अस्पतालबाट डिस्चार्ज भएपछि प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य सूर्यमान दोङ (लालध्वज)ले निर्वाचनको विषयलाई लिएर छलफल थालेका छन् । आज अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो निर्वाचन क्षेत्रको गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख–उपप्रमुखहरुसँग छलफल गरेका छन् ।
छलफलमा नेता लालध्वजको साथमा प्रदेशसभा ‘क’ का उम्मेदवार रत्न ढकाल र प्रदेशसभा ‘ख’ का उम्मेदवार तीर्थ लामा समेत सहभागी थिए ।
कार्यक्रममा उम्मेदवार लालध्वजले मतदाताको बीचमा एक मनका साथ गठबन्धनका उम्मेदवार जिताउने काममा सक्रिय हुन निर्देशन दिएका थिए । निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा पालना गर्दै आफ्नो पार्टी र गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्ने वातावरण बनाउन उनले अनुरोध गरेका थिए ।
त्यसैगरि बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहेका प्रदेशसभा ‘क’ का उम्मेदवार ढकालले आगामी निर्वाचनमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेशसभा ‘ख’ का उम्मेदवार लामाले सबै जनप्रतिनिधि सशक्त ढंगले प्रस्तुत भएको खण्डमा मात्रै चुनावमा जनमत बढ्न सक्ने बताए ।
छलफलका क्रममा स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले आ–आफ्नो राय समेत दिएका थिए । छलफलका सहजीकरण निर्वाचन परिचालन समितिका संयोजक एवं नेकपा माओवादी केन्द्र काभ्रेका सचिव दैवलाल घिसिङ र नेपाली कांग्रेस काभ्रेका सचिव गुणराज मोक्तानले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















