नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रदेश सभाको समानुपातिक उम्मेदवार रुकु चौंलागाईंले गठबन्धनको उम्मेदवारहरूलाई जिताउनु आफूहरूको कर्तव्य भएको बताएका छन् । माओवादी केन्द्र पाँचखाल नगर समितिले आयोजना गरेको विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ चौंलागाईंले उक्त कुरा बताएका हुन् ।

‘हाम्रो कर्तव्य गठबन्धनका उम्मेदवारहरूलाई जिताउनु हो, त्यो नै माओवादीको उपलब्धि हो । जुन कार्यले गर्दा पार्टीको हैसियत कायम हुन्छ ।’ उनले भने, ‘अब यस क्षेत्रमा प्रतिनिधि सभा तर्फ शिव हिुमागाईंजीलाई र प्रदेश सभा (क) तर्फ लक्ष्मण लम्साललाई जिताउनु पर्छ ।’
सबै नेता, कार्यकर्ताहरू र शुभचिन्तकहरू इमानदारीपूर्वक गठबन्धनलाई जिताउन लाग्न उनले अनुरोध गरे ।

यसैबिच नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा काभ्रे–२ का उम्मेदवार शिव प्रसाद हुमागाईँले आफू काँग्रेसको नेताको रूपमा मात्र नभई काभ्रेली जनताको नेताले जितेको आभास गराउने प्रतिबद्धता जाहेर गरे । ‘म काँग्रेसको मात्रै नभएर गठबन्धन साथै काभ्रेली जनताको प्रतिनिधिको रूपमा उम्मेदवारी दिएको छु ।’ उनले भने, ‘मेरो उम्मेदवारीको विषयमा कुनै सङ्कोच लिनु पर्दैन हामी एउटै उद्देश्यका साथमा अगाडि बढेका छौँ । काभ्रेली जनताहरूको हित गर्नको लागि गठित गठबन्धनले संविधानको संरक्षण गर्दै जनताको हितमा कार्य गर्ने छु ।’

कार्यक्रममा संविधानसभा सदस्य तेजबहादुर मिजार, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मिना तामाङ, क्षेत्र नं २ प्रदेश (क) का गठबन्धनका उम्मेदवार लक्ष्मण लम्साल, माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक भोला अर्याल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगर समितिको अध्यक्ष चेत प्रसाद गौतमको सभापतित्वमा राम गोपाल भुजेलको सञ्चालन र नारायण ढकालको स्वागत रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।