काभ्रे विकासको स्पष्ट खाका नेपाली कांग्रेससँग भएको काभ्रे प्रतिनिधि सभा १ को प्रदेश सभा ख का उम्मेदवार एवं नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले बताएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको घर दैलोका क्रममा शुक्रबार रोशी गाउँपालिका वडा नं. २ नारायणटार तथा वडा नं. १ ताङ्लिङमा भएका छुट्टाछुट्टै कार्यक्रमहरुलाई सम्बोधन गर्दै उनले मुलुक निर्माणका लागि कुरा नभइ काम गर्ने समय आएको र त्यसका लागि नेपाली कांग्रेसले नेतृत्व लिने युगीन क्षण आएको बताए ।

समाज विकासका क्रममा हुने झिनामसिना विभेद भुल्दै एकले अर्कोलाई आक्षेप नगरी समाज विकासमा लाग्न जरुरी भएको बताउँदै उनले मुलुकलाई समृद्ध बनाउन विगतका तीता मिठा कुरा भुल्दै गठबन्धनका सबैजना लागि पर्ने बताए ।

केपी ओलीको अधिनायकवादका विरुद्ध गठबन्धन गर्दै उभिएको र यसको पनि नेतृत्व लिएका कारण गठबन्धनका सबै साथीहरु इमान्दार भएर लागि पर्नेमा विश्वास व्यक्त गरे ।  संविधानको पनि रक्षा गर्न भन्दै उनले दुई–दुई पटक संसद विघटन हुँदा पनि मुलुकको सार्वभौमिकता जोगाउँदै चुनाव गराउने अभिभारा लिएको कांग्रेस सत्य, न्याय र निष्ठामा कहिल्यै नड्गमगाएको जीकिर गरे ।

रोशी क्षेत्रको विकासका लागि आफूले अरबौंका योजना ल्याउने भन्दै उनले केही करोड भ्रष्टाचार गरौँला वा केही कमाऔँला भनेर आफू राजनीतिमा नआएको पनि जीकिर गरे । “म रोशीकै माटोमा जन्मिएको किसानको छोरा हुँ, रोशीको कुन भेगमा के विकास निर्माण आवश्यक छ मलाई राम्रोसँग थाहा छ । यस भेगका आवश्यकता मेरा प्राथमिकता हुन्, त्यसलाई पुरा गर्ने बाचा गर्दछु ।” उनले भने ।

शिक्षा, स्वास्थ्य, रोजगारी, युवा पलायनका विषयमा बोल्दै उहाँले उद्यमशीलतामालाई पहिलो प्राथमिकता दिने पनि बताउनु भयो । घर दैलोका क्रममा सबै घरमा पुग्न नकिएला तर विकास निर्माण हरेक घरले आभाष गर्ने गरी काम गर्ने बताउँदै उनले भने “रोशीको हावा पानीमा हुर्कोको मेरो शरीरमा एक थोपा रगत रहुन्जेल रोशी क्षेत्र र समग्र काभ्रेको विकासमा दत्तचित्त भएर काम गर्नेछु ।”

केही व्यक्तिहरुले गठबन्धन इमान्दार हुन नसक्ने गलत प्रचार गरिरहेको, कांग्रेस भएर माओवादीलाई र माओवादी भएर कांग्रेसलाई भोट हाल्न सकिन्न भन्ने खालका गलत भ्रम फैलाइरहेको भन्दै नेता लामाले भने “याे सरासर गलत हो, प्रतिनिधि सभाको क्षेत्र नं. १ मा गोलाकार भित्रको हँसिया हथौडामा लालध्वजजीलाई र प्रदेश सभाको ‘ख’मा नेपाली काग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्दछु ।”

केन्द्रदेखि टोल बस्तीसम्म नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत केन्द्र) आफूहरु सँङसगै भएको बताउँदै उनले भ्रमको खेति नगर्न आग्रह गरे । उहाँले समग्रमा काभ्रेको विकासका लागि प्रतिस्पर्धा गर्न आग्रह गर्दै गठबन्धनमा मिलेर जाँदा ५ वर्षमा २० लाख ३० लाखको परियोजना नभई रोशी भेगलाई कस्तो बनाउने मास्टर प्लान बोकेर हिडेकोले यस भेगका जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ भन्ने प्रष्ट भिजन आफूहरुसँग छ भन्दै ५ वर्षमा ५-७ अर्बको विकास ल्याउने बताए ।

रोशी २ मा नेपाली कांग्रेस वडा सभापति प्रताप सिं लामा र वडा नं. १ मा विरबहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि सभा १ का सभापति दिनेश लामा, नेपाली कांग्रेसका महासमिती सदस्य सार्कीमान बल, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य दैवलाल घिसिङ, कांग्रेस नेता शंखबुद्ध लामा, नेकपा माओवादी केन्द्रका तर्फबाट काभ्रे क्षेत्र नं. १ ख की समानुपातिक उम्मेदवार सुन्तली थिङ, नेकपा एकिकृत समाजवादीकी समानुपातिक उम्मेदवार रामदेवी तामाङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण अधिकारी, नेपाली कांग्रेस प्रतिनिधि सभा १ प्रदेश सभा ख का सभापति चन्द्र लामा, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य गुमानसिं लामा लगायतले लोकतान्त्रिक-बाम गठबन्धनमा कुनै शंका नगर्न र ढुक्क भएर गठबन्धनलाई मत हाल्न आग्रह गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।