आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रे जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ र यस अन्तर्गतको प्रदेश सभाको लागि गठबन्धनको तर्फबाट उम्मेदवारहरूको टुङ्गो लगाएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रको उम्मेदवार आज टुङ्गो लगाएको हो ।
यस अघि प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा माओवादी, सो क्षेत्र अन्तर्गत प्रदेश सभा (क) मा पनि माओवादीले र (ख) मा भने काँग्रेसले पाउने सहमति भएको थियो ।
जस अनुसार प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज) गठबन्धनको साझा उम्मेदवार बनेका छन् । माओवादी केन्द्रको प्रभावशाली नेताको रूपमा स्थापित भएका लालध्वज प्रतिनिधि सभा पुनर्स्थापना हुँदा माओवादीको तर्फबाट सांसद बनेका थिए । २०६४ सालको संविधान सभाको निर्वाचनमा अत्यन्तै लोकप्रिय मत ल्याएर विजयी भएका उनी ऊर्जा राज्य मन्त्री समेत भएका थिए ।
२०७० सालको संविधान सभाको निर्वाचनमा भने नेपाली काँग्रेसका उम्मेदवार तीर्थ लामासँग पराजित भएका थिए । पार्टीको केन्द्रीय समिति र जिल्लाको मुख्य नेतृत्वमा रहँदै आएका लालध्वज काभ्रेमा सबै राजनीतिक दलका कार्यकर्ताहरूले समेत मन पराएका नेता हुन् । उनले एमालेका केन्द्रीय सदस्य रेशम लामासँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने छन् ।
यसैबिच प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत (क)मा माओवादी केन्द्रकै केन्द्रीय सदस्य, विद्यार्थीको पूर्व अध्यक्ष हाल बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री रत्न ढकालले उम्मेदवारी दिने भएको छ । जिल्लादेखि केन्द्र सम्म राम्रो सम्बन्ध भएको नेताको रूपमा चिनिएका ढकाल पनि सबैको प्यारो नेताको रूपमा स्थापित भएका नेता हुन् । राष्ट्रियताको एजेन्डा लिएर भारत र नेपालको सिमानामा पुगेर सिमाना जोगाउन चालेको अभियानको समेत नेतृत्व गरिसकेका उनी २०७४ सालमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी भएका थिए ।
प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि काभ्रेमा बजेटको खोलो नै बगाएको भनेर प्रशंसा पाउने नेताको रूपमा उनी परिचित छ । एमाले नेता गोकुल बाँस्कोटाले भन्दा डबल बजेट ल्याउन सफल उनले काभ्रे भरिमा करिब ४ अर्बको बजेट ल्याएको छ । एक वटा बराबर कम्तीमा ५ वटा योजनामा बजेटको व्यवस्था गरेको उनले आफूलाई विकास प्रेमी नेताको रूपमा स्थापित गरेका छन् ।
युवा पङ्क्तिबाट काभ्रेबाट राष्ट्रिय राजनीतिमा राम्रो अर्थ राख्ने खालको नेताको रूपमा समेत उनलाई लिने गरेको छ । माओवादी केन्द्र भित्र सम्भावना बोकेको युवा नेताको रूपमा स्थापित भएका उनीसँग समृद्धिको ठोस योजना समेत रहेको छ । उनले एमालेका पुराना नेता दिलीप तामाङसँग प्रतिस्पर्धा गरिँदै छ ।
त्यसैगरि नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य गणेश लामाले प्रदेश सभा (ख)को उम्मेदवार बन्ने फेरि अवसर पाएका छन् । यस अघिको निर्वाचनमा पराजित हुन बाध्य भएका नेता लामा पनि काभ्रेको सम्भावना बोकेको नेताको रूपमा चिनिन्छ । उनको बारेमा गलगत टिकाटिप्पणी गरेपनि जनताको मन जित्न सफल लामाले आफू सही ठाउँमा रहेको बारम्बार प्रमाणित गरिसकेको छ ।
काभ्रेको राजनीतिमा मात्र होइन, केन्द्रमै पनि लोकप्रिय मतले केन्द्रीय सदस्यमा निर्वाचित भएका लामा विशेष गरी युवाहरू माझ स्थापित नेता हुन् ।
यद्यपी नेपाली काँग्रेसले भने पुष्टि गरेको छैन । काँग्रेस स्रोतका अनुसार नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामाले यो क्षेत्रमा दावी गरिरहेका छन् । स्रोतका अनुसार सभापति लामाको पनि बलियो सम्भावना रहेको जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















