियोमा देखिन्छ ।

नगरप्रमुख शाक्यले यसअघि एमालेले नियुक्ति गरेका प्रेस सल्लाहकार लक्ष्मण तिमल्सिना, कानुनी सल्लाहकार राम शरण घिमिरे, दुई जना स्वकीय सचिब जीवन देवि रायमाझी र उमा प्रजापति, पर्व पुजा समितिका संयोजक मोहन तौजले र सहकारी समिति संयोजक सागर कपालीको करार नवीकरण नभएको पत्रमा हस्ताक्षर गरेका थिए ।

यस्तो छ उप–मेयर सापकोटाको स्पष्टीकरणः

आजको नगरपालिकामा घटेको घटनामा केही भ्रमहरू छरिएको पाईएकोमा यथार्थ नबुझी भ्रम सिर्जना नगर्न अनुरोध गर्दछु ;

नेपालका सम्पूर्ण स्थानीय निकायहरू नेपालको संविधान धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका संसद्ले बनाएको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बाट चल्छ र चल्नु पर्छ। नेपालको संविधान र कानुनको रक्छ्या गर्ने दायित्व सम्पूर्ण जनप्रतिनिधि हरूको हुन्छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दफा १६ को उपदफा ४ खण्ड क मा अध्यक्ष वा प्रमुखको कामकर्तव्य र अधिकारको विषय स्पष्ट रुपमा लेखेको छ। कर्मचारी नियुक्ति र अवकाश को अधिकार अध्यक्ष वा प्रमुखको अधिकार क्षेत्र भित्र पर्दैन बरु दफा १६ को उपदफा ४ खण्ड क को बुँदा नम्बर ५ मा सभा वा कार्यपालिकाले गरेको निर्णय अध्यक्ष वा प्रमुखले गर्ने गराउने कुरा स्पष्ट लेखिएको छ र कर्मचारीको म्याद थप गर्ने वा नगर्ने अधिकार बनेपा नगरपालिकाको नगर सभाले कार्यपालिकालाई दिएको छ । नगरपालिकाको प्रमुख र उपप्रमुखले आफ्नो लागि सल्लाहकार र सचिवालय राख्ने परिकल्पना स्थानीय सरकार सञ्चालन ऐनले गरेको छैन। तथापि, दफा ८६ को उपदफा ७ मा लेखेको संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा कुनै कार्य सम्पादन गर्न विशेषज्ञ सेवा आवश्यक पर्ने भई सेवा करारबाट कार्य सम्पादन गर्दा उपयुक्त र प्रभावकारी हुने देखेमा सेवा करारबाट त्यस्तो कार्य गर्न सक्ने कुरालाई टेकी प्रमुख र उपप्रमुखको कामकारवाहीको सहजताका लागि सहयोगी, प्रेस सल्लाहकार , कानुनी सल्लाहकार, सहकारी संयोजक, आदिमा करार कर्मचारी राख्ने नजिर हामीकहाँ छ। र ति विशेषज्ञ हरू तसर्थ करार कर्मचारी हुन् र बनेपा नगरपालिकाको नगर सभाले गरेको निर्णय अनुसार म्याद थप गर्ने वा नगर्ने भन्ने अधिकार स्वत नगर कार्यपालिकाको हुन्छ।
यही कुरा नगर प्रमुख सँग गर्दै अवकाश दिने निर्णय क्षेत्राधिकार भित्र नपर्ने भन्दै उक्त निर्णय तत्काल सच्याउन माग गर्दा वहाँले नमानेपछि उक्त औचित्यहीन, संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीतको अवकाश पत्र हामी जनप्रतिनिधिको टिमले च्यातेको छ। संविधान र कानुनको रक्षा गर्न हामी सधैँ प्रतिवद्ध छौं ।

विमला सापकोटा,

उप- प्रमुख,

बनेपा नगरपालिका

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।