पुर्व उर्जा राज्यमन्त्री एवं वाम लोकतान्त्रिक गठबन्धनका काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार सुर्यमान दोङ (लालध्वज)ले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताए ।
काठमाडौं चाबहिलको ए वान क्याफेमा काभ्रे-काठमाडौं सरोकार समाजद्वारा आयोजित काभ्रे क्षेत्र नं. १ गठबन्धनका उम्मेदवार बीच भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लालध्वजले काभ्रेको डाँडापारि क्षेत्र महाभारत गाउँपालिका र खानाखोला गाउँपालिकामा उत्पादन हुने कोदोबाट बन्ने रक्सीजन्य पदार्थलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउनुपर्ने बताएका हुन् ।
‘कोदोको रक्सीलाई ब्राण्ड बनाएर संसार भर पुर्याउन सकेमा त्यस क्षेत्र जनजीवन उक्सान सक्छ भन्नेमा मेरो विश्वास छ,’ उम्मेदवार लालध्वज भन्छन, ‘कोदोको रक्सी मात्रै होइन त्यस क्षेत्रमा उत्पादन हुने फापर, गुन्द्रुक, मुलाको सिन्की लगायतलाई अन्तर्राष्ट्रिय बजार बनाउनुपर्ने समेत बताए ।
“काभ्रेको यातायात, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, कृषि, पर्यटनलगायत विकासमा मेरो महत्वपूर्ण भूमिका रहेको छ, माओवादी केन्द्र राजनीतिका लागि राजनीति मात्र नगरेर जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्छ ।’ दोङले भने । जिल्लामा भएका सम्भावित पर्यटकीय स्थलको अध्ययन गरी त्यसको व्यवस्थापन गर्ने, जिल्लामै पर्याप्त उद्योगधन्दा, कलकारखाना सञ्चालन गरी बिदेसिने युवाहरूलाई स्वदेशमै रोजगारी दिने योजना छ ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रे जिल्लाका सभापति एवं प्रदेशसभा १(ख)का उम्मेदवार तीर्थ लामाले गठबन्धनका तर्फबाट उठाइएका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । उनले नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका उम्मेदवार नभनी गठबन्धनको उम्मेदवार भन्ने ठानेर एक अर्कालाई विजयी गराउन आग्रह गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















