नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच बिहीबार (भोलि) साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ । कांग्रेस, माओवादी र समाजवादीबीच बुधबार भएको छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको हो ।

राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिनेगरी पुरानो गठबन्धन सम्बद्ध पार्टीहरु एक ठाउँमा आउने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले बताए । उनका अनुसार कांग्रेस र माओवादीबीच माधव नेपाल र उपेन्द्र यादवलाई सँगै ल्याएर पुरानो गठबन्धनलाई अगाडि बढाउने सहमति भएको छ ।

त्यसमा सिके राउत नेतृत्वको जनमत, नागरिक उन्मुक्ति पार्टीलाई पनि समेटेर मजबुत गठबन्धन बनाएर जाने कांग्रेस र माओवादीले बैठकबाट निष्कर्ष निकालेको उनको भनाइ छ ।

उनले भने, ‘यसका लागि भोलि (बिहीबार) दिनभर माधव नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर, सिके राउत लगायतसँग छलफल हुन्छ । भोलि बेलुकासम्म सबैजना संँगै बसेर सम्झौता गरेर टुंग्याइने छ ।’

धुम्बाराही टू बालुवाटार

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार दिनभर राजनीतिक भेटवार्ताको सरगर्मी बढ्यो । बिहान १० नबज्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु देउवा निवास धुम्बाराही पुगे । कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्कासँग लोसपाका शीर्ष नेताहरुले करिब एक घण्टा वार्ता गरेका थिए ।

लोसपा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने प्रस्ताव लिएर नेताहरु धुम्बाराही पुगेका थिए । लोसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा लगायतका नेताले राष्ट्रपतिका सन्दर्भमा छलफल गरेका थिए ।

सोही समयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको थियो ।

लोसपाका नेताहरु देउवाबाट सकारात्मक जवाफ पाएर फर्किँए । बालुवाटारमा प्रचण्ड र ओलीबीचको छलफल राष्ट्रपतिबारे कुनै ठोस निष्कर्षमा पुग्न सकेन । यता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव दिउँसो धुम्बाराही पुगे ।

कांग्रेस सभापति देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापासँग यादवले छलफल गरेका थिए ।  कांग्रेस नेताहरुसँग यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने गरी सत्ता समीकरण गर्नुपर्ने कुरामा आफ्नो साथ रहने बताएका थिए । त्यसपछि एकीकृत समाजवादी पार्टीका नेताहरु देउवा निवास पुगेका थिए ।

पार्टीको केन्द्रीय सचिवालय बैठक गरेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेससँग छलफल गर्न पुगेका थिए । उनको साथमा नेता प्रमेश हमाल, वेदुराम भुसाल र घनश्याम भुसाल सहभागी थिए ।

पुरानो गठबन्धन ब्युताएर जाने कुरामा सहमत रहेको भन्दै नेपालले आफ्नो पार्टीले के पाउँछ भन्ने प्रश्न छलफलमा गरेका थिए । छलफलमा नेपालले भने, ‘एकीकृत समाजवादीले राष्ट्रपति पाउनुपर्छ भन्ने पार्टीका साथीहरुको कुरा छ । हाम्रो पार्टीले राष्ट्रपतिको प्रस्ताव आए स्वीकार गर्ने निर्णय पनि गरेको छ ।’

जवाफमा कांग्रेस नेताहरुले राष्ट्रपति कांग्रेसले नलिकन पुरानो गठबन्धन ब्युँतिने कुरा सम्भव नभएको बताए ।

राष्ट्रपतिममा आफ्नो दाबी भएपनि पुरानो गठबन्धन ब्युँताउने कुरामा सहमत रहेको नेपालको भनाइ थियो । एकीकृत समाजवादीसँगको छलफलपछि कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे । बालुवाटार छलफलमा पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।