तामाङ कलाकारहरुको छाता संस्था नेपाल तामाङ कलाकार संघको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०६३ सालमा स्थापना भएको संघले शनिबार आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभाको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले समाज रूपान्तरणका लागि कलाकारको भूमिका मुख्य रहेको बताए । त्यसैगरि नेपाल तामाङ घेदुङका उपाध्यक्ष एवं सञ्चारकमी सञ्चु ब्लोनले तामाङ समाजको साझा मुद्दा, मौलिक पोषाकमा आएको विविधताको विषयमा ध्यानाकर्षण गराउँदै राजनीतिक आन्दोलनमा कलाकारहरूको भूमिका आवश्यक रहेको समेत बताए ।
संघका संस्थापक चन्द्र कुमार दोङले कलाकार संघ ७ जनाको टिमबाट सुरू भएको बताउँदै अहिले कलाकार संघ निक्कै अगाडि बढेकोमा खुसी व्यक्त गर्दै शुभकामना मन्तव्य राखेका थिए । उनले कलाकार संघ जन्मिएकै कारण २५० जना तामाङ कलाकार एक ठाउँमा उभिने प्लेट फर्म भएको बताए ।
राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविन तामाङले कलाकार समाज रूपान्तरण संवाहक भएको बताउँदै तामाङ कलाकारको संस्थागत विकासका लागि सहयोग गर्ने वचन समेत दिएका थिए ।
कार्यक्रममा महासचिव रोशन फ्युबाले संघको प्रतिवेदन र कोषाध्यक्ष खेम मोक्तानले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघको बैंक खातामा १७ लाख १९ हजार ९१३ रूपैयाँ रहेको प्रतिवेदमा उल्लेख छ । कार्यक्रममा विभिन्न विद्यामा योग्दान दिएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो । संघका अध्यक्ष विश्व दोङको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।