आगामी मंसिर ४ गते को आम निर्वाचनको लागि काभ्रे–१ (क)का गठबन्धनको साझा उम्मेदवार रत्न ढकालले तेमालका जनतासँगको भेटघाटलाई निरन्तरता दिएका छन् । शुक्रबार नमोबुद्ध नगरपालिका वडा नं. ५ र तेमाल गाउँपालिका वडा नं. १ मा मतदातासँग भेटघाट गर्न पुगेका ढकालले शनिबार (आज) तेमाल गाउँपालिकाको वडा नं. २, ३ र ४ मा पुगेका हुन् ।

भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार ढकालले तेमाको चौतर्फी विकासको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका थिए । तेमालमा सडक स्तरोन्नति, लिफ्टीङ सिन्चाई, एक घर एक घारा, धार्मिकस्थलहरुको विकास र सम्बद्र्धन र तामाङ राष्ट्रिय संग्राहलय लगायतका विकासमा आफू लागिरहने प्रतिबद्धता जाहेर गरे ।

तेमालमा आफ्नो ५ वर्षे कार्यकालमा सक्दो बजेटको व्यवस्था गरेको बताउँदै ५ वर्षे कार्यकाल शुरुवातकाल भएकोले अब अधुरो कामहरु सम्पन्न गर्ने बताए ।

तेमालको समृद्धिको लागि गठबन्धनको कुनै विकल्प नरहेको समेत उनले दावी गरे । ‘गठबन्धनले मात्र तेमालको विकास गर्न सक्छ । निर्वाचन पछि गठबन्धन कै सरकार निर्माण हुनेछ ।’ उम्मेदवार ढकालले भने, ‘हामी विभिन्न पार्टीहरु मिलाएर गठबन्धन बनाएका छौं । अब हाम्रो अलग–अलग पार्टी छैन, एउटै पार्टी हो गठबन्धन । त्यसैले गठबन्धनले मलाई प्रदेस सभा (क)मा र (ख)मा तिर्थ लामालाई अनि प्रतिनिधि सभा सदस्यको लागि लालध्वजजीलाई उम्मेदवार बनाएको छ । तपाईंको अमुल्य मत गठबन्धनका उम्मेदवारलाई दिनहुन हार्दिक अनुरोध गर्दछु ।’

मुलुकको इतिहासमा कम्युनिष्ट र काँग्रेस मिलेर मात्र परिवर्तन भएको बताउँदै अब समृद्धि र राजनीतिक स्थायीत्वको लागि कम्युनिष्ट र काँग्रेस मिल्नु पर्ने भएकोले गठबन्धन भएको बताए ।

जनताले रत्तिको टोकरीमा फ्याँकिएकाहरुलाई बटुलेर केपी ओलीले आफ्नो असली अनुहार देखाएको बताउँदै ढकालले केपी ओली आजको उपलब्धिको विरुद्ध रहेको उनले आरोप लगाए । ‘भन्ने बेलामा कम्युनिष्ट भन्ने, गणतन्त्र मन नपराउने, संघीयता मन नमपराउने कम्युनिष्ट पनि छन् । रत्तिको टोकरीमा जनताले फ्याकिएका व्यक्तिहरुलाई बटुलेर निर्वाचनमा गठबन्धन गर्दैछ । केपी ओलीलाई बृहत कम्युनिष्ट पार्टीको नेता बन्ने अवसर थियो । तर उनले त्यो चाहेनन् ।’ उनले भने, ‘यो संविधान निर्माण प्रक्रियामा केपी आलीको सहभागीता थिएन । त्यसैले उनलाई गणतन्त्र र संघीयताको माया छैन । प्रतिगमन मात्र मनपर्छ । त्यसको विरुद्ध हाम्रो गठबन्धन हो ।’

त्यसैगरि माओवादी केन्द्रका प्रदेस कमिटी टासी लामाले २००७ सालदेखि आजसम्मको परिवर्तनको आन्दोलनमा कम्युनिष्ट काँग्रेस मिले मात्र सफल भएको बताउँदै संविधान र संघीयताको रक्षाका लागि फेरि मिल्नुपर्ने बाध्यता आएको बताए । राष्ट्रको हितको लागि गठबन्धनले तय गरेको उम्मेदवारहरुलाई मतदान गर्न उनले अनुरोध गरे ।

 

यसैबीच नेपाली काँग्रेसका प्रदेश क्षेत्रिय इकाई समितिका सभापति तथा वाम–लोकतान्त्रिक गठबन्धनको प्रदेश क्षेत्रिय निर्वाचन परिचालन कमिटीका सह–संयोजक राम योञ्जनले निर्धक्क भएर गठबन्धनले उठाएको उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे । ‘म प्रदेश (क) क्षेत्रिय इकाई समितिको सभापति, ३५ वटा वडाको सभापतिले गोलाकार भित्रको हँसिया–हथौडामा मतदान गर्छु भनेपछि तपाईंहरुले मतदान नगरेर हुन्छ ?’ उनले भने, ‘काँग्रेसको प्रत्यक्ष उम्मेदवार छैन भनेर निराश नहुनु, अर्को निर्वाचन क्षेत्रमा फेरि माओवादी केन्द्रका साथीहरुले रुखमा मतदान गर्नुहुने छ । रत्न ढकाल र लालध्वज काँग्रेसकै उम्मेदवार हुन् ।’

त्यस्तै कार्यक्रममा नेसपाको तर्फबाट समानुपातिक उम्मेदवार होमकुमारी तामाङ, एकीकृत समाजवादीको तर्फबाट समानुपातिक उम्मेदवार पासाङ डोल्मु लामा, नेपाली काँग्रेसका तेमाल गाउँ इकाई समितिका सभापति तथा निर्वाचन परिचालन कमिटीका संयोजक ज्ञानबहादुर तामाङ लगायतले बोलेका थिए ।

भेटघाटमा जनताको उत्साहजनक सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।