प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता शिव प्रसाद हुँमागाईले कोशिपारीको समग्र विकासको जिम्मा अब बन्ने बामलोकतान्त्रिक गठबन्धनको सरकारले लिने बताए । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको वडा नं. ४ स्थित चौवासमा बाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा अन्तक्र्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै नेता हुमागाईंले उक्त कुरा बताएका हुन् ।
विकासका पूर्वाधारको जग बसालिसकेको हुनाले अन्य आवश्यक विकास योजना अब बन्ने सरकारले जिम्मा लिने उनले बताए ।
चौबासमा पर्यटकीयस्थलको रुपमा विकास गर्न होटल रिसोर्ट चलाउन आवश्यक छ भनेर धेरै अगाडी कल्पना गरेको भएपनि मोटरबाटो, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधार नबेनका कारण विकास हुन नसकेको बताउँदै उनले अब आवश्यक थप पूर्वाधार निर्माण गर्नेदेखि विकासको लागि बाम लोकतान्त्रिक गठबन्धनले जिम्मा लिने बताए ।
‘पाँच बर्षका कार्यकालमा यो क्षेत्र काभ्रेको उत्कृष्ट पर्यटकीय केन्द्र बन्नका लागि सबै प्रकारको भौतिक पूर्वाधार निर्माण हुनेछ ।’ उनले भने, ‘जसबाट यहाँ उत्पादन हुने तरकारीदेखि साना–साना पसल राखेर आयआर्जन गर्न पाउने भएपछि यहाँका नागरिकको आर्थिक स्तरमा बृद्धि भई गाउँको मुहारमा समेत परिवर्तन आएको महसुश हामी गराउँछौं ।’
उनले गाउँमा कुनै पेशा व्यवसाय नभएको कारण युवाहरु विदेशीन बाध्य भएकोले अब गाउँमा नै बसेर आर्थिक उपार्जन गर्ने अवस्थाको सिर्जना गठबन्धन सरकारले गर्ने दावी गरे ।
कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका काभ्रे–२ अन्तर्गत प्रदेश सभा (क) का साझा उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का नेता लक्ष्मण लम्साल, नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तेजबहादुर मिजार लगायतले सम्बोधन गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















