आगामी मंसिर ४ गते हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि आज (आइतबार) विभिन्न दलहरुले मनोनयन दर्ता गरेको छ । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ को पनौती नगरपालिकाको कार्यालयमा र प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ को धुलिखेल स्थित शैक्षिक तालिम केन्द्रमा मनोनयन दर्ता गरेको हो ।
मुख्य गरि काभ्रेमा सत्ता रुढ गठबन्धन र प्रमुख प्रतिपक्ष दल एमालेबीच प्रतिस्पर्धा हुनेछ । काभ्रे जिल्लामा नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट उम्मेदवार खडा गरेको छ भने एमालेले जसपा, राप्रपा लगायतका विभिन्न ७ पार्टीको समर्थनमा एकल उम्मेदवार खडा गरेको छ ।
गठबन्धनको तर्फबाट प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य सूर्यमान दोङ (लालध्वज) ले मनोनयन दर्ता गरेको छ भने सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा (क)मा माओवादी केन्द्रकै केन्द्रिय सदस्य तथा वागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री रत्न ढकालले उम्मेदवारी दर्ता गरेका छन् । सोही क्षेत्रको प्रदेश सभा (ख)मा भने नेपाली काँग्रेस काभ्रेका सभापति तिर्थ लामाले उम्मेदवारी दर्ता गरेका छन् ।
यसैबीच प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ नेकपा (एमाले)को तर्फबाट पार्टीको केन्द्रिय सदस्य तथा पूर्व मन्त्री रेशम लामाले मनोनयन दर्ता गरेका छन् । सो क्षेत्रको प्रदेश सभा (क)मा दिलिप लामाले र (ख) मा पार्टीको जिल्ला उपाध्यक्ष तथा पूर्व प्रदेश मन्त्री चन्द्र लामाले उम्मेदवारी दर्ता गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















