काभ्रे जिल्लाको धुलिखेल नगरपालिका–४ अट्ठाइसकिलोस्थित चाउमिन फ्याक्ट्रीमा आगलागी हुँदा २ करोडभन्दा बढी क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले आगलागीबाट २ करोड २५ लाख बराबरको क्षति भएको जानकारी दिए।
डिएसपी न्यौपानेका अनुसार शम्भु कार्कीको चारतले पक्की घरमा सञ्चालनमा रहेको चाउमिन फ्याक्ट्रीमा चाउमिन पकाउने क्रममा ग्याँसबाट अचानक आगलागी भएको हो।
आगलागीबाट चाउचाउ बनाउने मेसिन १५ थान, चाउचाउ बनाउने सामग्री, लत्ता कपडा तथा अन्य सरसामान जलेर पूर्ण रूपमा क्षति भएको छ। त्यसैगरी आगलागीबाट कार्की सामान्य घाइते भए पनि कुनै मानवीय क्षति नभए प्रहरीले जनाइएको छ।
आगलागी भएको खबर पाएलगत्तै डिएसपी न्यौपानेको नेतृत्वमा ४० जना प्रहरीको टोली आवश्यक बन्दोबस्तीका सामान सहित परिचालन भएको थियो। आगलागीबाट आसपासका घरमा कुनै क्षति पुगेको भने छैन।
डिएसपी न्यौपानेले आगोलाई धुलिखेल नगरपालिकाबाट १ वटा, भक्तपुरबाट १ र पाँचखाल नगरपालिकाबाट १ वटा गरी ३ वटा दमकल, बनेपा नगरपालिकाबाट २ वटा पानी ट्यांकर, प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बताए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















