माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) काभ्रेले काभ्रेका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल समक्ष ५ सुत्रिय माग राख्दै ज्ञापन पत्र बुझाएको छ । जिल्ला इन्चार्ज निरेश लामाको नेतृत्वमा पुगेका विद्यार्थीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय, काभ्रेमा पुगेर सो ज्ञापन पत्र बुझाएका हुन् ।
क्रान्तिकारीले ज्ञापन पत्रमा सडक दुर्घटनामा काभ्रे पनि उच्च जोखिममा देखिएको हुँदा क्षमताभन्दा वढी यात्रु राखेर गाडी चलाउन नपाउने, जिल्लाभर चल्ने गाडीहरूमा अनिवार्य भाडादर टाँस्नु पर्ने, सामान ओसारपसारको बैज्ञानिक भाडादर कायम गर्नु पर्ने, आगामी चैतमा हुने स्ववियु निर्वाचन काभ्रेको निर्वाचन हुने सबै क्याम्पसहरुमा शान्तिपुर्ण ढंगले सप्पन्न गर्नु पर्ने लगायतका मागहरु राखेको छ ।
ज्ञापन पत्र बुझाउन जिल्ला इन्चार्ज लामाको नेतृत्वमा पुगेको उक्त टोलिले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भाग्यन्द्र पुरुष ढकाललाई पनि भेट गरि सडक दुर्घटना न्यूनीकरण लगाएत विभिन्न विषयमा छलफल गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी पौडेल र प्रहरी उपरिक्षक ढकालललाई भेट्न अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य शुसिला स्याङ्बो, जिल्ला सचिवालय सदस्यहरु वसन्त मोक्तन, पृथ्वीराज तामाङ, अनिता ढुङेल, रोमन श्रेष्ठ, रिकेश अधिकारी, रोजल तिमल्सिना, अंकित झा, राजकुमर तामाङ, सज्जन तामाङ, जगन्नाथ अधिकारी लगायतका पुगेका थिए ।
ज्ञापन पत्रको पूर्ण पाठ यस्तो छ
श्री प्रमुख जिल्ला अधिकारीज्यू
जिल्ला प्रशासन कार्यालय,
धुलिखेल, काभ्रेपलाञ्चोक ।
मितिः २०७९।१०।२७
ज्ञापन-पत्र
आम विद्यार्थीहरुको नेतृत्वदायी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सदैव विद्यार्थीहरुको हक अधिकार र समग्र शैक्षिक परिवर्तनका लागि संघर्षित रहेको यहाँहरुमा अवगत नै छ ।
काभ्रेपलाञ्चोक जिल्ला भौगोलिक हिसाबले पनि देशको राजधानीसँग जोडिएको र सबैभन्दा नजिकको जिल्ला हो । यहाँका अधिकांश विद्यार्थीहरु गुणस्तरीय शिक्षाका लागि दिनहु काठमाडौं जानुपर्ने र फर्कनु पर्ने बाध्यता विद्यमान रहेको अवस्था छ । क्षमता भन्दा बढी यात्रु बोक्ने र चरम लापरवाही गर्नाले काभ्रेपलाञ्चोक जिल्ला भित्र बर्षेनी ठुला दूर्घटना घटनेक्रम बढदो छ । आज जनता र विद्यार्थीको भविष्य माथि चरम लापरवाही र खेलवाड अखिल (क्रान्तिकारी) लाई स्वीकार्य हुन सक्दैन ।
तसर्थ आम जनता र विद्यार्थीमाथिको खेलवाड र लापरवाहीलाई अन्त्य गर्न र दूर्घटना जोखिम कम गर्न यसै कार्यालय मार्फत सबै निकायलाई ध्यानाकर्षण गराई निम्न बमोजिम मागहरु तत्कालै पूरा गर्न यो ज्ञापनपत्र पेश गर्दछौं ।
मागहरूः
१. काभ्रेपलाञ्चोक जिल्लाभरी जुनै कुनै रुटमा चल्ने गाडीहरुमा विद्यार्थीहरुलाई विद्यार्थी कार्ड छुट अनिवार्य गर्नुपर्ने ।
२. काभ्रे जिल्लाभरी चल्ने सबै रुटका गाडीहरुमा अनिवार्य भाडादर टाँस्नुपर्ने ।
३. काभ्रे जिल्लाभरी चल्ने रुटका गाडीहरुमा क्षमता भन्दा बढी यात्रु राखेर गाडी चलाउनु नपाउने ।
४. वैज्ञानिक मापदण्ड पालना गरेर सबै भुगोलमा समान भाडादर निर्धारण गर्नुपर्ने ।
५. चैतमा सम्पन्न हुने भनिएको स्ववियु निर्वाचन जिल्लाभरिका सबै स्ववियु हुने कलेजहरुमा सम्पन्न गर्नुपर्ने ।
१५ दिनभित्रमा माथि उल्लेखित मागहरु कार्यान्वयन हुनेमा आशावादी छौं ।
क्रान्तिकारी अभिवादन ।
जिल्ला संयोजक
विश्वनाथ अधिकारी
Comments