आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारहरुलाई विजयी गराउन सक्रियता पूर्वक लाग्न नेपाली काँग्रेस काभ्रेले अपिल गरेको छ । जिल्ला सभापति तिर्थ लामाले एक अपिल जारी गर्दै पार्टीको जिल्ला देखि टोल इकाई र सबै नेता कार्यकर्ताहरुलाई निर्वाचनमा होम्न अपिल जारी गरेका हुन् ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय बमोजिम स्थानीय तह सदस्य निर्वाचनका क्रममा अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका नेपाली कांग्रेस काभ्रे अन्तर्गतका सदस्यलाई प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा पार्टीको पूर्ववत् सकृय भएर पार्टीको विजयी अभियानमा सहभागी हुन नेपाली कांग्रेस जिल्ला क्रोर्यसमिति काभ्रेले अपिल गरेको छ ।’ अपिलमा भनिएको छ, ‘यो निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन नेपाली कांग्रेस काभ्रे अन्तर्गतको जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरू, सबै क्षेत्रीय समितिहरू, सबै भातृ एवं शुभेच्छुक संस्थाहरू, १३ वटै गाउँ।नगर कार्यसमितिहरू, काठमाण्डौ उपत्यका सम्पर्क समितिहरू, १ सय ३५ वटै वडा कार्यसमितिहरू र सम्पूर्ण टोल कार्यसमितिहरू लगायत नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं शुभेच्छुकहरू सम्पूर्ण रूपले एकतावद्ध र अनुशासनका साथ दृढ ढंगले परिचालित हुनसमेत नेपाली कांग्रेस काभ्रे निर्देश गर्दछ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।