नेकपा (माओवादी केन्द्र)का वागमती प्रदेश सचिवालय सदस्य तथा निवर्तमान संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले लोकतान्त्रिक–वामगठबन्धनका उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी गराउन अनुरोध गरेका छन् । तेमाल गाउँपालिका वडा नं. ९ मा लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको भेटघाट तथा कोणसभालाई सम्बोधन गर्दै नेता बामध्वजले यस्तो अनुरोध गरेका हुन् ।
कार्यक्रममा बमध्वजले यो गठबन्धन मुलुकको विकास र समृद्धिको लागि भएको भन्दै गठबन्धन जनताको पक्षमा रहेको दावी गरे ।
‘आज हामी वाम लोकतान्त्रिक गठबन्धनबाट चुनाव लड्दै छौं । यो मुलुकको निम्ति आवश्यक छ । विकास र समृद्धिको लागि आवश्यक छ ।’ उनले भने, ‘यो गठबन्धन लामोसमयको लागि जान सक्छ । यो जनताको पक्षमा छ ।’
वाम गठबन्धनलाई जनताले झन्नै दुई तिहाई दिएको तर केपी शर्मा ओलीले संविधान नै डिलिट गर्न खोजेपछि असफल भएको भन्दै सांसदलाई दुई पटक विघटन गरेकोले सोचेको जस्तो विकासको काम गर्न नसकेको बताए । ‘हिजो वाम गठबन्धन बनाएका थियौं । त्यो बेला हामीले झन्नै दुई तिहाईको सरकार बनायौं तर केपी ओलीले संविधानलाई डिलिट गर्न खोज्यो । सबै प्रकारको अधिकार खोस्न खोज्यो ।’ उनले भने, ‘सांसद विघटन दुई पटक गरेकोले हामीले सोचेको जस्तो विकास भएन । जनताले गरेको अपेक्षा पूरा गर्न सकेन ।’
नेता बमध्वजले कुनै हिच्किचाहट गठबन्धनको साझा उम्मेदवारलाई मतदान गरि विजयी गराउन अनुरोध गरे । आफ्नै वडामा पुगेर उनले प्रतिनिधि सभा तर्फ प्रत्यक्षमा सूर्यमान दोङलाई र प्रदेश सभा तर्फ रत्न ढकाललाई हँसिया–हथौडा चिन्हमा मतदान गर्न सबैमा आव्हान समेत गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















