हिन्दु नेपालीहरुको महान पर्व विजय दशमी नजिकैदै गर्दा काभ्रे जिल्ला महाभारत गाउँपालिकाका प्रत्येक वडामा ग्रामिण सडक मर्मत धमाधम भइरहेको छ । दशैंको लागि घर जानलाई स्थानीय जनतालाई सहज होस भनेर गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले निर्देशन दिएसँगै धमाधम मर्मत कार्य भएको हो ।

मर्मतसँगै विभिन्न वडाहरमा बस समेत सञ्चालन हुन थालेको छ । बर्षातको बेला अवरुद्ध भएको सडकहरु अब सञ्चालनमा आउन थालेको हो ।

गाउँपालिका अध्यक्ष जिम्बका अनुसार यस वर्षको वर्षाले धेरै ठाउँमा सडक क्षति गरेको विवरण आएकाले सडकको अवस्था हेरर मर्मतको लागि आवश्यक बजेट विनियोज गरि काम भइरहेको छ ।

‘हामीले सबै वडालाई सडक मर्मत गर्न निर्देशन दिइसकेको छौ, दशैमा आउने सबै गाउँपालिका बासीहरुलाई सहजरुपमा घरसम्म पुग्ने बातावरणको निर्माण हुन्छ ।” जिम्बाले भने, ‘पक्की सडक नभए पनि कच्ची सडक सञ्जालले महाभारत गाउँपालिकाका सबै वडालाई जोडेको छ । तर वर्षाको समयमा सडक विग्रने भएकाले मर्मतको योजना बनाएका हों ।’

यस वर्षको वर्षा अझै कम नहुँदा खोलामा पानी नघटेकाले सबै ठाउँमा सडक सुधार गर्न समस्या भएको जिम्बाले जानकारी दिए । हरेक बर्ष महाभारत गाउँपालिकाले दशै अगाडी सडक र्ममत गरि दशैका लागि गाउँपालिका आउने जनतालाई घर सम्म सहज बनाउन सडक मर्मत गर्दै आएको थियो ।

असोज ३ गते बसेको गाउँपालिकाको बैठकले सडक मर्मतको लागि चौकिडाँडा बुढाखानी महादेवटार बेसारे देवीटार घर्तिछाप सोला धाप हुदै छोटेसहान सडकमा १० लाख, घर्तिछाप मैनडाँडा गल्टार आँपटार धाप सडकमा ४ लाख ५० हजार, देवीटार गल्टार राङचा आहालेबासपुर उध्याउने बनखु वाङगेसाल गोलटार सडकमा ५ लाख ५० हजार, ताराखसे स्याप्लेडाँडा सोक्तेल अमबलबास हुदै टोकेदमार सडकमा ७ लाख, मसानेभन्ज्याङ पात्ले जोरछाँगा राटमाटे हुदै स्याप्लेडाँडा सडकमा ४ लाख ५० हजार, सोला चारकिल्ला चौडिक खोलाघारी हुदै तीनखुट्टे रागेभन्ज्याङ लामीडाँडामा ४ लाख, भुमीचुली मजुवा गुँरासे हुदै भलडाँडा मजुवा बह्रबिसे वडा कार्यालय सडकमा ३ लाख ५० हजार र टुनिबाँस घुँडे बेतेनी गोगने विसाउनेडाँडा सडकमा ३ लाख बजेट विनियोजन गरि धमाधम काम भइरहेकोछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।