तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले भकुण्डेवेशी–मेच्छे–मुक्पाटार तित्रेटार माम्ती सडक वरिपरिका घर टहारा लगायतका भौतिक संरचना हटाउन तत्काल नहटाउने भएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र नारायणस्थानमा रहेका व्यवसायीहरुले अधिकतम ६ महिनाको समय अवधि माग गरेर पछि तत्काल नहटाउने भएको हो ।
यस अघि गाउँपालिकाले ३५ दिने, १५ दिने र ७ दिने सूचना जारी गर्दै सडक वरिपरि सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचनाहरु हटाउन अनुरोध गरेको थियो ।
शुक्रबार व्यवसायीहरुले गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ समक्ष म्याद थपको लागि लिखित अनुरोध गरेको थियो । अनुरोध पत्रमा गाउँपालिकाले जारी गरेको ‘सार्वजनिक स्थलमा बनाइएका घर टहरा हटाउने’ सूचना प्रति आफूहरुको पुर्ण रुपमा सहमति भएको र गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।
पत्रमा आफूहरुले प्रयोग गर्दै आएको घर टहरा हटाइ अर्को व्यवस्था गर्नका लागि थप समय अधिकतम ६ महिना आवश्यक पर्ने भएको जनाउँदै व्यवसायीहरुले समयावधी ६ महिना थप गरि आवश्यक सहयोग गरिदिनुहुन गाउँपालिका समक्ष अनुरोध गरेको थियो । व्यवसायीहरुको अनुरोधलाई गाउँपालिकाले सहमति जनाएको छ ।
गाउँपालिका अध्यक्ष तामाङले अव्यवस्थित बजारलाई, ब्यबस्थित बनाउदै सुन्दर तेमाल निर्माण गर्ने उदेश्यले यो कदम चालेको बताए ।
सार्वजनिक सम्पतिको संरक्षण गर्नु सरकारको दायित्व भित्र परेको बताउँदै बैकल्पिक योजना अनुसार नै सार्वजनिक स्थलहरुमा निर्माण भएको घर टहाराहरुको व्यवस्थापन गर्न लागेको उनले बताए । गाउँपालिकाको योजना सफल बनाउन सहजीकरण गरेका स्थानीय प्रति गाउँपालिका अध्यक्ष तामाङले आभार प्रकट गर्नुको साथै जनप्रतिनिधिहरु, कर्मचारीहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।