आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षा जस्ता विषयमा आधारित रही १ मिनेटसम्मको टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले नगदद्वारा पुरस्कृत गर्ने भएको हो ।
आयोगका अनुसार टिकटक बनाई यही कात्तिक ५ गतेदेखि कात्तिक १५ गतेसम्म आयोगको इमेल ठेगानमामा पठाउनु पर्ने छ । आयोगलाई पठाएको भिडियो मध्य उत्कृष्ट ५ भिडियोलाई आयोगको तर्फबाट जनही रु. ५० हजारका दरले पुरस्कृत गरिने जनाएको छ ।
यी हुन् शर्तहरुः
शर्तहरू:
१. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ ।
२. भिडियो संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ ।
३ आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ ।
४. भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण हुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ ।
५. निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी लगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।
६. कुनै एक व्यक्तिले एउटा विषयमा पाँचवटा सम्म भिडियो पठाउन सकिने छ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको पाँचवटा सम्म भिडियो स्वीकार गरिनेछ ।
७. प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यबाट प्रचार प्रसार र प्रशारणको निम्ति उपयोग गर्नेछ ।
८. तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन ।
९. उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट गरिनेछ ।
१०. उत्कृष्ट भिडियोहरू मध्ये छनोट समितिको सिफारिसमा रु.५०,०००।– (पचास हजार) पुरस्कार र प्रशंसापत्र प्रदान गरिनेछ ।
११. भिडियो २० सेकेण्ड देखि १ मिनेट सम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ ।
१२. आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरूमा पनि टिकटिक निर्माण गर्न सकिनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















