आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काभ्रेको सबै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । काभ्रेको दुवै निर्वाचन क्षेत्रमा ‘राजावादी भर्सेज गणतन्त्रवादी’, ‘भ्रष्टाचारी भर्सेज सुशासन चाहने’, ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था चाहने र नचाहने’हरूको प्रतिस्पर्धा मुख्य हुने देखिन्छ ।

प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा १० वर्षे जनयुद्ध र ०६२।०६३ को आन्दोलनको डटेर दमन गर्ने राप्रपाका पूर्व महामन्त्री रेसम लामा र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि जीवन मरणको लडाइँ लड्ने माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सूर्यमान दोङ (लालध्वज) बिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । हुन त बलयगाडाको सपना देख्ने एमाले अध्यक्ष केपी शर्मा ओली र लामाको प्रवृत्ति एउटै हो भन्ने पनि घाम जस्तै छर्लङ्ग छ । निरङ्कुश राजतन्त्र विरुद्धको आन्दोलनको दमनकारी लामा र गणतन्त्रको सपना देख्नु बयलगाडा चढेर अमेरिका जानु जस्तै भन्दै अभिव्यक्ति दिने ओली उस्तै हो भन्ने कुरा समेत अहिले आएर प्रमाणित भएको एमालेकै कार्यकर्ताहरूले बताउन थालेका छन् ।

मुलुकमा संविधान सभाको निर्वाचन भयो, दोस्रो संविधान सभाको निर्वाचनमा राप्रपाको तर्फबाट लामा संविधान सभाको सदस्य बने । समानुपातिक सभासद् रहेका उनले राजसंस्थाको वकालत निरन्तर गरे । सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीको विरोध गरे । विरोध मात्र होइन, अतिहिन्दुवादी बनेर धार्मिक स्वतन्त्र माथि समेत धावा बोल्दै आए । धर्म निरपेक्षको मतलब हिन्दु धर्म विरोधी हो भन्दै आन्दोलनको नेतृत्व समेत गर्दै हिँडे । ‘राज्यको कुनै धर्म हुँदैन, राज्यको लागि सबै धर्म समान हो, सबै धर्मलाई सम्मान र समान व्यवहार गर्नु राज्यको दायित्व भएकाेले धर्मनिरपेक्ष राज्य हुनुपर्छ भन्नु हिन्दु धर्मको विरोधी हो भन्दै भ्रम छर्दै हिँडे ।

तर उनको केही सीप लागेन र मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्यो, उनले यसको विरुद्धमा ‘नोट अफ डिसेन्ट’ लेखेर हस्ताक्षर गरे ।

रेसम लामाकाे दोहोरो भूमिका

राजनीतिक शक्तिको वरिपरि बस्न रुचाउने लामाले जनयुद्ध र जनआन्दोलनको दमन गर्ने बेला होस या शान्ति प्रक्रिया आएपछि पनि शक्ति केन्द्रकै वरिपरि रहँदै आएका छन् । उनले २०६२।०६३ को जनआन्दोलनको संस्थागत रूपमै प्रतिकार समिति गठन गर्दै ‘भिजिलन्ते’को नेतृत्व गरेका थिए भने माओवादी जनयुद्धको विरुद्ध समेत तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई खुशी पार्न राम्रै भूमिका खेलेका थिए ।

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको पहिलो आम निर्वाचनमा केपी ओलीसँग भित्री सम्झौता भएपछि र मुख्य शक्ति केन्द्र निर्माण हुने देखेपछि वाम गठबन्धनको पक्षमा उनी खुलेरै लागेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीलाई उनले राम्रै प्रभावमा पारे । प्रचण्डलाई निर्वाचनमा साथ दिने र ओलीलाई सङ्घीयता र गणतन्त्र विरोधी अभियानमा साथ दिने गरी उनले दोहोरो खेल खेलेको पछिल्लो घटना क्रमले प्रमाणित गरेको छ । कम्युनिष्टमा प्रवेश भए पनि आफ्नो मुख्य एजेण्डा राजतन्त्र नै हुने भन्दै आएका थिए ।

एमाले र माओवादी केन्द्रको एकता पछि उनी नेकपाको बागमती प्रदेश कमिटी सदस्य भए । केन्द्रीय सदस्य नबनाएको भनी ओलीको दैलोमा दिनदिनै धर्ना बस्न पुगे पनि ओलीले उनलाई न्याय दिन सकेका थिएनन् । फलस्वरूप नेकपा फुटेपछि उनलाई एमालेले केन्द्रीय सदस्य बनायो ।

एमाले नेता कार्यकर्ता नै असन्तुष्टि

एमाले भित्रको त्यागी र वैचारिक, राजनीतिक र सैद्धान्तिक रूपमा दृढ रहेका नेता तथा कार्यकर्ताहरू रेसम लामालाई पार्टी भित्र प्राथमिकता दिन थालेपछि असन्तुष्टि बनेका छन् । काभ्रे–१ मा सङ्ग्राम लामा, चन्द्र लामा, इन्द्र लामा, जेनिश लामा, नबिना लामा, केशव बडाल जस्ता नेकपा एमालेलाई माया गर्ने नेता कार्यकर्ताहरूलाई पछि राखेर लामालाई अघि सारेपछि चिया पसल, पार्टीको आन्तरिक बैठकहरूमा समेत लामाको कुरा काट्न थालेका छन् । आगामी मङ्सिर ४ गते हुन लागेको आम निर्वाचनमा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ को उम्मेदवार बनाएपछि असन्तुष्टिले सीमा नै नाघेको छ । एमालेले एक्कासि लामालाई उम्मेदवार बनाएपछि पार्टीको छवि बिगार्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

‘प्रतिगामीलाई हामीले नेता मान्नुपर्ने ? यो व्यवस्था ल्याउन हामी आन्दोलन गर्दै गर्दा हामी माथि दमन गर्ने मान्छेको नेतृत्व हामीले स्वीकार गर्नुपर्ने ?’ एक नेताले नाम नलेख्ने सर्तमा भने, ‘हामी प्रतिगामीलाई नेता मान्न तयार छैनौँ ।’

राजावादी र गणतन्त्रवादीको प्रतिस्पर्धा

एमालेका नेता कार्यकर्ताहरूले नै काभ्रे–१ मा राजावादी र गणतन्त्रवादीको प्रतिस्पर्धाको रूपमा आगामी निर्वाचनलाई लिन थालेका छन् । ‘रेसम आज सियो बनेर एमाले भित्र पसेको छ । यो हात्ती बनेर निस्किने छ ।’ एमालेका एक नेताले भने, ‘यी राजावादी हुन्, यो व्यवस्था विरोधी हुन्, हाम्रो पार्टी भित्र ज्ञानेन्द्रको प्रतिनिधिको रूपमा उनको आगमन भएको छ । पार्टीले उनलाई चिन्नै सकेन ।’

काभ्रे–१ मा उनलाई पार्टीले प्राथमिकतामा राखेपछि जनमत घटेको समेत आङ्कलन गर्न थालेको छ । ‘उनैलाई हामीले नेता मान्नुपर्ने रहेछ, किन त्यत्रो सहिदहरूले रगत बगाउनुपर्ने ? हामीले शाही निरङ्कुश सत्ताको गोली थाप्न छाती खुला गरेर आन्दोलनमा लाग्नुको कुनै मूल्याङ्कन भएन ।’ उनले भने, ‘अत्ति भो, अब राजावादीको पछि लागेर जनतालाई झुक्क्याउन सक्दैन ।’

माओवादी केन्द्रका तर्फबाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सूर्यमान दोङ (लालध्वज)को अगाडि फितलो उम्मेदवार उठाएर पार्टीको साख गिराउने काम भएको समेत एमाले कार्यकर्ताहरूले बताउन थालेका छन् ।

रेसमको भर छैन

आफ्नो स्वार्थको लागि गुट र दल परिवर्तन गरिरहने लामालाई एमालेका नेता कार्यकर्ताले नै विश्वास गर्न छाडेका छन् । राप्रपामा हुँदा पनि गुट परिवर्तन गरिरहने लामा एमालेमा प्रवेश गरेपछि अस्थिर व्यक्तिको रूपमा एमाले वृत्तले हेर्न थालेका छन् । एमाले कमजोर हुनेवित्तिकै एमाले मै रहने या नरहनेको ठेगान नभएको भन्न थालेका छन् ।

‘हामी एमालेमा सबैभन्दा तल्लो कमिटीदेखि सङ्गठित हुँदै आएको हौं । हाम्रो रगत पसिना एमालेमा बगेको छ ।’ एक नेताले भने, ‘तर हामीले बगाएको पसिना र रगतको विपक्षमा रहेका, प्रतिगामी प्रवृत्तिको नेतृत्व गरेको रेसम लामाको के भर छ र ? एमाले कमजोर हुने बित्तिकै ऊ कुनै शक्तिशाली पार्टीमा प्रवेश हुनेछ । एमालेलाई माया गर्ने जनताको अपमान त्यतिखेर हुनेछ । त्यसको भागीदार को हुने ?’

यस कारण लालध्वजको विकल्प छैन

प्रतिगामी र निरङ्कुश राजनीतिक पृष्ठभूमिका रेसम लामा र आमूल परिवर्तनको लागि ज्यान हत्केलामा राखेर लडेका क्रान्तिकारी प्रवृत्ति भएका सूर्यमान दोङ उस्तै होइन भन्ने कुरा दुवैको राजनीतिक पृष्ठभूमिबाट प्रस्ट हुन्छ । यो व्यवस्था ध्वस्त पारेर राजसंस्थाको पुनर्स्थापना गर्न चाहने लामा र यो व्यवस्थाको रक्षा गर्न चाहने दोङ उस्तै होइन भन्ने बहस काभ्रेमा चल्न थालेको छ । सामान्य जनता देखि बुद्धिजीवीहरूको तहमा, सचेत राजनीतिक मान्छेहरूबिचमा समेत बहस चल्न थालेको छ ।

काभ्रेको विकासको त कुरै छाडौँ, काभ्रेको भूगोल समेत थाहा नपाएका लामा र काभ्रेको हरेक घरमा पुगेर जनताको सुख दुःख बुझेका दोङ उस्तै होइन भन्ने बहस चल्न थालेको छ । त्यसैले मतदाताहरूले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा दोङको विकल्प छैन भन्न थालेका छन् ।

सकारात्मक प्रभाव पार्न सक्ने ‘क्षमता’ भएका रेसम

लामाको एउटा राम्रो पक्ष सबैलाई सकारात्मक प्रभाव पार्न सक्ने क्षमता भएको नेताको रूपमा बुझ्न थालेको छ । नराम्रो कुरालाई पनि राम्रो हो भनी गर्ने प्रस्तुतिले उनी प्रति जोकोहीलाई पनि आफ्नो पक्षमा राख्न सक्ने कला उनमा देखिन्छ । उनको राजनीतिक पृष्ठभूमि थाहा नपाउनेहरूको लागि उनलाई साही माने पनि उनको पृष्ठभूमि थाहा पाएपछि भने उनलाई विश्वास गर्नेहरू पछुताएको समेत पाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।