कुनै बेला नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री गोकुल बाँस्कोटालाई एक टेलिभिजनलाई अन्तरवार्ता दिने क्रममा ‘गोकुल बाँस्कोटाको निधारमा लागेको ७० करोडको आरोपको दाग आम जनमुदायको अगाडि कहिले पखालिसक्नु हुन्छ ? कुन वालिङ पाउडर पखालिएला ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा नेता बाँस्कोटाले जवाफ दिएका थिए, ‘नैतिकताको वालिङ पाउडरले, भ्रष्टाचार नगरेको प्रमाणले, जनताको मन जितेर, ७० हजार मत ल्याएर ।’

आफूलाई लगाएको यो आरोपको दाग पखाल्ने अवसरको रूपमा उनले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनलाई लिएका छन् । राजनीतिक हिसाबले यो निर्वाचन बाँस कोटालको लागि ‘जीवन मरण’को लडाइँको रूपमा लिन सकिन्छ । २०७४ मा सम्पन्न आम निर्वाचनमा वाम गठबन्धनबाट भारी मतले जिताएर यस क्षेत्रको जनताले बाँस्कोटालाई जिताए पनि यो पटक जनताले के गर्ला ? भन्ने चासो चिन्ता एमाले पङ्क्तिलाई छ ।

७० हजार मत ल्याएर आफूलाई लगाएको दाग मेटाउने अभियानमा रहेको बाँस्कोटाले गठबन्धनको अघि जित्न भने कठिन देखिन्छ । ०७४ सालको जीतको उन्मादमा उनी अप्रिय काण्डमा सहभागी भए । ‘७० करोड काण्ड’ उनको मात्रै होइन काभ्रेली जनताको मनमस्तिष्कमा छ । काभ्रे राष्ट्रभित्र मात्रै होइन अन्तर्राष्ट्रिय जगतमा समेत ‘७० करोड काण्ड’ बाट चिनिन पुगेको छ ।

काभ्रे निर्वाचन क्षेत्र नम्बर २ का मतदाता त्यो बेला छक्क परे जति बेला बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भयो । अडियो सार्वजनिक भएपछि बाँस्कोटाको मन्त्री पद गयो । धेरै महिना बाँस्कोटा काभ्रे समेत आएनन् । कोभिडको चरम महामारि भइरहँदा काभ्रे जिल्लामा बाँस्कोटाको सशक्त उपस्थिति रहन सकेन ।

बरु सत्तामा नभए पनि काभ्रेली जनताको समस्यालाई बुझेर विभिन्न निकायसँग हार गुहार गरेर नेपाली काँग्रेसका नेता हाल लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का साझा उम्मेदवार शिव हुमागाईँ पालिका पालिकामा स्वास्थ्य सामग्री लिएर पुगे ।

बाँस्कोटाको ‘७० करोड काण्ड’ ले सिङ्गो काभ्रेपलान्चोक जिल्लाको बदनाम बाहेक अरू केही गरेनन् । छुद्र र टर्रो बोली बाँस्कोटाको विशेषता हो । आफू मालिक र कार्यकर्तालाई रैती ठान्ने बाँस्कोटा एमालेभित्र एउटा प्रवृत्तिको रूपमा झाँगिँदै गएको छ । उनको हाउभाउ र शैलीको नक्कल गर्ने एमाले काभ्रेभित्र ठुलै तप्का बन्नेमा कुनै शङ्का छैन ।

दुई दुई वटा मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका बाँस्कोटाले जति जिल्लामा विकास निर्माणको काम गर्न सक्थे । उनको ध्यान त्यता गएको हुन्थ्यो भने अहिले प्रदेश सरकार र पालिकाले गरेको विकास निर्माणको काम समेत आफूले गरेको भन्दै झुटको खेती गर्नै पर्दैनथ्यो ।

अहिले मतदातामा यसरी भ्रम सिर्जना गर्ने र ‘७० करोड काण्ड’ ओझेलमा पार्ने गरी प्रचार गरिएको छ की सायद बाँस्कोटा सांसद र मन्त्री नभइदिएको हो भने विकास निर्माणमा काभ्रे ओझेलमा पर्थ्यो । अहिलेसम्म काभ्रेमा केही भएकै थिएँ । कुनै पनि नेताले सिन्को भाँचेकै थिएनन् ।

बाँस्कोटासँग अबको निर्वाचनमा प्रयोग गर्ने अस्त्र भनेको भ्रम छर्ने, तर्साएर वा अन्य कुनै लोभ तथा प्रलोभनमा पारेर मत आफ्नो पक्षमा पार्नु नै हो । बाँस्कोटासँग त्यो बाहेक अन्य विकल्प नै छैन । बुझ्ने मतदाताले बाँस्कोटाले गरेको विकास हेरेर होइन ‘७० करोड’ अडियो काण्ड सुनेर मतदाता गर्नेमा दुई मत छैन । ७० करोडको लाज छोप्नलाई नै हाम्मे हाम्मे भइरहेको एमाले कार्यकर्ताहरूले बताउन थालेका छन् ।

यस अघि बनेपामा आयोजित पत्रकार सम्मेलनमा पनि बाँस्कोटाले विकासको उस्तै रटान लगाए । काभ्रेमा आफू बाहेक काम अरू कोही पनि नेता छैनन् र अरूसँग कुनै भिजन छैन भन्ने बाँस कोटामा दम्भ छ ।

बाँस्कोटा निर्वाचित भएको प्रतिनिधि सभा अन्तर्गतको दुई वटा प्रदेश सभाका सांसद लक्ष्मण लम्साल र वसुन्धरा हुमागाईँले आफ्नो निर्वाचन क्षेत्रमा त्यस्तो लोकप्रिय काम गरेका छन् जुन कामकै कारण लम्साल र हुमागाईँले यो पाँच वर्षमा आफ्नो उपस्थितिलाई मजबुत बनाए ।

तर बाँस्कोटाको लोकप्रियता भने ‘७० करोड काण्ड’ पछि तुलना नै गर्न नसक्ने गरी गिरेको छ, जलाइ उनी आफैले समेत कल्पना गरेका थिएनन् । बाँस्कोटा सीमित कार्यकर्ताको कुरा सुन्ने र आफूले भनेको नमान्ने नेता कार्यकर्तालाई भित्तामा पुर्‍याउने रणनीति अङ्गाल्छन् । त्यस कारण पनि उनको पार्टीभित्रै जनमत कम भएको महसुस भएको मानिन्छ ।

जे होस् एउटा प्रतिभा र क्षमता भएको नेताको रूपमा पनि स्थापित नेता बाँस्कोटाले आफूलाई लागेको ‘७० करोड’को दाग पखाल्न सकिन्छ या सकिँदैन मङ्सिर ४ गते कुर्नुपर्ने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।