नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज टोकबहादुर वाइबाले काभ्रेमा नेपाली काँग्रेस र माओवादी केन्द्रको दम्भ देखेर आफूलाई उदेक लागेको बताएका छन् । एकीकृत समाजवादी निकट नेपाल दलित मुक्ति संगठन, काभ्रेको विस्तारित बैठकलाई सम्बोधन गर्दै इन्चार्ज वाइबाले उक्त कुरा बताएका हुन् ।
मण्डनदेउपुर नगरपालिकाको प्रमुख समेत रहेको वाइबालेस्थानीय तहभा भएको जस्तो गठबन्धन संघ र प्रदेश निर्वाचनमा पनि हुने हो भने यसको कुनै अर्थ नरहेको स्पष्ट बताए । ‘गठबन्धनभित्र रहेको दुई ठूला दल नेपाली कांग्रेस र माओवादीको दम्भ उदेक लाग्छ । स्थानीय तहमा पनि गठबन्धनको मर्म अनुसार हुन सकेन् ।’ उनले भने, ‘संघ र प्रदेश निर्वाचनमा पनि गठबन्धनको मर्म अनुसार हुँदैन भने गठबन्धन गर्नुको कुनै औचित्य छैन् ।’
वाइबाले आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनमा दुई वटा प्रदेश निर्वाचन आफ्नो पार्टीले नछोड्ने बताउँदै एमालेबाट विद्रोह गरेर नेकपा एसमा सनाखत गरेका दुई वटा सांसदको क्षेत्र कुनै पनि हालतमा छोड्न नसकिने बताए ।
‘नेकपा एसले काभ्रेमा दुई वटा प्रदेश निर्वाचन क्षेत्र कुनै पनि हालतमा छोड्दैन् । एमालेबाट विद्रोह गरेर नेकपा एसमा सनाखत गरेका सांसदहरुको क्षेत्र छोड्नु भनेको उहाँहरु प्रतिको अपमान हो ।’ उनले भने, ‘उहाँहरुको आत्मसम्मानका लागि पनि यी दुई क्षेत्र नेकपा एसले पाउनुपर्छ । हामी एक्लै भएपनि निर्वाचनबाट भाग्दैनौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















