नेपाली काँग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष तथा २०७४ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका सिवी लामाले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरुलाई ढुक्कासँग भोट हाल्न अपिल गरेका छन् । तेमाल–६ ठूलोपार्सेलमा लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको घरदैलो अभियान तथा कोणसभालाई सम्बोधन गर्दै नेता लामाले यस्तो अपिल गरेका हुन् ।
लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारहरु रत्न ढकाल र सूर्यमान दोङ माओवादीले मात्र पठाएको उम्मेदवार नभई नेपाली काँग्रेसले पनि पठाएको उम्मेदवार भएकोले कुनै दुविधामा नपरि भोट हाल्न उनले आफ्ना पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई अनुरोध समेत गरे ।
‘रत्न ढकाल र सूर्यमान दोङ माओवादीले मात्र पठाएको उम्मेदवार होइन, उहाँहरु नेपाली काँग्रेसले पनि पठाएको उम्मेदवार हो । काभ्रेमा दुईटा प्रतिनिधि सभा मध्ये एउटामा टिकट पाएको छ ।’ उनले भने, ‘४ वटा प्रदेश सभा मध्ये २ वटामा हामीले टिकट पाएका छौं । ६ वटा मध्ये ३ वटा स्थानमा टिकट पाएको छ, यो नेपाली काँग्रेसलाई पनि उपलब्धिको कुरा हो । त्यसकारण हामी नेपाली काँग्रेसका तमाम साथीहरु निरासा हुनुपर्दैन । ढुक्क भएर गठबन्धनमा भोट हाल्दा हुन्छ ।’
लालध्वज र रत्न ढकाल जित्दा गठबन्धनले जित्ने भएकोले गठबन्धनको नाममा शंका उपशंका नगर्न उनले अनुरोध गरे । ‘यसरी भोट हालेर जित्दाखेरी माननीय रत्न ढकाल मात्रै जित्ने होइन । सूर्यमान दोङ मात्रै जित्ने होइन । गठबन्धनले जित्ने हो । कुनै व्यक्तिले जित्ने होइन, गठब्न्धनले जित्ने हो ।’ नेता लामाले भने, ‘त्यसकारण लालध्वज र रत्न ढकाल अनि गठबन्धनको नाममा शंका उपशंका गर्नुपर्दैन ।’
तेमालमा भएको विकासलाई संस्थागत गर्न पनि रत्न ढकाल र लालध्वजलाई जिताउनुपर्ने बताउँदै उनले गठबन्धनले जितेन भने फेरि संविधान मासेर अधिकार र विकासका कामहरु खोसिने मुलुक कैयौं वर्ष अन्धकारमा बस्नुपर्ने बताए ।
०७४ सालमा आफू र रत्न ढकाल बीच प्रतिस्पर्धा भएको बताउँदै आफू व्यक्तिलाई भन्दा पनि संस्थालाई बचाउन गठटबन्धनलाई भोट माग्न आएको बताए । ‘म ०७४ सालमा रत्न ढकालको प्रतिस्पर्धी थिएँ । अचम्म लाग्न सक्छ, आज रत्न ढकाललाई भोट माग्न आउँदा । तर म कुनै व्यक्तिलाई भोट माग्न आएको होइन, संस्था बचाउनका लागि संस्थालाई भोट माग्न आएको हुँ ।’ उनले भने, ‘लोकतान्त्रिक गठबन्धनलाई भोट माग्न आएको हुँ । भोलि जित्दै गर्दा रत्न ढकालले मात्र जित्ने होइन, हामी सबैले जित्ने हो, लोकतन्त्रले जित्ने हो, त्यसकारण जितको लागि भोट माग्न आएको हुँ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।