आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि काभ्रे जिल्लाबाट माओवादी केन्द्रको ५ जनाको नाम समावेश भएको छ । निर्वाचन आयोगमा पेस गरेको बन्द सूची अनुसार प्रतिनिधि सभाको लागि १ र प्रदेश सभाको लागि ४ जनाको नाम समानुपातिक सूचीमा समावेश भएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको सूची अनुसार प्रतिनिधि सभाको लागि आदिवासी जनजाति महिला तर्फ माओवादी केन्द्रका केन्द्रीय सदस्य मिना तामाङको नाम समावेश छ । माओवादी जनयुद्धको पहलकर्ता, सुरुवात कर्ता र शान्ति प्रक्रियासम्म महत्त्वपूर्ण भूमिकामा रहेकी तामाङ पार्टी भित्र प्रभावशाली नेताको रूपमा चिनिन्छ । २०६४ साल र २०७० सालको संविधान सभाको निर्वाचनमा काभ्रे निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचनमा होमेका थिए । तर उनी पराजित भएका थिए । किसान आयोगको सदस्य समेत भइसकेकी तामाङ सहिद पत्नी समेत हुन् । उनको श्रीमान् बुद्धि तामाङ महाभारत गाउँपालिका वडा नं. ८ स्थित घर्तिछापमा तत्कालीन शाही सेनासँगको भिडन्तमा सहिद भएका थिए ।

त्यसै गरी बागमती प्रदेश सभा तर्फ माओवादी केन्द्रबाट ४ जनाको नाम सूचीमा रहेको छ । सूचीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रुकु चौंलागाईंको नाम रहेको छ । माओवादी जनयुद्धको एउटा साहसिक र वैचारिक नेताको रूपमा स्थापित चौंलागाईं पनि जनयुद्धको तयारी थालनी र शान्ति प्रक्रिया सम्म महत्त्वपूर्ण पूर्ण भूमिकामा रहेका नेता हुन् । केही वर्ष जेल समेत परेका चौंलागाईं पार्टीको महत्त्वपूर्ण नेतृत्वमा रहँदै आएको छ ।

यसैबिच सुचीमा माओवादी केन्द्रका काभ्रे जिल्ला समन्वय समितिका संयोजक भोला प्रसाद अर्याल र जिल्ला समन्वय समिति सदस्य सुन्तली थिङ रहेका छन् । अर्याल माओवादी जनयुद्धको क्रममा २०५८ सालमा सोलुखुम्बुको सल्लेरी आक्रमणमा घाइते भई आपंग समेत हुने पुगेका नेता हुन् । उनलाई जिउँदो सहिदको रूपमा समेत चिनिन्छ । त्यसै गरी २०५९ साल देखि माओवादी आन्दोलनमा लागेका थिङ पनि जनमुक्ति सेना, नेपालको विभिन्न जिम्मेवारीमा रही विभिन्न मोर्चामा सहभागी भएका कुशल कमान्डरको रूपमा चिनिन्छ ।

त्यसै गरी डा. बाबुराम भट्टराई माओवादी केन्द्रबाट अलग हुँदा भट्टराईसँगै लागेका होमकुमारी तामाङ (दो)को पनि समानुपातिक सूचीमा परेको छ । उनीलाई पनि माओवादी आन्दोलनकै एक सशक्त नेताको रूपमा चिनिन्छ । हाल उनी भट्टराईको नेतृत्वमा रहेको नपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।