टङ–टङ–टङ घण्टी बज्यो । हाप छुट्टीको घण्टी थियो यो । म कक्षा ९ को विद्यार्थी । करिब १ घण्टा हामी भलिवल खेल्यौं । २०५५ साल जेठ महिना । गते विर्सें ।
कक्षा ९ र १० का साथीहरु सधैं मिलेर खेल्थ्यौं । साथमा प्रहरीहरु पनि हामीसँग भलिवल खेल्न आउँथे ।
मंगलटारबजारमा रहेको श्री मंगल जनविजय माविसँगै प्रहरी चौकी । म त्यहीं विद्यालयको विद्यार्थी । त्यति मात्र होइन भूमिगत पार्टी, जनयुद्धरत पार्टी नेकपा (माओवादी)को भातृसंगठन अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी), काभ्रे जिल्ला संगठन समितिको सचिव समेत थिएँ म ।
कक्षा कोठामा जान फेरि जनाउ घण्टी बज्यो । हामी कक्षा कोठामा पुग्यौं ।
‘डिले खोइ, डिले ?’ निराश अनुहार लिएर मलाई खोज्दै कक्षाकोठामा मेरो कक्षाको साथी लामा (रामकुमार मोक्तान) आइपुगे । श्याम गोपाल सर, कक्षामा पढाउँदै हुनुहुन्थ्यो । ‘के भो किन ?’ सरले लामालाई सोध्नुभयो । ‘डिलेलाई प्रहरीले गिरफ्तार गर्दै छ ।’ उनले भने । कक्षा कोठा नै स्तब्ध भयो । कक्षा कोठा सुनसान भयो । कोही बोलेनन् । ‘अफिसमा गएर सल्लाह गरौं ।’ श्याम गोपाल सरले भन्नुभयो ।
मेरो एकदमै मिल्ने साथी लामा र नविन श्रेष्ठ थिए । दुवैजना मलाई लिएर अफिस पुगे । मणिकुमार खैरगुली हाम्रो हेड सर । ‘के भयो, किन कक्षामा नबसी यहाँ आएको ?’ हेडसरले सोध्नुभयो । ‘प्रहरीले डिलेलाई गिरफ्तार गर्ने रे अब के गर्ने होला सर ?’ लामाले सोधे । हेडसर पनि निराश हुनुभयो । ‘लामा तेरो लुगा डिलेलाई दे, डिले चाहिं पछाडिको झ्यालबाट हामफालेर भाग ।’ हेडसरले अरु केही नबोली भन्नुभयो । म त्यो आँट गर्ने अवस्थामा पनि थिएन । एकातिर छ्यापछ्याप्ति प्रहरी प्ररिचालन थियो अर्को तिर म सानै ।
सरहरु सबै अफिसमा आउने क्रम जारी थियो । ‘डिले किन भाग्ने ? प्रहरीले पक्राउ गर्नुपर्ने अपराध डिलेले के गरेको छ र ? भाग्नुपर्दैन ।’ मेरो अंगे्रजी शिक्षक रमेश सरले भन्नुभयो । अब मैले सहज रुपमा गिरफ्तारी दिने योजना बन्यो ।
‘डिलेलाई प्रहरीले जहाँ लान्छ त्यहीं जाने, सबै विद्यार्थी उसको पछि लाग्ने ।’ लामाले योजना बनाई हाले । गिरफ्तारी त दिने तर रिहाई गरिहाल्ने वातावरण बनाएर दिने योजना बनायौं । यो कुरामा सबै सहमति भयो । मेरो साथी लामा र नविन कक्षा १ देखि १० सम्मको कक्षा कोठामा पुगे । ‘छुट्टी पछि डिलेलाई प्रहरी पक्राउ गर्दै छ, अन्तिम घण्टी बज्न साथ सबै एकै साथ बाहिरीने ।’ सबै विद्याथर्थी साथीहरुलाई ती दुईजना साथीले भन्दै थिए, ‘डिलेलाई पक्राउ गर्न साथ उसको पछि लाग्ने, जहाँसम्म लान्छ त्यहींसम्म जाने ।’
‘तिम्रो किताब, कापी, झोला, पर्स के के छ चेक गरौं ।’ लामाले मलाई भने । मेरो कापीको पन्नाहरुमा ‘महान जनयुद्ध–जिन्दावाद, महान शहिदहरु तिफदि–अमर रहुन्, नेकपा (माओवादी)– जिन्दावाद’ जस्ता नाराहरु लेखिएको थियो । पर्समा डा. बाबुराम भट्टराईको पत्रिकामा प्रकाशित फोटो काटेर राखेको थिएँ । ती सबै प्रमाणहरु लामालाई दिएँ मैले । अनि म तयारीमा बसें ।
स्कुल नै सुनसान थियो । सबैलाई चिन्ता थियो । अब के हुन्छ ? सबै कक्षामा सरहरु पढाउन सकिरहेका थिएनन् । विद्यार्थी साथीहरुको हल्ला नै बन्द भयो ।
अन्तिम घण्टी बज्यो । मेरो कक्षाका साथीहरुको बीचमा बसें म । कक्षा कोठाबाट सामान्य तरिकाले नै बाहिरिएँ । विद्यालयको प्राँगनमा ४ जना प्रहरीहरु उभिरहेका थिए । जव म बरण्डाबाट ओर्ले तब ती प्रहरीहरु मेरो दायाँबाँयाँ आएर भने, ‘इन्स्पेक्टर सावले तिमीलाई बोलाउनुभएको छ । जाम ।’ प्रहरीले मलाई पक्राउ गरि अगाडि बढाउन साथ विद्यार्थी साथीहरु मेरो पछि लागे ।
कक्षा १ देखि १० सम्मका करिब ७÷८ सय जना विद्यार्थीहरु मेरो पछि लागे । विद्यालयदेखि करिब ५० मिटरको दुरीको विद्यालय । बजारको बाटो भरिभराउ भयो विद्यार्थीले । म गर्वका साथ अघि बढें । मलाई सबैको साथ थियो । मेरो मनमा केही चिन्ता थिएन ।
सिरिफ आमा र बुबाको याद आयो । मेरो यो समेत तेस्रो पटक गिरफ्तारी थियो । विशेष गरि आमाले थाहा पाउनुभयो भने धेरै चिन्ता गर्नुहुन्छ, रुनुहुन्छ त्यसैले थाहा नपाओस भन्ने मनमा लागिरहेको थियो ।
मलाई चौकी भित्र लग्यो । मेरो साथीहरु चौकी अगाडि धर्ना बसे । ‘तिमीहरु किन यहाँ बसेको घर जाउ ।’ साइसाव ठूलो स्वरमा तर्साउने हिसाबले विद्यार्थीहरुलाई भन्दै थिए । ‘हाम्रो साथीलाई किन पक्राउ गरेको, रिहाई नगरुञ्जेल हामी जाँदैनौं ।’ मेरो विद्यार्थी साथीहरुले जवाफ दिए । मैले भित्रबाट सुनिरहेको थिएँ ।
‘उ त आतंककारी हुन्, माओवादी हुन् ।’ साईसाव फेरि भन्दै थिए, ‘तिमीहरुलाई पनि जेल जाने र मर्ने रहर छ ?’ ‘जे गर्न मन लाग्छ गर, हाम्रो साथी नलिईकन त हामी जाँदै जान्नौं ।’ बाहिरी नेतृत्व मेरो साथीहरु लामा र नविनले गरिरहेका थिए ।
इन्स्पेक्टर २ जना रहेछ तर चौकीमा थिएनन् । एउटा तामाङ साई थिए । ‘तामाङला कोल्ला बुद्धि आरे, ओराङनोन सिइम्हान्सी तिल्दा ब्राबा ?’ तामाङ भाषामा मेरो पहिलो सोधपुछ यसरी नै शुरु भयो । ‘कति भयो माओवादी बनेको ।’ उनले सोधे । ‘म माओवादी होइन सर, म यहीं स्कुलमा पढ्ने विद्यार्थी हुँ ।’ मैले जवाफ दिएँ । तेतिञ्जेलसम्म मेरो गुरुहरु (शिक्षक) आइसक्नु भएको थियो ।
करिब ७ बजेतिर २ जना इन्स्पेक्टर आए । ‘ओइ यहीं नै हो माओवादी ? त्यो विद्यार्थीहरुलाई कसले बोलाएको ?’ एक इन्स्पेक्टर खाउँला झैं गरि कुर्ले । ‘लौरो खोइ, लेरो ।’ उनी कुर्लिए । लौरो भाँचेर नसकिन्जेलसम्म मेरो शरिरमा उनले बर्साइरहे । म चिच्याएँ । रोएँ । मेरो एउटै जवाफ थियो, ‘म माओवादी होइन ।’
उनीहरुले मेरो किताव कापी चेक गरे । किताबको पन्नामा ‘लाल सलाम’ लेखिएको भेट्टाए । ‘यो त माओवादी नै हो, नत्र किन किताबमा लाल सलाम लेखेको त ?’ उनले मेरो गालामा एक थप्पड हान्दै भने । मैले कक्षा ९ को किताब मामाको छोरा रक्तिम लामाको ल्याएको थिएँ । उनी २०५२ सालमै पक्राउ गरि जेलमा थुनामा थिए । गिरफ्तारीमा पर्ने बेला अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य थिए । ‘यो किताब मैले मामाको छोराको ल्याएर पढेको सर ।’ मैले यति भन्ना साथ उनीहरुले सोधे, ‘त्यो कहाँ छ ?’ मैले भने, ‘जेलमा छ ।’
त्यसपछि सरहरुसँग कुराकानी भयो । ‘यस्तो माओवादी विद्यार्थीलाई किन पढ्न दिएको ? यसको हाजिरी कति छ ?’ हेडसरसँग इन्स्पेक्टरले ठूलो स्वरमा सोधे । ‘सबैभन्दा बढी हाजिरी भएको विद्यार्थी ऊ हो । माओवादी भए किन पढ्न आउँथे त उनी ? एकदिन पनि गयल छैन ।’ हेडसरले जवाफ दिइहाले ।
त्यसपछि ‘बैशाख १५ गते वाल्टिङ स्कुलमा संगठन बनाउन यो पुगेको छ ।’ प्रहरीले केरकार छोडेन । अनि मैले भनें, ‘त्यो दिन लाल्टिङ स्कुल र हाम्रो स्कुलको फूटबल प्रतियोगिता थियो । म संगठन बनाउन गएको होइन ।’ त्यसपछि उनीहरुसँग सोध्ने कुरा नै सकियो ।
मलाई छोड्ने भयो । तर धर्नामा बसेका विद्यार्थीहरुलाई घर पठाउन प्रहरीले भने । बाहिर विद्यार्थीहरु मेरो प्रतिक्षामा थिए । ‘सम्पूर्ण साथीहरुलाई धन्यवाद । आज मलाई यति धेरै साथ दिनु भएकोमा म खुशी छु ।’ म साथीहरुको अगाडि उभिएर बोल्दै गएँ ‘मलाई अहिले सरहरुको जिम्ममा छोडिदिने रे । तपाईंहरुले दुःख पाउनुभयो, घर जानुहोस् ।’ तर पनि साथीहरु मान्ने पक्षमै थिएनन् ।
‘म डिलेलाई साथमा ल्याउँछु, तिमीहरु घर जाऊ ।’ हेडसरले यति भनेपछि सबै साथीहरु घर लागे । त्यतिखेर मलाई आफू नेता बनेको हो कि भन्ने महासुस भयो ।
कागज बनाएर प्रहरीले मलाई रिहाइ गरे । करिब रातको ९ बजेको होला । बाहिर निस्किदा सबै साथीहरु घर लागे पनि लामा र नविन भने मेरै प्रतिक्षामा रहेछ ।
हामीसँगै खाना खायौं । अनि म र लामा घरतिर लाग्यौं । उनीहरु पनि खुशी भए । म पनि खुशी नै भएँ ।
यस पटकको गिरफ्तारीको कुरा मैले आमा र बुबालाई सुनाएन । तर पछि थाहा पाउनु भएछ ।
राज्यले ‘किलोसेरा–टु’ अप्रेशनको शुरुवात गर्ने क्रममै म गिरफ्तारीमा परेको रहेछ । एकदिन अगाडि मात्र माथि लेकमा प्रहरीले दुई जना कामरेडहरुलाई प्रहरीले हत्या गरेकाे रहेछ । मैले पछि मात्र थाहा पाएँ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















