काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको कानूनी सल्लाहकारमा अधिवक्ता देवकुमार मोक्तान नियुक्ति भएका छन् । गत भदौ ५ गतेको कार्यपालिका बैठकले अधिवक्ता मोक्तानलाई कानूनी सल्लाहकारमा नियुक्ति गरेको हो ।

नियुक्तिसँगै अधिवक्ता मोक्तानले पदभार समेत ग्रहण गरेका छन् । मंगलबार (आज) गरेको पदभार ग्रहण कार्यक्रममा गाउँपािलका अध्यक्ष चन्द्र लामा, उपाध्यक्ष दलमान थोकर (डिएम), वडा अध्यक्ष हजारसिं तामाङ, प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकाल, विभिन्न विषयगत शाखाका प्रमुख एवं अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।

पदभार ग्रहण कार्यक्रममा अध्यक्ष लामाले विधिको शासन कायम गर्न अब सहज हुने बताउँदै गाउँपालिकाको कानून निर्माण प्रक्रियाले समेत पूर्णता पाउने विश्वास व्यक्त गरे । ‘यहीं जन्मे हुर्केको, दुःख गरेर यहाँसम्म आइपुग्नु भएको छ, श्रम गर्ने र काममा विश्वास गर्ने मान्छे आज हामीले कानूनी सल्लाहकार पाएका छौं ।’ लामाले भने, ‘तेमाल गाउँपालिकाको कानून निर्माणको प्रक्रिया पूरा भएको छैन, अब उहाँको उपस्थितिले हाम्रो यो प्रक्रिया समेत पूरा हुनेछ । विधिको शासन कायम गर्न उहाँको महत्वपूर्ण योगदान रहनेमा म विश्वस्त छु । उहाँलाई पालिकामा स्वागत, बधाई तथा शुभकामना छ ।’

पदभार ग्रहण गर्दै अधिवक्ता मोक्तानले गाउँपालिकाको समृद्धि तथा सुशासन र विकासबाट समृद्धि हासिल गर्दै पालिकालाई नमुना पालिका बनाउने गाउँपालिकाको देहलाई कानूनी शासनको माध्यमबाट साकार पार्न आवश्यकता भएकोले सोही अनुसार आफ्नो परामर्श सेवालाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।

‘नयाँ संविधान अनुसारको नयाँ संरचना अन्तर्गत स्थानीय तहमा गाउँपालिका जस्तो ठूलो र बृहत स्थानीय सरकारको अभ्यासमा हामी रहेका छौं ।’ अभिवक्ता मोक्तानले भने, ‘गाउँपालिकाको समृद्धि तथा सुशासन र विकासबाट समृद्धि हासिल गर्दै पालिकालाई नमुना पालिका बनाउने गाउँपालिकाको देहलाई कानूनी शासनको माध्यमबाट साकार पार्न आवश्यकता भएकोले सोही अनुसार आफ्नो परामर्श सेवालाई अगाडि बढाउने छु ।’

उनले आफूलाई कानूनी सल्लाहकार नियुक्ति गरेकोमा गाउँपालिका प्रति आभार समेत व्यक्त गरे । ‘कानूनी सल्लाहकार जस्तो गरिमामय मञ्च प्रदान गर्नुभएकोमा पालिकाका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यहरु सम्पूर्णमा हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दछु ।’ उनले भने, ‘तेमालको विकास निर्माण र नीति निर्माणको लागि समेत मैले योगदान दिन पाउँदा खुशी लागेको छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।