नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा काभ्रे प्रतिनिधिसभा क्षेत्र नं १ का गठबन्धनतर्फका साझा उम्मेरदवार सूर्यमान दोङ (लालध्वज) ले गठबन्धनका कुनै पनि उम्मेदवारलाई भ्रष्टचारको कालो धब्बा लागेमा झुण्डेर मर्न तयार रहेको बताएका छन् ।

आज लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समितीले पनौती नगरपालिका वडा नं १० खोपासीमा आयोजना गरेको मतदातासँग भेटघाट तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार लालध्वजले यस्तो बताएका हुन् ।

प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा आफै उम्मेदवार रहेको, काभ्रे–१ अन्तर्गत प्रदेश सभा (क)मा रत्न ढकाल र (ख)मा तिर्थ लामा, प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ मा शिव हुमागाईं र काभ्रे–२ अन्तर्गत प्रदेश सभा (क)मा लक्ष्मण लम्साल र (ख)मा कञ्चनचन्द्र वादेलाई गठबन्धनले उम्मेदवार बनाएको बताउँदै लालध्वजले आफूहरु कुनै पनि धब्बा लागेको व्यक्ति नभएको प्रष्ट पारे । त्यस्ता धब्बा भेटे देखाउन उनले चुनौती दिँदै त्यस्ता भ्रष्टचारको धब्बा भेटे झुण्डिएर मर्ने बताए ।

‘अन्य पार्टीका उम्मेदवार जस्तो ७०÷८० करोडको धब्बा छ भने भन्नुहोस् तपाईंहरुले । यस्तो काण्ड हाम्रो जीवनमा घटे झुण्डिएर मर्न तयार छौं ।’ उनले भने, ‘हामीले यदि गल्ती गरेको छ भने माफी गर्न सक्ने गल्ती भए माफ दिनुहोस र माफी गर्न लायक गल्ती भएन भने हामीलाई झुण्ड्याउनुहोस् ।’

निर्वाचनमा विजयी भएपछि तिर्थ लामा र आफू मिलेर क्षेत्र भरिको खानेपानी, स्वास्थ्य, सडक र शिक्षाको विकासमा आफूहरुले समय खर्च गर्ने बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।