तेमाल गाउँपालिकाका गाउँसभाको १३ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष श्री चन्द्र बहादुर तामाङज्यूले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम
(क) नीति तथा कार्यक्रम
सभाका प्रमुख अतिथि माननीय खानेपानी उर्जा तथा सिचाँई मन्त्रीज्यू, आदरणीय सभाका सदस्यज्यूहरु,
गाउँपालिकाको सम्मानित गाउँसभाको १३ औं अधिवेशन समक्ष गाउँपालिकाको भाविसोच एवं जनआकांक्षा समेटिएको गरिमामय गाउँसभाको शोभा बढाइदिनुहुन हाम्रो आमन्त्रणलाई स्वीकार गर्दै पाल्नुभएको प्रमुख अतिथि बागमती प्रदेश खानेपानी, उर्जा तथा सिँचाई मन्त्री माननीय तिर्थ बहादुर लामाज्यू, विशिष्ट अतिथिज्यूहरु, वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका क्रममा गाउँपालिका लाइ विभिन्न सुझाव दिनु हुने कार्यपालिका सदस्यज्यूहरु, गाउँसभा सदस्यज्यूहरु, विज्ञ महानुभव, राजनीतिक दलका प्रतिनिधिज्यूहरु एवं राजनीतिज्ञ, सञ्चारजगत्, नागरिक समाज, निजि क्षेत्र एवं विकास सहयत्री लगायत सम्पुर्ण आमा, बुवा, दाजुभाई तथा दिदी बहिनीहरु एवम् यस सभाको उद्घाटन सत्रमा उपस्थित आदरणीय महानुभावहरुमा गाउँपालिकाको तर्फबाट र मरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु । यस गरिमामय सभामा गाउँपालिकको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न पाउँदा मैले आफुलाई गौरवान्वित महशुस गरेको छु । यस अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलन, राजनीतिक अग्रगमन र लोकतन्त्रको सवलीकरणको क्रममा भएका ऐतिहासिक आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
“सुशासन सहितको विकास आजको आवश्यकता गुणस्तरयुक्त पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्राथमिकता” भन्ने मूल नारालाई आत्मसात गर्दै सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने हाम्रो संकल्प, समस्त गाउँपालिका वासीको समृध्दिको चाहाना र हामीले निर्वाचनका क्रममा हाम्रा मतदाताहरु प्रति अभिव्यक्त गरेका प्रतिज्ञाहरु पुरा गर्ने दिशामा हामीले आगामी आ. व. २०८०/८१ को नीति तथा कार्यक्रमलाई अभिमुख गरेका छौं। यसका लागि दीगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृध्द गाउँपालिका र सुखी जनताको लक्ष्य हासील गर्न सार्वजनिक, निजीक्षेत्र र समुदायको साझेदारी विकास गरिनेछ । गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, स्वच्छ, सफा र सुन्दर गाउँपालिकाको पहिचान कायम राख्ने र योजनावद्ध बजारीकरण तथा वस्ति विकासलाइ यस नीति तथा कार्यक्रमले प्रमुख प्राथमिकताहरुको रुपमा लिइएको छ।
गाउँपालिको भाविसोच एवं जनआकांक्षालाई संवोधन गर्दै सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण क्रममा यस गाउँपालिका भित्र खानेपानी, जलस्रोत सिँचाई क्षेत्रमा देखिएको जटिलतम समस्याको तत्कालिन, अल्पकालिन र दिर्घकालिन समाधानका लागि लगभग ५३ वटा योजनामा बजेट विनियोजन गरि गाउँपालिकाको दीगो विकासमा सहयोग पुऱ्याउनु भएकोमा खानेपानी, उर्जा तथा सिँचाई मन्त्री माननीय तिर्थ बहादुर लामाज्यूलाई हार्दिक आभार व्यक्त गर्दछु ।
(ख) विद्यमान परिवेश
विश्वव्यापीरुपमा फैलिएको कोभिड – १९ महामारीबाट थलिएर माथि उठन लागेको अर्थतन्त्र पुनः युक्रेन युद्ध र सोबाट विश्व आपूर्ति श्रृंखलामा आएको संकुचनले नेपाललाइ समेत प्रभाव पारेको छ । यसबाट संघीय सरकारको राजश्व परिचालनमा प्रभाव पर्न गै स्थानीय तहले पाउनु पर्न वित्तीय हस्तारणमा नकारात्मक असर पुगेको छ ।
नेपालले जनसांख्यिक लाभ लिदै अल्प विकसित मुलुकबाट विकासशील मुलकको श्रेणीमा उक्लिनै लाग्दा हरेक दिन २ देखि ३ हजार युवाहरू रोजगारीको खोजीमा नेपाल छोडेर विदेसिनु पर्ने अवस्थाले हामी सवैलाइ गम्भीर बनाएकोछ । आन्तरिक र वाह्य वसाइ सराइका कारण नेपालका गाउँघरहरू सुनसान वस्तीका रूपमा रूपान्तरित हुन पुगेकाछन । उब्जाउ खेत वारी बाँझो हुन पुगेकाछन । यस सन्दर्भमा युवालाइ देशिभत्रै रोजगारीको अवसर सृजना गर्ने र गाउँघरको बसाइलाइ आकर्षक बनाउने चुनौती हामी सबैको साझा मुद्दा हुन पुगेको छ ।
यस विशिष्ट परिस्थितिमा हामीले हाम्रो अर्थतन्त्रलाई पुनर्उत्थानशील क्रियाकलाप मार्फत अगाडी बढाउदै तिब्र र दिगो आर्थिक विकास गरी समृद्ध तेमालको मुल लक्ष्य हासील गर्नु परेको छ। यसका लागि हाम्रो गाउँपालिका मा स्थानीय आर्थिक विकासका कार्यक्रमलाइ विशेष जोड दिनु पर्ने अवस्था सृजना भएकोछ ।
सेवा प्रवाहलाइ थप प्रभावकारी बनाइ सुशासनको अनुभूति जनमानसमा ल्याउन गाउँपालिकाको क्षमता विकास गर्न समेत अपरिहार्यछ । यसका लागि बिद्युतीय सुशासन प्रणालीलाइ सेवा प्रभावमा ब्यापक र प्रभावकारी बनाउनु पर्ने अवस्था देखिन्छ ।
(ग) विकास तथा समृध्दिको लक्ष्य प्राप्तिका अवसर तथा चुनौती
विद्यमान अवसरहरूः
हाम्रा लागि देहाय बमोजिमका अवसरहरू रहेकाछनः
१. संविधानतः अधिकार सम्पन्न स्थानीय सरकार स्थापना भै २२ वटा एकल अधिकार सहित विविध साझा अधिकार किटान हुनु ।
२. आफ्ना अधिकार क्षेत्रका विषयमा ऐन, कानून तर्जुमा, योजना तर्जुमाको अभ्यास हुनु ।
३. विकास निर्माणका विविध विषयमा नीति कार्यक्रम तथा बजेट सञ्चालन गर्ने अधिकार प्रष्ट हुनु।
४. गाउँपालिका भित्र भौगोलिक तथा सांस्कृतिक विविधता रहनु ।
५. सबै वडामा सडक पूर्वाधारको पहुँच हुनु ।
६. सडक निर्माणमा भएको लगानी संगै गाउँपालिका मा उत्पादित कृषिजन्य उत्पादनलाइ बजार सम्मको पहुँच स्थापित हुनु ।
७. घरहरूको निर्माणमा भवनसंहिता पालना हुने क्रम बढनु तथा नक्सापास गर्न नागरिकको आकर्षण बढ्नु ।
विद्यमान चुनौतीहरूः
हाम्रा सामु देहाय बमोजिमका चुनौतीहरू रहेकाछनः
१. रोजगारउन्मुख सीपमूलक शिक्षाको विकास गर्नु ।
२. बजारको सूचना कृषकलाई समयमा नै उपलब्ध गराउनु ।
३. गुणस्तरीय बीउबिजन / मलखाद समयमा नै उपलब्ध गराउनु ।
४. युवा जनशक्तिलाइ कृषि ब्यवसाय प्रति आकर्षित गर्नु ।
५. ब्यावसायिक कृषकको संख्या वृद्धि गर्नु ।
६. वैदेशिक रोजगारीबाट फर्केका सीप युक्त युवाको सीप तथा पुँजीलाइ उद्यम विकासमा उपयोग गर्नु ।
७. निर्माण भएको पूर्वाधारको मर्मत संभार पद्धतिको विकास गर्नु ।
८. सडक लगायतका पूर्वाधारको उपयोग योजना, डिजाइन तथा ड्रइङ बिना गरिने सडक तथा अन्य पूर्वाधारका संरचना निर्माणको कार्यलाई रोक्नु ।
९. भिरालो ठाउँ, बाढी पहिरो तथा डुवान लगायतका प्रकोपको उच्च जोखिम भएका वस्तीमा भवन निर्माण कार्यलाई रोक्नु ।
१०. अव्यवस्थित बस्ती बिस्तारको क्रम रोक्नु तथा व्यवस्थित बस्ति विकास गर्नु ।
११. बैज्ञानिक, जलवायु उत्थानशिल तथा व्यवहारीक एवम् उपयुक्त भूउपयोग योजना तर्जुमा गरी लागू गर्नु।
१२. सञ्चार सेवा प्रदायक संस्थाहरू बाट प्रभावकारी सेवा प्राप्ति र व्यवस्थित गर्नु ।
१३. प्राकृतिक स्रोत तथा नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को मापदण्ड अबलम्बन नगरि अत्यधिक दोहन रोक्नु ।
१४. विभिन्न कालखण्डमा गाउँपालिका मा निर्माण भएका पुर्वाधारका संरचना (पूँजीगत
सम्पति) को लगत तयार तयार गर्नु, मुल्यांकन गर्नु तथा सेवा प्रभावमा प्रभावकारी उपयोग सम्बन्धी योजना (Asset Management Plan) तयार गरी कार्यान्वयन गर्नु ।
(घ) नीति तथा कार्यक्रम तर्जुमाका आधारहरू
नेपालको संविधानमा स्थानीय शासन सम्बन्धी उल्लेख भएको नीतिगत ब्यवस्था, सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले आवधिक, वार्षिक तथा रणनीतिक योजनाहरू बनाई लागू गर्दै जानुपर्ने प्रावधान, राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, पन्ध्रौं आवधिक योजनाको मूलभूत पक्षहरू अनुसार विभिन्न चरणको सहभागितामूलक प्रक्रियाबाट यस गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम तयार गरिएकोछ ।
पन्ध्रौं योजना, दिगो विकास लक्ष्य २०३० को मार्गचित्र, गाउँपालिकाको आवधिक योजना, गाउँपालिका ले कार्यान्वयनमा ल्याइएका कानुनी प्रावधान समेतलाइ ध्यानमा राखी यो नीति तथा कार्यक्रम ल्याइएकोछ । गुणस्तरीय पूर्वाधार विकास निर्माणको कार्यमा गाउँपालिका भित्रका आम उपभोक्ताहरु, सर्वसाधारण जनता, उद्योगी ब्यवसायीहरु, सामाजिक संघसंस्थाहरु तथा विकास साझेदारहरूको निरन्तर सहयोग रहदै आएको छ। विकास र सुशासनको लागि जनप्रतिनिधिहरुले स्पष्ट दृष्टिकोण सहित अगुवाई गर्ने हो भने प्रशासनिक संयन्त्रले त्यसलाई प्राविधिक तथा कानुनी ढाँचा भित्र आवद्ध गराउने हो। आम नागरिकहरुले साथ सहयोग, सुझाव दिने हो। जनसहभागीता एवं जनपरिचालनको क्षेत्रमा गाउँपालिका ले कायम गरेको इतिहासलाई अक्षुण्ण राख्दै शासकीय प्रबन्धमा जवाफदेहिता, पारदर्शिता, गुणस्तरीयता एवं स्वच्छतायुक्त जनसहभागीता सुनिश्चित गरिने छ।
गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्भेक्षण (O & M) लाई अद्यावधिक रुपमा अध्ययन गरी छरितो एवं चुस्त संगठन संरचना मार्फत प्रशासनिक तथा चालु खर्चलाई मितब्ययी बनाइनेछ ।
यसबाट सेवा प्रवाहलाइ प्रभावकारी तथा विकेन्द्रित तुल्याउदै पूँजीगत खर्च बढाउने नीति लिइएको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान एवं वित्तिय हस्तान्तरणको उच्चतम र प्रभावकारी परिचालन एवं उपयोग गर्दै वित्तिय आत्मनिर्भरता कायम गर्न प्रयत्न गरिने छ।
यस गाउँपालिकाले आफ्नो क्षेत्रमा समृद्ध, समावेशी, स्वच्छ, सुरक्षित, स्वावलम्बी र सुशासित समुदाय निर्माण गर्ने उद्देश्य लिएकोछ। जनताको मौलिक अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि सहभागिताका माध्यमबाट पारदर्शिता र जवाफदेहीतालाइ जोड दिइनेछ ।
(ङ) चालु आ.व. ०७९ । ८० को हालसम्मका प्रमुख उपलब्धीहरूको संक्षिप्त विवरण भौतिक उपलब्धि
भौतिक पूर्वाधार विकास (सडक, खानेपानी, सिंचाइ ) का क्षेत्रमा भएका उपलब्धी
सडक यातायातः
यस गाउँपालिका मा हाल सम्म ०.१८ किमि पक्कि सडक, २१ कि.मि. सडक स्तोन्नती र ५.७ कि.मी नयाँ ट्र्याक सडक रहेकोछ । गाउँपालिका का सबै वडामा सडकको पहुँच पुगेकोछ।गाउँपालिका ले विभिन्न वस्ती र पर्यटकीय क्षेत्रहरूमा समेत सर्वयाम गाडी चल्ने
सडक पूर्वाधार विस्तार गरेकोछ । गाउँपालिका बाट अन्य गाउँपालिका तथा प्रमुख राजमार्ग सम्मको सडक पहुँचलाई सुदृढ बनाइएकोछ ।
खानेपानी, उर्जा तथा सिँचाई:
गाउँपालिका का विभिन्न वडामा गरी अनुमानित कूल ८.५२ हे. मा सिंचाइ सुविधा प्राप्त हुने अवस्था सृजना भएकोछ । जलवायु परिवर्तनको प्रभावका कारण डिजाइन अनुसार पानी प्राप्त हुने कुरामा चुनौती थपिएकोछ ।
सामाजिक विकास (शिक्षा, स्वास्थ्य, लक्षित समूह) का क्षेत्रमा भएका उपलब्धी
गाउँपालिका मा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया शुरु गरिनेछ ।
कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवा लगायत शिक्षा, स्वास्थ्य, योजना आदिमा सूचना प्रविधिको प्रयोग भएकोछ ।
१८ दिने नसर्ने रोग सम्बन्धी क्याम सञ्चालन गरीएकोमा २८१८ जनाको सहभागीता भएकोमा ६३६ जनाको उपचारको दयारमा ल्याएकोछ ।
तेमाल गाउँपालिकामा VIA ६०० जना महिलाहरुमा गरिएको परिक्षणमा ५५ जना महिलाहरुमा VIA पोजिटिभ पाइएकोमा सो ५५ जनालाई उपचारको व्यवस्था गरिएकोछ आँखा शिविरमा ५५ जनाको मोतिविन्दुको अपरेशनको व्यवस्था गरिएको ।
विकासका विभिन्न क्षेत्रमा महिला तथा युवाहरूको संलग्नता बढेकोछ ।
युवाहरूको खेलकुदमा संलग्नता बढाउनका लागि खेलकुद मैदान निर्माण भएका छन ।
आर्थिक विकास (कृषि, उद्योग, पर्यटन, सहकारी, रोजगार, ) का क्षेत्रमा भएका उपलब्धी
कृषि यन्त्र वितरण तथा विउविजान वितरण गरिएको । पशुपन्छी सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइएको ।
कृषि सहकारीसंस्थालाइ ब्यावसायिक कृषि तथा पशुपालनका क्षेत्रमा लगानी गर्न उत्पेरित गरिएकोछ । गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्ध्दन गर्ने कामलाइ व्यवस्थित रूपमा कार्यान्वयनमा ल्याइएकोछ ।
रोजगारी सृजना गर्न गाउँपालिका भित्र रहेको श्रम शक्तिको लगत तयार गरि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएकोछ ।
सूचना तथा प्रविधि शाखा
कार्यालयमा स्थापित प्रविधिको पूर्वधार, उपकरणहरुको व्यवस्थापन र नियमित राख् प्राविधि सहयोग प्रदान गरिएको ।
स्थानीय तहको Website, Software, System को नियमित सञ्चालन र अध्यावधिक गर्ने सहि अभिलेख तथा प्रतिवेदन तयार गरिएकोछ ।
स्थानीय तहको आफ्नै Server System, Web Mail, IPpone and IP camera को नियमित सञ्चालन गरिएकोछ ।
वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन
वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलाधार ब्यवस्थापनलाइ समेटने गरी पर्यापर्यटनको विस्तार गरिएकोछ ।
गाउँपालिकामा रहेका १५ सामुदायिक वनमा उपयोग र संरक्षण सहितको वैज्ञानिक वन व्यवस्थापनका अभ्यासहरू प्रारम्भ गरिएकोछ ।
रोजगार सेवा केन्द्रबाट भएको उपलब्धी
रोजगार सेवा केन्द्रबाट आ.व. ०७९ । ८० मा ९० जना वेरोगार व्यक्तिहरुलाई रोजगार प्रदान गरिएको छ ।
यस यस सेवा केन्द्रबाट १ जनाको श्रमः स्वीकृत भएको छ ।
सुशासन तथा संस्थागत विकास (कानूनी व्यवस्था, राजश्व परिचालन, संगठन संरचना, सार्वजानिक निजी साझेदारी एवं समन्वय) भएका उपलब्धी
गाउँपालिकाले ८ वटा ऐन, २ वटा नियमावली र ११ वटा कार्यविधिहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याएकोछ | तेमाल गाउँपालिकाको न्यायिक समितिमा आ.व. २०७९/८० श्रावणदेखि हालसम्म जम्मा दर्ता भएको उजुरीहरु १६ वटामध्ये निवेदन दोहोरिएर आएको, एउटै विषयमा दुवै पक्षबाट दर्ता भएको न्यायिक समितिले ९ वटा मिलापत्र तथा निर्णय गरेको, सम्बन्धित वडा तथा मेलमिलाप केन्द्रले ३ वटा मिलापत्र गराएको, २ वटा पक्षहरुको उपस्थित नभएकोले म्याद नाघेका र अन्य बाँकी २ वटा छलफल प्रक्रियामा रहेका छन्। न्यायिक समितिले आर्थिक वर्ष २०७९/८० मा मेलमिलापकर्ताहरुलाई सूचिकृत तथा अद्यावधिक गरी पुनतार्जगी तालिम कार्यक्रम सम्पन्न गरेको छ।तेमाल गाउँपालिका न्यायिक समितिमा सूचिकृत भएका ५० जना मेलमिलापर्ताहरुलाई डिजिटल परिचयपत्र तथा पालिकास्तरीय न्यायिक समिति तथा मेलमिलापकर्ताहरुको फ्लास फ्रिन्ट वितरण कार्यक्रम सम्पन्न गरिएको छ।गाउँपालिका ले संगठन तथा ब्यवस्थापन सर्वेक्षण गरी सो अनुसारको संगठन संरचना, जनशक्ति र कार्यविवरण तयार गरी कार्यान्वयनमा ल्याएकोछ । यस गाउँपालिकाले गत आ.व. २०७८।०७९ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ६७ (सड्सट्टि) र स्थानीय तह वित्तीइ सुशासन जोखिम मूल्यांकन (FRA) मा ७१.५ अंक प्राप्त गरेको छ ।
राजश्व सुधार कार्ययोजनाको कार्यान्वयनबाट आन्तरित राजश्व स्रोतको दायरामा वृध्दि भएकोछ ।
(च) आगामी आ.व. को प्रमुख नीति तथा कार्यक्रमहरू
आदरणीय सदस्यज्यूहरु अब म आ. व. २०८०/८१ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु ।
१. सामाजिक विकास सम्बन्धी नीति तथा कार्यक्रम
क. शिक्षा
१. आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवनपयोगी सीपमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रूपमा शुरूआत गर्ने र क्रमशः सवै विद्यालयमा सो अनुसारको पठनपाठनको ब्यवस्था मिलाइनेछ ।
२. तेमाल गाउँपालिका भित्रका आधारभूत तथा मध्यामिक विद्यालयहरुमा विद्युतीय हजिरीलाई व्यवस्थापन गर्दै लगिनेछ ।
३. शिक्षा नियमावली, शिक्षा नीति, बहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवं प्रवर्द्धन गरिने छ।
४. गाउँपालिका को स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागु गरिनेछ। त्यस्तो पाठ्यक्रममा अतिरिक्त क्रियाकलाप र विविध समुदायका जातिय तथा सांस्कृतिक पहिचानहरुको बोध गराउन अवलोकन भ्रमण पद्धतिबाट अभ्यास कक्षा र प्रयोगात्मक शिक्षा दिन जोड दिइनेछ ।
५. विद्यालय बाहिर रहेका र बिच मै विद्यालय छोड्ने बालबालिकाहरुलाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गरिनेछ।
६. विद्यालयहरुको भौतिक पूर्वाधार, स्वास्थ्य तथा सरसफाईको सुविधा र आधारभुत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरुको ब्यावसायिक क्षमता विकासको लागि लगानी गरिनेछ।
७. संस्थागत विद्यालयहरुको विभिन्न सूचकहरुको आधारमा वर्गिकरण गरी वैज्ञानिक ढंगले शुल्क निर्धारण गरी लागु गरिनेछ।
८. अंग्रेजी माध्यमबाट शिक्षा दिन इच्छुक सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा शिक्षक दरबन्दी लगायतका कार्यमा प्रोत्साहन दिई निजी विद्यालय सरह सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गरिनेछ।
९. विषयगत शिक्षकहरुको अभिलेख व्यवस्थापन गरी गाउँपालिका को शैक्षिक विकासमा उनीहरुको अनुभवलाई उपयोग गरिनेछ।
१०. संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई श्रम ऐनले तोके बमोजिम न्यूनतम पारिश्रमिक उपलब्ध गराउने नीति कार्यान्वयन गरिनेछ ।
११. सामुदायिक विद्यालयहरुमा शिक्षक विद्यार्थी अनुपातमा विषयगत दरबन्दी मिलान एवं शिक्षक सरुवालाई व्यवस्थापन गरिनेछ।
१२. “उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान” भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि सरकारी तथा निजी क्षेत्रका शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने उच्च शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गरिनेछ ।
१३. विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण गर्दा बालमैत्री तथा अपाङ्गतामैत्री संरचना निर्माण गरिनेछ।
१४. सबै विद्यालयहरुमा पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापनाको नीति लिइनेछ।
१५. गाउँपालिका क्षेत्र भित्रका गुरुकुल, मदर्शा र गुम्बा जस्ता शिक्षालयहरुको स्तरोन्नती गर्दै लगिनेछ ।
१६. शैक्षिक प्रणाली मै रूपान्तरण ल्याउन पाठ्यक्रम विकास, पठनपाठनको ब्यवस्थापन, अतिरिक्त क्रियाकलाप ब्यवस्थपान, शैक्षिक पात्रो ब्यवस्थापन, अद्याविधक स्रोत ब्यवस्थापन, विद्यालय-अविभावक विचको सञ्चार ब्यवस्थापन, अनलाइन शिक्षण तथा सिकाइ र दस्तावेजीकरण लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शैक्षिक ब्यवस्थापन सूचना प्रणाली (EMIS) लागु गर्ने नीति अवलम्बन गरिनेछ।
ख. संस्कृति सम्बन्धी नीति तथा कार्यक्रम
१. गाउँपालिका लाई खुल्ला बहुसांस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्दा बहुसांस्कृतिक पहिचान र मौलिकता झल्किने वास्तुकला, मूर्तिकला, चित्रकला जस्ता symbol हरु निर्माण गरिनेछ ।
२. गाउँपालिका भित्र बोलिने विभिन्न जातजातिका मातृ भाषाहरुको संरक्षण गर्दै त्यस्ता भाषाको लिपी तथा व्याकरण लेखन तथा प्रकाशन गर्ने नीति लिइनेछ।
३. गाउँपालिका भित्र आयोजना हुने कार्यक्रहरुमा विविध जातीय भेषभुषा, कला साहित्य, संगित लगायतको झाँकी सहित प्रदर्शन गर्ने नीति लिइनेछ ।
४. तेमाल गाउँपालिका तामाङ समुदायको उच्चतम स्थल भएकले तामाङ समुदायको पहिचान झल्किने गरी सर्वजानिक, निजि तथा समुदायको सझेदारीमा एक अन्तराष्ट्रिय तामाङ साँस्कृतिक केन्द्रको स्थापना गर्ने लक्ष्य तथा नीति लिइनेछ
ग. युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम
१. खेलकुदको विकास गर्न विभिन्न खेलहरुका लागि खेलकुद मैदान लगायतका खेल पूर्वाधार निर्माण तथा मर्मत सम्भार गरिनेछ ।
२. विषयगत खेल पुरस्कार राशीहरु स्थापना तथा दिगो व्यवस्थापन गर्दै जाने नीति लिइनेछ।
३. विभिन्न किसिमका दुर्व्यसनमा परेका युवाहरुलाई निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक कार्यक्रमहरु मार्फत दुर्व्यसन मुक्त गराई समाजमा पुनस्थापनाको प्रबन्ध मिलाइनेछ।
४. वैदेशिक रोजगारबाट फर्केका युवाहरुले आर्जन गरेको ज्ञान र सिप सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि गाउँपालिका को स्थानीय आर्थिक विकास योजना अन्तर्गत समावेश भएका नवप्रवर्तनशील, लगायतका प्रोत्साहनमुखी कार्यक्रम संग आवध्द गरिनेछ।
५. युवा उद्यमशिलता विकासका कार्यक्रमहरु मार्फत युवालाई “विदेश हैन बिजनेस” भन्ने भावना जागृत तुल्याई स्वरोजगार उन्मुख गराइनेछ।
६. युवा बेरोजगारी न्यूनिकरणका लागि सरकारी, गैरसरकारी, सहकारी तथा
क्षेत्रको समन्वय र सहकार्यमा सिप तथा उद्यमशील क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
७. विपन्न र गरिब परिवारका युवाहरुलाई इलेक्ट्रोनिक्स सामाग्री मर्मत, प्लम्बिङ्ग तथा इलेक्ट्रिसियन, ब्युटि पार्लर, होटल म्यानेजमेन्ट, ब्यावसायिक पशु पालन तथा तरकारी खेती जस्ता तालिमहरु प्रदान गरी गरीबी न्यूनिकरण र जिविकोपार्जनमा सहजीकरण गरिनेछ ।
८. गाउँपालिका का गौरवका रुपमा रहेका खेलकुद प्रतियोगिताहरु आयोजना गर्न सहकार्य र साझेदारी गरिनेछ ।
घ. लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रम
१. लैङ्गिक विभेद अन्त्य गर्दै लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गरिनेछ।
२. महिला, बालबालिका, अल्पसंख्यक, भूमिहिन, अति गरिब, आदिवासी जनजाति, दलित र सामाजिक बहिस्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरु संचालन गरिनेछ।
३. ऐतिहासिक कालदेखि दलित तथा शील्पी समुदायले, जीवन निर्वाहको रुपमा अपनाइ आएका परम्परागत पेशालाई व्यवसायिक उद्यमको रुपमा विकास गर्न पुँजि लगानी सहयोग गरिनेछ।
४. अपाङ्गता पुनस्थापनाको लागि पुनर्स्थापन गृह स्थापना गरिनेछ।
५. ज्येष्ठ नागरिक परिचयपत्र वडास्तरबाट नै उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
६. गाउँपालिका लाई सडक मानव मुक्त गाउँपालिका बनाइनेछ।
७. हिंसा पिडित महिला तथा बालबालिकाको लागि एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना गरिनेछ।
८. “हिंसा मुक्त गाउँपालिका हाम्रो पहिचान” अभियान संचालन गरी सबै प्रकारका हिंसा विरुद्ध शुन्य सहनशिलता नीति लिइनेछ। पारिवारिक हिंसाद्वारा पिडितको संरक्षणका कार्यक्रम संचालन गरिनेछ।
९. गाउँपालिका को बजेट तथा कार्यक्रममा लैङ्गिक परीक्षण गर्ने व्यवस्था मिलाइनेछ।
१०. महिला उद्यमसीलता विकासका लागि महिलाद्वारा प्रवर्द्धित व्यवसायमा निश्चित प्रतिशत कर छुटको व्यवस्था गरिनेछ।
११. गर्भवती महिलाहरुको लागि आमा सुरक्षा कार्यक्रम र नवजात शिशुको लागि पोषण कार्यक्रम संचालन गरिनेछ ।
१२. गाउँपालिका तथा वडास्तरीय बाल क्लब संजाललाई प्रभावकारी रुपमा
परिचालन गरिनेछ।
१३. हरेक वडामा एउटा बाल उद्यान निर्माण अभियान संचालन गरिनेछ।
१४. बालविकास केन्द्रहरुको भौतिक पूर्वाधार स्तरोन्नति गरिनेछ।
१५. जनयुद्ध/जनआन्दोलनका शहिद, घाइते आपाङ्ग र वेपत्ताहरुको पहिचान एवं अभिलेखीकरण गरी नीजहरुको आवश्यक परीपूरणको व्यवस्था मिलाइने नीति लिइनेछ ।
ङ स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम
१. नागरिकको पहुँच सुनिश्चित हुने गरी गाउँ गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्न अस्पताल, प्राथमिक स्वास्थ्यकेन्द्र, आधारभूत स्वास्थ्य केन्द्र स्थापना तथा स्तरोन्नती गरी रोकथाम, निदान र पुनर्स्थापन सेवालाइ सहज र नियमित बनाइनेछ ।
२. तेमाल गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सूचना प्रविधिमैत्री बनाइनेछ ।
३. गाउँपालिका भित्र रहेको खोप केन्द्र, गाउँघर क्लिनिकहरुमा आश्यक पूर्वाधार निर्धारण गरी दक्ष जनशक्तिद्धारा समुदायमा नै स्वास्थ सेवा उलब्ध गराउने नीति लिइनेछ ।
४. जेष्ठ नागरिक अध्यक्ष कार्यक्रम सञ्चालन गरिनेछ ।
५. आमा सुरक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ । ६. महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रदान गर्दै आइरहेको प्रोत्सहनलाई थप गर्दै सेवा प्रवाहलाई गुणस्तरीय बनाउदै लैजाने निति लिइनेछ ।
७. तेमाल गाउँपालिका भित्र रहेको सम्पूर्ण स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८०।०८१ देखि लेखापरिक्षण गर्ने व्यवस्था मिलाउने नीति लिइनेछ ।
८. महिला सम्बन्धी पाठेघर क्यान्सर र स्तन क्यानसरको परिक्षण र उपचारको व्यवस्था गरिने नीति लिइनेछ ।
९. गाउँपालिका भित्र सकृय रहेको आमा समुहरुलाई तालिमको व्यवस्था गरिनेछ ।
१०. महामारी रोग नियन्त्रण गर्न आवश्यक बजेटको व्यवस्था गरिने नीति लिइनेछ ।
११. नसर्ने रोग नियन्त्रणका लागि परिक्षण र उपचारको व्यवस्थालाई निरन्तरता दिइने नीति लिइनेछ ।
१२. मानसिक स्वास्थ्य सम्बन्धी रोगहरु पहिचान गरी उपचार र उद्धारको लागि दक्ष जनशक्ति परिचालन गरिने नीति लिइनेछ ।
१३. नागरिकहरुलाई मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने छ ।
१४. सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको नियमित स्वास्थ परिक्षण गर्ने व्यवस्था
मिलाइनेछ।
१५. बर्थिङ्ग सेन्टर र स्वास्थ क्लिनिकहरुको सेवालाइको स्तरोन्नति गर्ने क्रममा प्रयोगशाला सहितको सेवा उपलब्ध गराउने कार्यक्रम संचालन गरिनेछ।
१६. नेपाल रेडक्रस सोसाइटी सँग सहकार्य गरी रक्त सञ्चार सेवालाई सहज तुल्याइनेछ।
१७. आर्थिक रुपमा अति विपन्न गाउँपालिका वासीहरुको स्वास्थ जाँच र उपचारका लागि निजहरुलाई अस्पताल ल्याउन – लैजान एम्बुलेन्स सेवाको प्रबन्ध गरिनेछ।
१८. अर्गानिक खेतिको विस्तार र तरकारी तथा खाद्यान्नमा विषादीको उचित व्यवस्थापन गर्न विशेष व्यवस्था गरिनेछ।
१९. गाउँपालिका क्षेत्र भित्र हुने परम्परागत औषधीजन्य वनस्पतिको संरक्षण, खेति प्रवर्द्धन र प्रशोधणका कार्यहरु संचालन गरिनेछ ।
२०. महिला स्वयंसेविकाहरुको दक्षता विकास तालिम उपलब्ध गराई उनीहरुको सेवालाई प्रभावकारी तुल्याइनेछ।
२१. स्वास्थ्य संस्थाहरुको प्रभावकारी सेवा विस्तारका लागि सार्वजनिक संस्था निजी क्षेत्र र गैरसरकारी संस्थाहरुसँग सहकार्यको नीतिलाई निरन्तरता दिइनेछ ।
२२. स्वास्थ्य क्लिनिकहरुले प्रदान गर्ने आधारभुत सेवाहरुको शुल्कलाई नियमन गरिनेछ।
२३. स्वास्थ्य चौकीहरुमा ल्याब सेवा सञ्चालनका लागि विशेष व्यवस्था गरिनेछ।
२. आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रम
२.१ स्थानीय आर्थिक विकासलाइ योजनावद्ध रूपमा कार्यान्वयनमा ल्याइनेछ । यस
अन्तरगत स्थानीय प्रतिस्पर्धी वस्तु वा सेवाको सहभागितामूलक पहिचान गरी ती वस्तु वा सेवाहरूको समग्र मुल्य श्रृङ्खला ( उत्पादन देखि बजारीकरण सम्म) मा गाउँपालिका, निजीक्षेत्र, र सहकारी ( समुदाय ) समेतको सहकार्यमा स्थानीय आर्थिक विकासका योजना अन्तरगतका कार्यक्रमहरू सञ्चालन गरिनेछन ।
२.२ उल्लिखित बमोजिम स्थानीय आर्थिक विकासका सम्भावनाहरूको पहिचान र ब्यावसायिक परिचालनका लागि गाउँपालिकाले विशेष पहल गर्नेछ । यसका लागि स्थानीय तहमा ब्यावसायिक वातावरणको विकास गर्न गाउँपालिकाले नीजिक्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी (समुदाय समेत) को सहभागिता रहने गरी एक स्थानीय आर्थिक विकास सम्वाद मञ्च गठन गर्नेछ ।
२.३ नव प्रवर्तन र उद्यमशीलता प्रवर्धन गर्न स्टार्टअप इकोसिष्टमको विकास गर्न
उद्यमशाला सञ्चालन गरिनेछ । यस अन्तरगत स्थानीय आर्थिक विकास पूर्वाधार निर्माण, आर्थिक सशक्तिकरण तथा वित्तिय साक्षरता सहितको सीप विकास, उद्यमशीलता विकास तथा नव उद्यमशीलता प्रवर्द्धन र विशिष्टिकृत वस्तुको उत्पादन तथा वजारीकरण समेटिनेछन ।
क. उद्योग तथा पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम
१. औधोगिक तथा ब्यावसायिक विकासका लागि गाउँपालिका उद्योग वाणिज्य संघ सँग साझेदारीको नीति लिइनेछ । औधोगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडी बढाइनेछ।
२. औधोगिकग्राम पूर्वाधार निर्माण कार्य सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालन गरिनेछ । गाउँपालिका जनताको मागलाई मध्यनजर गर्दै सबै प्रकारका सुरक्षा सुनिश्चितताका साथ स्थानीय सरकार र उद्योग वाणिज्य संघसँगको सहकार्यमा सघन बजारक्षेत्रको सुरुवात गरिनेछ।
३. उद्योग व्यवसाय दर्ता, नविकरण, स्थानान्तरण तथा नामसारी जस्ता प्रशासनिक प्रकृयालाई सूचना प्रविधिको प्रयोग गरी सरलीकरण र प्रभावकारी बनाइनेछ ।
४. लगानीमैत्री नीति तथा औधोगिक पूर्वाधार सुदृढीकरण गर्दै उद्योग तथा पर्यटनको विकासको नीति निइनेछ ।
५. सम्पूर्ण स्वदेशी कच्चा पदार्थ गरी उत्पादन गर्ने साना तथा मझौला उद्योगहरुलाई उत्पादन स्थलसम्म सडक पूर्वाधार तथा विद्युतिकरणको पहुँच पुराइनेछ।
६. पर्यटन मार्फत आर्थिक समृद्धि हासिल गर्न गाउँपालिका को पर्यटन गुरुयोजना तर्जुमा गरी सोही आधारमा पर्यटन पूर्वाधार विस्तार र पर्यटन विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
७. गाउँपालिका क्षेत्र भित्रका पर्यटकीय स्थलहरु जोड्न पर्यटकीय सडक संजाल कार्यान्वयन प्रारम्भ गरिनेछ ।
८. विभिन्न जातजातिको जातजाति परम्परागत पर्व, संस्कार र संस्कृतिहरुको प्रवर्द्धन गरिनेछ।
९. विभिन्न जातजातिहरुको ऐतिहासिक, सांस्कृतिक, धार्मिक पहिचान अवगत गराउन पर्यटकहरुलाई होमस्टेसहित स्थानीय अर्गानिक तरकारी तथा अन्य खाद्य उत्पादनपाहुनाको रुपमा राख्न घर छनौट गरिनेछ।
१०. मुख्य स्थान चोक र गाउँपालिका प्रवेशद्वारहरुमा पर्यटकीय क्षेत्रको परिचय सहित पर्यटक आकर्षण गर्न डिजिडल डिस्प्ले / बिलबोर्ड राखिनेछ ।
११. गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि डकुमेन्ट्री प्रसारण र ब्रोशर हरुको वितरण गरिनेछ।
१२. अन्तर गाउँपालिका सम्बन्ध प्रवर्द्धन गर्दै अन्य स्थानीय तहहरुका असल अभ्यासलाई अनुसरण गरी पर्यटन प्रवर्द्धन गर्न थप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गाउँपालिका हरुसँग भगिनी सम्बन्ध विस्तार गरिनेछ।
१३. तेमालको पहिचान स्थालहरु तथा गुरु पद्म संवतले तपस्य गरेको भूमी घेलुङ पहारा, तोङसुम कुण्डा, स्यापजे गुम्बा, सत्यनायारण मन्दिर, रोसाइवा, तामाङ संग्रहालय तथा दोर्जेग्याङ गुम्बा लाई पर्यटन प्रवर्द्धन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने नीति लिइनेछ ।
ख. कृषि तथा पशुपंक्षी सम्बन्धी नीति तथा कार्यक्रम
१. उच्च मुल्यका फलफुल, तरकारी तथा अन्नबालीहरुको पकेट क्षेत्रहरु पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरी ती स्थानहरुमा व्यावसायिक कृषि कार्यक्रम संचालन गरिनेछ।
२. रैथाने बालीहरुको विउ संरक्षण, खेती विस्तार र बजारीकरणको लागि विशेष प्रबन्ध मिलाइनेछ। गाउँपालिका भ्रमण गर्ने पर्यटकहरुलाई स्थानीय परिकारको ब्राण्डको रुपमा त्यस्तो खाना उपलब्ध गराइनेछ ।
३. कृषि उपजको आयात प्रतिस्थापनको नीति लिई कृषि तथा पशुपालनलाई आधुनिक प्रविधिमा आधारित तुल्याउदै व्यवसायीकरण गरिनेछ।
४. गाउँपालिका भित्रका कृषकहरुको खण्डिकृत / वर्गिकृत एवं विस्तृत तथ्याङ्क आधार निर्माण गरिनेछ ।
५. उत्पादन लागत, थोक तथा खुद्रा मुल्य विश्लेशण गर्दै विचौलियाबाट उत्पादकमाथि हुने ठगी तथा शोषण नियन्त्रणका लागि मुख्य कृषि उपजको गाउँपालिका भित्र समर्थन मुल्य निर्धारण गरिनेछ। बजारमा हुने मागको जोखिमलाई न्यूनीकरण गर्न ब्यावसायिक कृषकका लागि तोकिएको मुल्यमा बजार व्यवस्थापन गर्न सहयोग गरिनेछ ।
६. ब्यावसायिक कृषि पकेट क्षेत्रमा सिंचाई, कृषि सडक, विद्युतिकरण, कृषि बजार, सित भण्डार तथा गोदाम घरहरुको पूर्वाधार निर्माण गरिनेछ ।
७. मासु पसलहरुको पूर्वाधार स्तरोन्नती गरी स्वास्थ्य मापदण्डमा आधारित तुल्याइनेछ।
८. तरकारी उत्पादनको लागि ब्यावसायिक, करेसावारी, बगरखेती, लागि तालिम, प्रविधि र लगानीको ब्यवस्था सहितको नमूना कार्यक्रम संचालन गरी प्रोत्साहन गरिनेछ ।
ग. सहकारी सम्बन्धी नीति तथा कार्यक्रम
१. सहकारी संस्थाहरुको संस्थागत सुशासन प्रवर्द्धन गर्दै निक्षेपकर्ताहरुको हित संरक्षणका लागि अनुगमनलाई प्रभावकारी तुल्याइनेछ।
२. उत्पादनमूलक सहकारीहरुको स्थापना गरिएमा विउपूजी लगानीको रुपमा
सहयोग उपलब्ध गराइने र वार्षिक उत्पादनका अनुदान दिने नीति लिइने छ।
३. गाउँपालिका भित्र स्थापना हुने कृषि समूह निजी फर्म र सहकारीहरुको दर्ता तथा कार्य क्षेत्र अनुमति जस्ता विषयहरुलाई व्यवस्थित ढंगले अघि बढाइनेछ ।
४. सहकारीहरुको माध्यमबाट उत्पादनशिल क्रियाकलापमा संलग्न नागरिकहरुको पूँजि संकलन तथा परिचालन गरी साना तथा स्वरोजगारीका अवसर श्रृजना गरी गरिबी न्यूनिकरण गर्ने योजनालाई निरन्तरता दिइनेछ।
५. कृषि लगायत विषयगत सहकारीलाइ सो क्षेत्रमा केन्द्रित भै लगानी गर्ने नीतिलाइ कठोर रूपमा कार्यान्वयन गरिनेछ ।
३. भौतिक पूर्वाधार विकास ( आवास तथा पूर्वाधार) सम्बन्धी नीति तथा कार्यक्रम
१. आवधिक योजना, आवास योजना, र वस्ति विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
२. गाउँपालिका तथा वडा कार्यालयहरु जोड्ने रणनितिक सडकहरु निर्माणमा निरन्तरता दिनेछ ।
३. पूर्वाधार निर्माणका आयोजनाहरु संचालन गर्दा लागत-लाभ विश्लेषणका आधारमा
उच्च नतिजा एवं प्रतिफल दिने, समतामुलक विकासको आधारको रुपमा रहने, पिछडिएका र कम विकसित क्षेत्रलाई मूल प्रवाहिकरणमा ल्याउन सहयोग गर्ने आयोजनाहरु पहिचान गरी “आयोजना बैंक” तयार गरिने छ। सो बैंकमा समाविष्ट आयोजनाहरुमा मात्र बजेट विनियोजन गर्ने नीति लिइनेछ ।
४. गाउँपालिका को भूउपयोग क्षेत्र निर्धारण गरी वस्ति विकास योजना सहित भौतिक विकास गुरूयोजना तयार गरी आवास तथा वस्ति विकास, भवन तथा सार्वजनिक निर्माण लगायत पूर्वाधार निर्माण कार्य ब्यवस्थित र गुणस्तरीय रूपमा सञ्चालन गरिनेछ ।
५. दिर्घकालिन लगानी मार्ग दर्शनका लागि गाउँपालिका सडक गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ ।
६. आवासको हकलाइ सुनिश्चत गर्न सुरक्षित तथा रोजगारीको समेत ब्यवस्था हुन सक्ने स्थानमा जग्गा प्राप्त गरी सहुलियत आवास योजना कार्यान्वयन गरिनेछ
। यसका लागि निजीक्षेत्र संग साझेदारी समेत गर्न सकिनेछ ।
७. एकिकृत शहरी तथा वस्ति विकास योजनाद्वारा निर्दिस्ट गरेका पूर्वाधारहरुको निर्माण कार्यका लागि संघीय सरकार, प्रदेश सरकार र साझेदारहरुसँगको सहकार्यलाई निरन्तरता दिइनेछ।
८. गाउँपालिका को विकासमा रुपान्तरणकारी परिवर्तन ल्याउन सक्ने केहि ठुला आयोजनाहरु पहिचान गरी गाउँपालिका गौरव आयोजनाका रुपमा कार्यान्वयन गरिनेछ र त्यस्ता आयोजनामा श्रोतको अभाव हुन दिइने छैन ।
९. विगत देखिका निर्माणाधिन तथा अधुरा योजनाहरुलाई सम्पन्न गर्न क्रमागत रुपमा बजेट विनियोजन गरिनेछ ।
१०. घर निर्माणमा जनताको अनुत्पादक खर्च नहोस् र पुँजी चलायमान होस् भन्ने उद्देश्यले घर निर्माण गर्नु पूर्व नागरिकलाई घरको आवश्यकता, घरको लागत, मापदण्ड र उपयोग सम्बन्धमा निःशुल्क परामर्श दिईनेछ ।
११. नेपाल राष्ट्रिय भवन संहिता २०६०, वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७२, राष्ट्रिय भू-उपयोग नीति, भवन तथा योजना मापदण्ड २०५६ लगायतका राष्ट्रिय प्रादेशिक इवं स्थानीय भूमि व्यवस्थापन तथा भवन नियमन सम्बन्धी ऐन, मापदण्ड तथा निर्देशिकाहरुलाई कडाईका साथ लागु गरी सुरक्षित एवं व्यवस्थित निर्माण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
१२. गाउँपालिका क्षेत्र भित्र आवासीय भवनमा “एक घर एक विरुवा” नीतिलाई निरन्तरता दिइनेछ।
१३. भवन निर्माण अनुमति प्रकृयालाई प्रविधिमा आधारित तुल्याई सहजिकरण गरिनेछ।
१४. गाउँपालिका भित्र भु-उपयोग नीति लागु गर्दै जाने नीति लिइनेछ।
१५. गाउँपालिका भित्र सडकको मापदण्डलाई आवश्यकताको आधारमा कायम गरी सडक मापदण्डको समस्यालाई समन्वय गरी समाधान गरिनेछ।
१६. गाउँपालिका को स्वामित्वमा रहेको भौतिक संरचनाहरुको आवधिक रुपमा मर्मत सम्भार कार्य सम्पन्न गरिनेछ ।
१७. विभिन्न कालखण्डमा गाउँपालिका मा निर्माण भएका पुर्वाधारका संरचना (पूँजीगत सम्पति) को लगत तयार अद्याविधक तथा मुल्यांकन गरी सार्वजनिक सेवा प्रभावमा प्रभावकारी उपयोग सम्बन्धी योजना (Asset Management Plan) तयार गरी कार्यान्वयन गरिनेछ ।
१८. प्रभावकारी सम्पति ब्यवस्थापनका लागि सम्पति ब्यवस्था सूचना प्रणाली (Asset Management Information System) तयार गरी लागु गरिनेछ ।
१९. पूर्वाधारका योजनाको निर्माण तथा सञ्चालनमा निजीक्षेत्र संगको साझेदारीका लागि विभिन्न आयोजना तयार गरि कार्यान्वयन गरिनेछ ।
४. सूचना तथा संचार सम्बन्धी नीति तथा कार्यक्रम
१. स्थानीय सञ्चार गृहहरुको सुदृढिकरण गर्दै संचार सस्था र गाउँपालिका को सहकार्यमा जनहितकारी सूचनाहरु सम्प्रेषण गर्ने, गाउँपालिका का निर्णय तथा सूचनाहरुमा सञ्चार संस्थाहरुको पहुँच बढाई खुल्ला सरकारको नीति लिइनेछ ।
२. विज्ञापन तथा सूचनामा स्थानीय संचार संस्थाहरुलाई प्राथमिकता दिइनेछ।
३. नागरिकहरुको सूचनाको हकको सम्मान गर्दै गाउँपालिका लाई सूचनामैत्रि बनाइनेछ।
५. न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी नीति तथा कार्यक्रम
१. न्यायिक समितिको अधिकार क्षेत्र भित्रका विवादहरुको शीघ्र निरुपण गरी प्रभावकारी न्याय सम्पादन गर्न आवश्यक नीति तथा कानूनहरुको प्रबन्ध मिलाइनेछ।
२. न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीहरुको विषयगत ज्ञान र क्षमता विकासका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
३. सभाबाट हालसम्म निर्माण भएका ऐन कानूनहरुलाई संग्रहित गरी स्थानीय कानून संग्रह प्रकाशन गरिनेछ ।
४. मानव अधिकारको सम्मान, संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनका लागि आवश्यक नीति तथा कानून तर्जुमा गरी प्रवर्द्धनात्मक कार्यक्रमहरु संचालन गरिनेछ ।
४. सुशासन, सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धी नीति तथा कार्यक्रम
१. गाउँपालिका भित्रका नागरिकहरुको गुनासो तथा सेवा सम्बन्धी जिज्ञासा सुन्ने र सो को सम्बोधन अनलाईन प्रणाली कै माध्यमबाट गर्ने गरी नागरिक गुनासो ब्यवस्थापन प्रणाली (Citizen Grievances Response App) तयार गरी लागु गरिनेछ।
२. आर्थिक तथा प्रशासनिक अनुशासन कायम गर्ने सम्बन्धमा बाँकीको बक्यौता, पेश्की, बेरुजु लगत विवरण अद्यावधिक गरी कडाईका साथ असुल उपर एवम् फछ्यौट गर्ने कार्य अगाडी बढाईनेछ ।
३. प्रत्येक महिनाको आय / व्ययको विवरण गाउँपालिका तथा वडा कार्यालयको सूचनापाटि तथा वेवसाइटमा प्रकाशित गरिनेछ ।
४. गाउँपालिका कार्यालयको मानव संशाधन पर्याप्त नभएक क्षेत्रमा सम्बन्धित विषयका विज्ञहरुलाई सहजकर्ता वा विशेषज्ञको रुपमा प्रयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
५. जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धिको लागि आवश्यक तालिम, गोष्ठी तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रमलाई परिणाममुखी बनाईनेछ ।
६. गाउँपालिका बाट प्रवाह हुने सम्पूर्ण सेवा र विकास निर्माणमा हुनसक्ने भ्रष्टाचार, अपारदर्शिता तथा ढिलासुस्तीमा शुन्य सहनशीलताको नीति अख्तियार गरिनेछ । सो कार्यलाई प्रभावकारी बनाउन प्रत्येक वडा कार्यालयहरु र सार्वजनिक स्थानहरुमा गाउँपालिका को तर्फबाट सुझाव पेटिकाहरु राखिने छ ।
७. गाउँपालिका तथा वडाबाट प्रवाह हुने योजना, लेखा, राजश्व लगायत सबै सेवाहरुमा सफ्टवेयर निर्माण गरी कागज विहीन प्रणाली बनाउन विद्युतीय प्रणालीलाई जोड दिईने छ ।
८. गाउँपालिका को काम कारबाहीलाई व्यवस्थित, पारदर्शी तथा सम्पुर्ण नागरिक समक्ष पुर्याउन “हाम्रो गाउँपालिका ” नामक मोबाइल एप्स निर्माण गरि वडा पत्रहरु, सूचनाहरु र गाउँपालिका प्रोफाईल आदिको जानकारी प्रदान गर्ने साथै फ्रि-वाईफाई जोन बनाउने नीतिलाई निरन्तरता दिईनेछ ।
९. आधारभुत वस्तु तथा सेवाको सहज आपूर्ति र गुणस्तर कायम गर्न नियमित रुपमा बजार अनुगमन गर्ने र यस्तो अनुगमनमा उपभोक्ताहरुलाई समेत संलग्न गराइनेछ।
१०. गाउँपालिका भित्रका सार्वजनिक तथा सरकारी जग्गाहरुको मिहिन ढंगले खोज तथा अध्ययन गरी अभिलेख राखी त्यस्ता जग्गाहरुको संरक्षण गरिनेछ ।
११. गाउँपालिका भित्र रहेका असंगठित क्षेत्रका मजदुरहरुको तथ्याङ्क संकलन तथा अभिलेख व्यवस्थापन गरी निजहरुको रोजगार तथा सेवाको सुरक्षा र निजहरुको हित प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ ।
१२. विपन्न र न्यून आय भएका घर परिवार पहिचान गरी परिचयपत्र उपलब्ध गराई लक्षित कार्यक्रमहरु संचालन गरिनेछ।
१३. सार्वजनिक खर्चलाई वैज्ञानिक अनुमान योग्य र नतिजामुखि तुल्याउन मध्यकालिन खर्च संरचना (MTEF) पद्धति प्रयोगमा ल्याइने छ ।
१४. संघीय सरकार, प्रदेश सरकार र अन्य स्थानीय तहहरुसँग आपसी सहकार्य र समन्वयको लागि अन्तर समन्वय तथा सहकार्य नीति तर्जुमा गरिनेछ।
६. वन, वातावारण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रम
क. खानेपानी तथा सरसफाई
१. खानेपानीको जटिलतम समस्याको तत्कालिन, अल्पकालिन र दिर्घकालिन समाधानका लागि सम्भाव्य स्रोतहरूको खोजी तथा योजना तयार गरी खानेपानीको उत्पादन तथा वितरणको ब्यवस्था मिलाइनेछ ।
२. जलाधार संरक्षण कार्यक्रम संचालन गरी गाउँपालिका भित्र रहेका भूमिगत पानीका मूलहरू, जलाधार र सिमसार क्षेत्रहरुको संरक्षण एवं प्रवर्द्धन गर्दै ती श्रोतहरुबाट खानेपानी आपूर्तिको प्रबन्ध मिलाइनेछ।
३. विभिन्न खोला, नदी तथा अन्य स्रोतबाट खानेपानीलाई आपूर्ति गर्ने व्यवस्थाको लागि प्राविधिक सम्भाव्यता अध्ययन गरी संघ सरकार र प्रदेश सरकारको सहकार्यमा निर्माण कार्य अघि बढाइनेछ ।
४. जल पुनर्भरण योजना र वर्षातको पानी संकलन गर्ने प्रविधिलाई उपयोगमा ल्याउन प्रारम्भ गरिनेछ।
५. सडक किनारा र सार्वजनिक स्थानहरुलाई हरियाली र सुन्दर तथा सफा राख्ने कार्य गरिनेछ।
६. टोल विकास संस्था र सामाजिक संघ संस्थाहरुसँग फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहकार्यको नीति लिइनेछ।
७. शुन्य फोहर प्रणाली सरसपफाइ केन्द्र मार्फत आधुनिक प्रविधि अपनाइ बहुउपयोग (विटुमिन, प्लाष्टिक ब्लक, ) गरिनेछ ।
८. अस्पताल जन्य फोहोरलाई व्यवस्थित तुल्याउन सम्बन्धित निकायहरुलाई पूर्ण रुपमा जिम्मेवार बनाइनेछ । जथाभावी फोहोर फाल्ने र फोहोर गर्ने व्यक्तिलाई जरिवाना तथा अन्य दण्ड सजाय गर्ने नीति लिइनेछ।
९. घर-घरमा पालिएका कुकुरहरुको दिशा पिसाबजन्य फोहोर सम्बन्धित कुकुर धनिले घर भित्रै व्यवस्तापन गर्नु पर्ने छ। सार्वजनिक सडकमा ल्याई दिशा पिसाब गराएको पाइएमा कानून बमोजिम कार्वाही गर्ने नीति लिइनेछ।
१०. प्लाष्टिक जन्य फोहोर नियन्त्रण तथा न्यूनिकरण गर्न प्लाष्टिक झोलाहरुको प्रयोगलाई निरुत्साहित गरिने छ ।
११. गाउँपालिका का मुख्य स्थानहरुमा समुदायको सहकार्यमा उपयुक्त जग्गाको खोजि गरी सार्वजनिक शौचालयहरु निर्माण तथा संचालनलाई अभियानका रुपमा अगाडी बढाइनेछ।
१२. खानेपानी तथा सरसफाइको सेवालाई प्रभावकारी बनाउन प्रारम्भिक स्मार्ट वाटर सिस्टम लागु गरिनेछ ।
१३. तेमाल सुख्ख क्षेत्र भएको र संघीय सरकार खानेपानी मन्त्रालयका बहुवर्षिक योजना तेमाल वृहत खानेपानी सम्पन्न गर्न अवश्यक पहल गरिनेछ ।
ख. वातावरण, जलवायु परिवर्तनतथा विपद् व्यवस्थापन
१. जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूलाइ अनुकूलन गर्न गाउँपालिका को क्षमता बढाउने साथै खाद्य उत्पादनलाइ प्रतिकूल असर नपर्ने किसिमले जलवायु उत्थानशीलता वृध्दि गर्ने । न्यून हरित ग्यास उत्सर्जनलाइ विकास गर्न प्रेरित गर्ने र सो सम्बन्धी अनुभव आदान प्रदान गरी गाउँपालिका को क्षमता अभिवृध्दि गरिनेछ।
२. पूर्वाधार आयोजनाहरुको कार्यान्वयन गर्दा त्यस्ता आयोजनाहरुले वातावरणमा पार्ने असर न्यूनिकरणको लागि प्रारम्भिक वातावरणिय परिक्षण (IEE) र वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) अध्ययन गरिनेछ ।
३. खाली जग्गामा वृक्षारोपण, हरियाली प्रवर्द्धन तथा वनको संरक्षण र हैसियतमा सुधार गरी जल, जमीन तथा वातावरणको संरक्षण र जीविकोपार्जनको अवसरमा वृध्दि गरिनेछ ।
४. पोखरी संरक्षण, पहिरो तथा गल्छि नियन्त्रण, विकासका पूर्वाधारको संरक्षण र नदि नियन्त्रण गरी जल, जमिन तथा जलाधारको संरक्षण तथा उत्पादनमा वृध्दि गरिनेछ ।
५. भूसूचना प्रणालीको प्रयोग उच्च जोखिमयुक्त क्षेत्रको नक्शाङ्कन, जोखिमको विश्लेषण तथा जोखिम न्यूनीकरण योजना तयार गरिनेछ ।
६. विपद जोखिम न्यूनीकरण र ब्यवस्थापन तथा जलवायु उत्थानशील योजना तर्जुमा गरी सो अनुसार विपद पुर्व तयारी, विपद न्यूनीकरण, प्रतिकार्य र पुनर्स्थापनाको कार्यलाइ ब्यवस्थित र प्रभावकारी वनाइनेछ ।
७. ढुंगा गिट्टि बालुवा जस्ता नदीजन्य पदार्थ र अन्य प्राकृतिक श्रोतहरुको अनाधिकृत एवं अवैज्ञानिक दोहनलाई नियन्त्रण गरिनेछ ।
८. सार्वजनिक निजी साझेदारीमा निर्माण पूर्वाधार निर्माण गरी फोहोर मैला प्रशोधन केन्द्रलाई ब्यावसायिक रुपमा संचालन गर्न नीतिगत तथा कानूनी व्यवस्था गरी फोहोर मैला संकलन, व्यवस्थापन र उपयोगको नीति लिइने छ।
९. भुकम्पीय जोखिम न्यूनिकरणको लागि भुकम्प प्रतिरोधि भवन तथा संरचना निर्माण कार्यलाई प्राथमिकता दिइनेछ।
१०. विपद् जोखिम व्यवस्थापन कोषमा रकम अभिवृद्धि गर्दै प्रभावकारी श्रोत परिचालन
गरिनेछ।
११. गाउँपालिका को विपद् जोखिम नक्साङ्कन गरी सोही आधारमा विशिष्ट प्रकृतिका विपद् जोखिम प्रतिकार्य तथा पुनर्उत्थान कार्यक्रमहरु संचालन गरिनेछ। १२. सम्बेदनशील जलाधार क्षेत्रका जमिनहरुको अतिक्रमण नियन्त्रण गरिनेछ । १३. तेमाल गाउँपालिकाको कालीमाटी देखि मेच्छेपौवा सम्मको पुरानो ऐतिहासिक पोखरीहरुको पहिचान गरी व्यवस्थीत गर्ने नीति लिइनेछ ।
७. राजस्व तथा आन्तरिक श्रोत परिचालन नीति तथा कार्यक्रम
१. आन्तरिक आय व्यवस्थापन, प्राकृतिक स्रोत बिक्रि सम्बन्धी ऐन तथा नियमावली तर्जुमा गरी राजस्व परिचालनलाई थप व्यवस्थित तुल्याइनेछ।
२. आन्तरिक आयका स्रोतहरूको सम्भाब्यता अध्ययन, राजश्व बाँडफाँड, अन्तर सरकारी वित्तीय हस्तान्तरण, तथा गैससको स्रोत परिचालनको लागि स्थानीय सरोकारवाला, प्रदेश सरकार, र नेपाल सरकारका निकाय तथा गैसस र विकास साझेदार संग परामर्श, समन्वय, र साझेदारी गरिनेछ।
३. करको दर सम्भव भएसम्म न्यूनतम गर्दै करको दायरा विस्तार गर्ने नीति लिइनेछ। प्रगतिशिल कर प्रणाली अवलम्बन गरी नागरिकहरु बिच रहेको असमानता न्यूनिकरण गर्दै लगिनेछ ।
४. गाउँपालिका को आन्तरिक राजस्व अभिवृद्धिका लागि करका नयाँ सम्भाव्य क्षेत्रहरु पहिचान गरिनेछ ।
५. वडा कार्यालयहरुसँग समन्वय गरी घर बहाल करमा रहेको चुहावट नियन्त्रण गर्न घरधनी र वहालमा रहनेहरुको अभिलेख अध्यावधिक राख्ने प्रणाली विकास गरिनेछ।
६. विगतदेखि सरकरी जग्गामा निर्माण गरिएको संरचनाहरुको हाल प्रचलित बजार दर समेतलाई आधार मानी बहाल रकम पुनरावलोकन गरिनेछ।
७. ढुंगा, गिट्टी बालुवा जस्ता नदीजन्य पदार्थको ठेक्का व्यवस्थापनमा संघीय वन
सम्बन्धी कानूनका कारण उत्पन्न जटिलतालाई दृष्टिगत गरी वैकल्पिक पद्धतिको रुपमा गाउँपालिका बाटै उत्खनन गरी बिक्री गर्ने विधि अवलम्बन गरिनेछ ।
८. करदाताहरुलाई आफुले तिर्नु पर्ने मोटामोटी कर दायित्व र कर तिर्ने समयसीमा समयमै जानकारी दिन निजहरुको सेल नम्बरमा विद्युतिय प्रणालीद्वारा सन्देश प्रावहित गर्ने नीति लिइनेछ।
९. करदाताहरुको अभिलेख व्यवस्थापन सुदृढ गर्दै उत्कृष्ट – करदाताहरुलाई पुरस्कृत तथा सम्मानित गर्ने नीति लिइनेछ ।
१०. कर प्रशासनलाई सूचना प्रविधिमैत्री एवं करदातामैत्री तुल्याउदै लगिनेछ।
११. अव्यवस्थित वसोवासीहरुलाई लगाउदै आएको घरधुरी करलाई निरन्तरता दिइनेछ। घरको संरचना र प्रकृति अनुसार दरहरुको प्रगतिशिल पुनरावलोकन गरिनेछ।
१२. करदाताको कर लगतलाइ ब्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा उपयोग गर्न, करदातालाइ कर सम्बन्धी सूचना प्रवाह गर्न डिजीटल कर प्रणाली लागु गरिनेछ ।
१३. कर शिक्षा सञ्चालन सम्बन्धी नितिलाई हरेक वर्ष प्रभावकारी रुपमा अभियनात्मक
ढंगले अगाडी बढाइनेछ ।
अन्त्यमा, नीति तथा कार्यक्रमको समयवद्ध एवं सफल कार्यान्वयनबाट तेमालको समाबेशी र दीगो विकासमा सघाउ पुग्ने, आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पर्ने, रोजगारीको क्षेत्रमा बृद्धि भई जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने देखिन्छ साथै सामाजिक सदभाव र समन्वय तथा भातृत्व विकासमा समेत टेवा पुग्छ भन्नेमा म पूर्ण विश्वस्त छु । नीति तथा कार्यक्रम तयार गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सवैमा धन्यवाद दिन चाहन्छु । उपस्थित सवै महानभावहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।
चन्द्र बहादुर तामाङ, अध्यक्ष
तेमाल गाउँपालिका
मिति २०८०।०३।१०
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























