काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा आगामी शैक्षिक सत्रदेखि तामाङ भाषामा पनि पठनपाठन हुने भएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा आगामी शैक्षिक सत्र २०८० देखि तामाङ भाषामा पनि पठनपाठन हुन लागेको हो ।
तामाङ वालवालिकालाई दोस्रो भाषा नेपाली भाषामा शिक्षा आर्जन गर्दा प्रभावकारी नहुने र विद्यालय शिक्षामा अपनत्व महासुस नहुने भएकोले तामाङ मातृभाषामा पठनपाठन गर्न लागेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । ‘आफ्नो भाषामा शिक्षा पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । विद्यालय प्रवेश हुनेवित्तिकै अर्कै भाषामा शिक्षा आर्जन गर्नुपर्दा बालबालिकाकालाई कठिन भएको छ ।’ अध्यक्ष थिङले भने, ‘शिक्षा भनेको ज्ञानको भण्डार हो, जुन भाषामा पढाउँदा सबैभन्दा बढी ज्ञान प्राप्त हुन्छ त्यहीं भाषामा विद्यार्थीलाई शिक्षा दिनु राज्यको दायित्व पनि हो । त्यसैले हामीले शुरु गर्न लागेका हौं ।’
भातृभाषा पठनपाठनका लागि आवश्यक सबै तयारी पुरा भैसकेको उनले जानकारी दिए । यस अघि विभिन्न चरणमा तामाङ मातृभाषामा शिक्षाकोबारेमा गाउँपालिकाले विभिन्न विज्ञ तथा गाउँपालिका भित्रका शिक्षाविदहरुसँग परामर्श, अन्तर्क्रिया, योजना निर्माणका कामहरु गरेको थियो ।
पाठ्यपुस्तक तयारीको काम धमाधम भैरहेको यही महिनाभित्र पाठ्यपुस्तक गाउँपालिकामा पुग्ने पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विष्णु बहादुर अधिकारीले बताए । ‘हामीले तामाङ भाषाको पठनपाठन गर्ने गरी तयारी थालेका छौँ । पहिलो चरणको पठनपाठनसम्बन्धी कार्यशाला पनि सम्पन्न भैसकेको छ । अब छिट्टै पाठ्यपुस्तक छपाई भएर आउँछ ।’ अधिकारीले भने, ‘पाठ्यपुस्तक छपाई भएर आएपछि फेरी एकपटक ब्यापक छलफल गर्नेछौँ । नयाँ शैक्षिक सत्रबाट पठनपाठन सुरु गछौँ ।’
अधिकारीका अनुसार सबै विद्यालयमा तामाङ भाषालाई अनिवार्य नबनाएको र इच्छुक विद्यालयलाई मात्र समावेश गरिएको छ । ‘सबै विद्यालयमा तामाङ भाषाको अनिवार्यता गरिएको छैन् । अहिलेसम्म १९ वटा विद्यालय इन्छुक देखिएका छन् ।’ उनले भने, ‘केही थपिन्छन् भन्ने हाम्रो बुझाई छ । तामाङ भाषा पठनपाठन गराउँछौँ भन्ने विद्यालयमात्रै समावेश गरिएको छ ।’
गाउँपालिकाले १ देखि कक्षा ८ सम्म तामाङ भाषाको पठनपाठन गराउने योजना बनाएको छ । गाउँपालिकाले नयाँ शैक्षिक सत्रबाट कम्तिमा १९ वटा विद्यालयमा तामाङ भाषाको पठनपाठन गर्न लागेको हो । गाउँपालिकामा माध्यामिक तहको ८ वटा, आभारभूत विद्यालय ४ वटा, १–३ र १–५ कक्षासम्म पठनपाठन हुने २६ वटा विद्यालय रहेका छन् ।
यस अघि पुस २९ गते सम्पन्न गाउँपालिकाको ११ औँ हिउँदे गाउँसभाले खानीखोला गाउँपालिकाले स्थानीय भाषा नीति २०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन २०७९ र खानीखोला भाषिक तथा स्थानीय संग्रहालय ऐन २०७९ पारित गरिसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।