काभ्रे जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रमुख तीन राजनीतिक दलको प्रभाव छ । सो क्षेत्रमा उम्मेदवारीका लागि सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच हानथाप भइरहेको छ भने गठबन्धन घटकबीचको हानथापबाट फाइदा उठाउने एमालेको दाउ छ ।

२०४८ पछिको निर्वाचनलाई आधार मान्ने हो भने क्षेत्रबाट एमालेले २ पटक, माओवादी केन्द्रले २ र कांग्रेसले एक पटक चुनाव जितेको छ । सो क्षेत्रबाट एमालेले २०५१ र २०५६ मा जित्दा माओवादी केन्द्रले २०६४ र २०७४ मा चुनाव जितेको थियो । कांग्रेसले २०७० मा चुनाव जित्दा २०४८ मा राष्ट्रिय जनमोर्चा सफल भएको थियो ।

२०७४ मा वाम गठबन्धन गरेर नतिजा आफ्नो पोल्टामा पारेको माओवादी केन्द्र आगामी निर्वाचनमा सत्ता गठबन्धनको साथ लिएर आफ्नो पक्षमा नतिजा हात पार्ने दाउमा छ भने नेपाली कांग्रेस पनि सत्ता गठबन्धनबाट सो क्षेत्रमा आफ्नो उम्मेदवार भिडाउने कसरतमा छ ।

कांग्रेसले सो क्षेत्रबाट २०७० मा जितेका उम्मेदवार तीर्थबहादुर लामालाई प्रत्यक्षतर्फ चुनाव लडाउने तयारी गरिरहेको छ । सोही अनुसार नेपाली कांग्रेस काभ्रेले सो क्षेत्रबाट चुनाव लड्न तीर्थबहादुर लामालाई उम्मेदवारका रुपमा एकल सिफारिस गरेको छ ।

२०७० मा सोही क्षेत्रबाट पहिलो पटक संसदीय चुनावमा होमिएका उनले कांग्रेसको पोल्टामा नतिजा पार्न सफल भएका थिए । २०४८ देखिका निर्वाचनमा पटक पटक पराजित भएको कांग्रेसलाई उनैले सो क्षेत्रबाट पहिलो पटक जित दिलाएका थिए । तामाङ समुदायको बाहुल्यता भएको सो क्षेत्रमा उनी बलियो उम्मेदवारको रुपमा रहेको नेताहरुको दावी छ ।

उता माओवादी केन्द्रबाट गत निर्वाचनमा जितेका गंगाबहादुर दोङले पनि सत्ता गठबन्धनको सहयोगमा सो क्षेत्रबाट पुनः सांसद बन्ने अवसर खोजिरहेका छन् । तर, उनले यसपटक सो क्षेत्रमा चुनाव लड्ने अवसर नपाउने माओवादी केन्द्रका नेताहरु बताउँछन् । माओवादी केन्द्र यस पटक सो क्षेत्रमा उम्मेदवार परिवर्तन गर्ने पक्षमा रहेकाले उनले अवसर पाउने सम्भावना नरहेको नेताहरुको भनाइ छ ।

२०७४ को निर्वाचनमा तेमाल गाउँपालिकाको प्रमुख पदमा हारेका दोङले सोही वर्ष भएको संघीय निर्वाचनबाट सांसद बन्ने अवसर पाएका थिए । काभ्रे–१ मा माओवादी केन्द्रले नयाँ र बलियो उम्मेदवारलाई अघि सार्ने तयारी गरिरहेको छ ।

यी हुन् एमालेका सम्भावित उम्मेदवार

सो क्षेत्रबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्न एमालेले २ महिलासहित ६ जनाको नाम सिफारिस गरेको छ । एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का लागि नवीना लामा, अम्बुभवानी कार्की, बागमती प्रदेशसभा सदस्य चन्द्र लामा, नेताहरु नारायण पाण्डे, कुलचन्द्र अधिकारी र पूर्व मन्त्री रेशम लामाको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्रबाट भने हालसम्म सो क्षेत्रमा उम्मेदवार सिफारिस भएको छैन । यता कांग्रेसबाट सभापति लामा एकल उम्मेदवारको रुपमा सिफारिसमा परिसकेका छन् ।

यस्तो छ स्थानीय तहको हिसाव किताब

काभ्रे–१ अन्तर्गत ६ वटा पालिकाको पूर्ण भूभाग र २ वटा पालिकाको केही वडा पर्दछन् । काभ्रे–१ मा खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, चौरीदेउराली गाउँपालिका, नमोबुद्ध नगरपालिका, धुलिखेल नगरपालिकाको ८, ९, १०, ११ र १२ नम्बर वडा र पनौती नगरपालिकाको ४, ५, ६, ७, ८, ९ र १० नम्बर वडा पर्दछन् ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ४÷४ वटा पालिकाको प्रमुख र उपप्रमुख पदमा कांग्रेसले जितेको थियो भने माओवादी केन्द्रले ३÷३ वटामा पालिका प्रमुख र उपप्रमुख पदमा जितेको थियो । एउटा पालिका प्रमुख र उपप्रमुखमा एमालेले जितेको थियो । सो क्षेत्रको पालिकाहरुमा एकीकृत समाजवादी निल भयो ।

गत निर्वाचनमा माओवादी केन्द्रले खानीखोला, चौरीदेउराली र महाभारत गाउँपालिकाको प्रमुख पदमा जित्दा तेमाल, रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको उपप्रमुखमा जितेको थियो ।

कांग्रेसले तेमाल गाउँपालिका, रोशी गाउँपालिका, पनौती नगरपालिका र नमोबुद्ध नगरपालिकाको प्रमुख पदमा जित्दा महाभारत गाउँपालिका, धुलिखेल नगरपालिका, चौरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकाको उपप्रमुख पदमा पनि जितेको थियो ।

एउटा÷एउटा पालिकाको प्रमुख र उपप्रमुख पदमा भाग पाएको एकीकृत समाजवादी भने पराजित भयो । सो क्षेत्रमा एमालेका उम्मेदवारले चुनाव जिते । काभ्रेको धुलिखेल नगरपालिकाको प्रमुख र पनौती नगरपालिकाको उपप्रमुखमा एकीकृत समाजवादीलाई हराउँदै एमालेले चुनाव जितेको थियो ।

यस्तो छ विगतको निर्वाचन नतिजा

२०४८ को आम निर्वाचनमा काभ्रे–१ मा राष्ट्रिय जनमोर्चाका कमानसिंह लामाले चुनाव जितेका थिए । लामाले १५ हजार ४७२ मत पाउँदा कांग्रेसका धनजित लामा ६ हजार ५३५ मत पाएर पराजित भएका थिए ।

२०५१ को निर्वाचनमा काभ्रे–१ मा एमालेका शिवबहादुर देउजाले १३ हजार १४६ मतसहित चुनाव जितेका थिए भने कांग्रेसका हर्षजित लामा तेस्रो भए । एमालेका देउजाले १३ हजार १४६ मत पाउँदा कांग्रेसका लामाले ८ हजार ६५८ मत पाए भने राप्रपाका सत्यमान लामाले ९ हजार ४१९ मत पाएर दोस्रो भएका थिए ।

२०५६ सालमा भएको निर्वाचनमा पनि काभ्रे–१ बाट एमालेका शिवबहादुर देउजाले १७ हजार १५ मतसहित जित हासिल गर्दा कांग्रेसका हर्षजित लामाले १४ हजार १९७ मत पाए भने राप्रपाका सत्यमान लामाले ९ हजार १८४ मत र राष्ट्रिय जनमोर्चाका कमान सिंह लामाले ३ हजार ६११ मत पाएका थिए ।

२०६४ को संविधानसभा सदस्य निर्वाचनमा काभ्रे–१ मा माओवादी केन्द्रका सूर्यमान दोङ २७ हजार ४७१ मतसहित विजयी भए । सो निर्वाचनमा एमालेका संग्रामजित लामाले ८ हजार ४०७ मत र कांग्रेसका मधुप्रसाद आचार्यले ७ हजार २१२ मत पाएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा भने काभ्रे–१ मा पहिलो पटक कांग्रेसको उदय भयो । उक्त निर्वाचनमा कांग्रेसका तिर्थबहादुर लामा १२ हजार २७० मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका सूर्यमान दोङले ९ हजार ७६३ मत पाए भने एमालेका संग्रामजित लामाले ९ हजार १२५ मत पाएका थिए ।

२०७४ को संसदीय निर्वाचनमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगाबहादुर तामाङ ४३ हजार ६३१ मत सहित निर्वाचित हुँदा नेपाली कांग्रेसका तिर्थबहादुर लामा ३९ हजार ६०५ मतमा सीमित भए । यता प्रदेशसभा तर्फ काभ्रे–१ (क)मा माओवादी केन्द्रका रत्नप्रसाद ढकाल २५ हजार २०६ मतसहित निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार चन्द्रबहादुर तामाङले १७ हजार ८५५ मत पाए ।

उता प्रदेशसभा तर्फको काभ्रे–१ (ख)मा एमालेका चन्द्रबहादुर लामा २४ हजार ४४७ मत ल्याएर विजयी हुँदा कांग्रेसका गणेश लामा २० हजार २७० मतमा सीमित भए । -राताेपाटीबाट

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।