काठमाडौं । दोलखा जिल्ला मेलुङ गाउँपालिका–४, भेड्पुकी ५२ वर्षीया शर्मिला गोले तामाङ (माई) भदौ १९ गते दिउँसो करिब १२ बजे काठमाडौं सामाकोशीस्थित रेडन कलेज नजिकैको आफ्नै निवासबाट हराएकी छन्। आज दुई साताभन्दा बढी समय वितिसक्दा पनि उनको अवस्था पत्ता लागेको छैन।
विगत लामो वर्षदेखि मानसिक सन्तुलन गुमाएकी शर्मिला लामो समयदेखि असन्तुलित अवस्थामा परिवारकै संरक्षण र ममतामा बस्दै आएकी थिइन्। कहिलेकाहीँ सामान्य देखिन्थिन्, तर फेरि आफ्नै संसारमा हराउने गर्थिन्। भदौ १९ गते दिउँसो उनी अचानक घरबाट हराएपछि अहिलेसम्म खोजीको प्रयास असफल बनेको छ।
शर्मिलाकी ८२ वर्षीया आमा लाली कुमारी तामाङ दिन–रात छोरीको बाटो हेरेर बसिरहेकी छन्। छोरीको अनुपस्थितिले वृद्ध आमाको जीवन शून्य बनेको छ।
“मेरो छोरी त कतै छे होला? कसैले भेट्टाएर ल्याइदिन्छ कि भनेर म हरेक दिन छोरीकै नाम जपिरहेकी हुन्छु,” आमाले आँसु झार्दै भनिन्।
शर्मिलाका भाइ दिल कुमार गोलेले दिदीको खोजीका लागि समाजसँग सहयोगको अपिल गरेका छन्।
“हामीले सम्भव हुने सबै ठाउँमा खोजी गरेका छौं। तर अहिलेसम्म केही पत्ता लागेन। यदि कसैले हाम्रो दिदीलाई देख्नुभएको छ वा केही थाहा पाउनुभएको छ भने कृपया तुरुन्तै मोबाइल नम्बर : ९८६१७३६०१३ मा सम्पर्क गरिदिनु हुना उनले आग्रह गरे।
यो घटनाले केवल एउटा परिवारको पीडा मात्र होइन, मानसिक सन्तुलन गुमाएका व्यक्तिप्रति समाजले देखाउनुपर्ने संवेदनशीलताको गहिरो सन्देश दिएको छ। यस्ता व्यक्तिहरू पनि कसैका सन्तान, कसैका दिदी–बहिनी वा आमा हुन् भन्ने कुरा स्मरण दिलाएको छ।
दिन बित्दै जाँदा परिवारको पीडा अझ बढ्दै गएको छ। तर पनि ८२ वर्षीया आमाको मनमा अझै आशा बाँकी छ।
“म अझै पनि विश्वास गर्छु, मेरी छोरी फर्केर आउनेछे। कुनै दयालु मनले उनलाई देख्छ र ल्याइदिन्छ,” आमाले भक्कानिँदै भनिन्।
शर्मिला गोले हराएको घटनाले सम्पूर्ण समाजलाई मानवीय भावनामा एकजुट हुन, सहयोगको हात अगाडि बढाउन र हराएकी आमाछोरीलाई भेटाउन सबैलाई आह्वान गरिरहेको छ।