-शिशिर भण्डारी
भूमिका :
नेपालको राजनीतिमा आज देखिएको ‘नयाँ भर्सेज पुरानो’ को बहस, अर्थात् ‘नयाँप्रतिको उन्माद’, कुनै राजनीतिक पुनर्जागरण होइन। यो विचारबाट भाग्दै गरेको समाजको सामूहिक चिच्याहट हो। राजनीतिक थकान, संस्थागत असफलता र एल्गोरिदमिक उत्तेजनाले जन्माएको भीडको शासन–आकांक्षा हो। यहाँ बहस छैन, प्रश्न छैन, विकल्पको मूल्याङ्कन छैन – छ त केवल आक्रोश, अविश्वास र तुरुन्त समाधानको भ्रम। यसलाई यसरी पनि बुझ्न सकिन्छ—यो वास्तवमा राजनीतिक विचारको बहस होइन; यो निराशा, आवेग र एल्गोरिदमिक उत्तेजनाले निर्माण गरेको भिडको लहर (rhythm) हो। यहाँ नीति गौण छ, सिद्धान्त बोझिलो छ, र लोकप्रियता वा सेलेब्रिटी नै योग्यता ठानिन्छ।

आज ‘नयाँ’ को नाममा जे बिकिरहेको छ, त्यो वैकल्पिक राजनीति भन्दा बढी एल्गोरिदमिक उत्तेजनाले उत्पादन गरेको राजनीतिक उपभोग हो। राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह वा रवि लामिछाने जस्ता social media celebrity प्रतिको आकर्षणलाई केवल वैकल्पिक राजनीतिक उदय भनेर बुझ्नु वर्तमानबाट थकित आत्मसन्तुष्ट विश्लेषण मात्र हुन्छ। यो आकर्षण मूलतः व्यवस्थाप्रतिको गहिरो असन्तोष र पुराना दलप्रतिको आक्रोशको विस्फोट हो। तर चिन्ताको विषय के हो भने, यो आक्रोश क्रमशः विचारविहीन उत्साहमा रूपान्तरण हुँदैछ। राजनीति अब विचारले होइन, एल्गोरिदमले चल्दैछ।

आजको राजनीतिक बहस संसदमा कि स्क्रोलमा:

यी ‘नयाँ’ भनिनेहरूप्रतिको आकर्षण आफैंमा प्रश्नयोग्य होइन। प्रश्नयोग्य कुरा त यो हो—यो आकर्षण किन विचार, नीति र संस्थागत उत्तरदायित्वभन्दा माथि राखिँदैछ? यस अर्थमा लोकतन्त्र अब मतले होइन, स्क्रोलले चल्दैछ। आज कुन मुद्दा राष्ट्रिय बहस बन्छ भन्ने निर्णय संसदले होइन, सामाजिक सञ्जालको एल्गोरिदमले गर्दैछ।

एल्गोरिदमले बहस खोज्दैन, उत्तेजना खोज्छ। त्यसैले यहाँ चर्को बोली पुरस्कृत हुन्छ, जटिल समस्या सरल नाराले छोपिन्छ। राजनीति नीतिको क्षेत्रबाट मनोरञ्जनमा झर्छ। असहमति ‘नकारात्मकता’ भनेर खारेज हुन्छ, आलोचना ‘पुरानो सोच’ को लेबलमा थन्किन्छ। यसरी बनेको भिड बहस खोज्दैन, समर्थन खोज्छ। लोकतान्त्रिक चेतनाको सट्टा fandom संस्कृति हावी हुन्छ। यही हो राजनीतिक उपभोग—जो सोच्दैन, केवल प्रतिक्रिया (reaction) दिन्छ र लिन्छ। जसले धेरै रियाक्सन ल्याउँछ, त्यही सत्य जस्तो देखिन्छ।

‘पुरानाले केही गरेनन्’ भन्ने वाक्य आज सर्वाधिक लोकप्रिय राजनीतिक तर्क बनेको छ। यो भनाइ भावनात्मक रूपमा आंशिक सही लाग्न सक्छ, तर यो सबैभन्दा अल्छी राजनीतिक तर्क हो—र इतिहासमाथि गरिएको निर्मम हिंसा पनि।

यो भद्दा मजाकले न प्रमाण माग्छ, न विश्लेषण। यदि पुराना दलहरूले केही गरेकै होइनन् भने, आज अधिकारका साथ छाती फुलाएर प्रश्न गर्ने नागरिकलाई यो धरातलमा कसले उभ्यायो? अभिव्यक्ति स्वतन्त्रता कसरी आयो? मताधिकार र समावेशिता कसले सम्भव बनायो? संघीयता, लोकतन्त्र र मौलिक हक कुन टिकटकबाट झर्‍यो?

हिजोको वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक उत्पीडनबाट मुक्त हुँदै शिक्षा, स्वास्थ्य, गाउँका बाटो, पानी, बिजुली, स्कुल, हेल्थपोष्ट—यी सबै उपलब्धि आकाशबाट झरेका पक्कै होइनन्। यी तीनै राजनीतिक दलका संघर्ष, आन्दोलन र बलिदानको उपज हुन्। यी उपलब्धिहरू आकस्मिक थिएनन्; लामो राजनीतिक संघर्षको परिणाम हुन्।

तर आजको भिडले इतिहास होइन, आजको असफलता मात्रै देख्छ। सत्य के हो भने—पुराना दलहरू इतिहासमा प्रगतिशील थिए, तर वर्तमानमा आलसी, आत्मसन्तुष्ट र सत्तामुखी भए। तर असफलताले इतिहास मेटिँदैन, र इतिहास मेटेर भविष्य बन्दैन। समस्या इतिहासको अभाव होइन; समस्या इतिहासप्रति आजको पुस्ताको पहुँच र दलहरूको आत्मालोचनाको अभाव हो।

व्यक्ति पूजा: लोकतन्त्रको प्रवेशद्वार कि अन्त्य बिन्दु:

निराश समाज सधैं करिश्मातर्फ आकर्षित हुन्छ। स्पष्ट बोली, आक्रामक शैली र ‘डर नमान्ने’ छवि थाकेको समाजका लागि आकर्षक नायक हुन्छ। तर लोकतन्त्रको सबैभन्दा खतरनाक क्षण त्यही हो—जब व्यक्ति संस्थाभन्दा ठूलो देखिन थाल्छ। लोकतन्त्रको मूल प्रश्न व्यक्ति होइन, संस्था हो।

यदि लोकप्रियता कानूनभन्दा माथि पुग्यो भने, संसदभन्दा सामाजिक सञ्जाल निर्णायक बन्यो भने, आलोचना देशद्रोहसरह ठानिन थाल्यो भने—त्यसको अन्त्य लोकतन्त्रमा होइन, भीडतन्त्रमा हुन्छ। इतिहासले बारम्बार देखाएको छ—जब राजनीति विचारबाट शून्य हुन्छ, तब करिश्माले शासन गर्छ। विचारशून्य राजनीति अन्ततः स्वतन्त्रतामाथि भारी पर्छ।

समाधान: कराएर होइन, प्रश्नमार्फत :

यो एल्गोरिदमिक भिडलाई कराएर होइन, होसियारीपूर्वक प्रश्नमार्फत सम्बोधन गर्न आवश्यक छ। यहाँ भावुकता मात्रै पर्याप्त छैन; कठोर निर्णय पनि चाहिन्छ। यतिबेलाको आवश्यकता न पुराना दलको अन्धरक्षा हो, न नयाँ एल्गोरिदमिक भिडको अन्धभक्ति। त्यसैले व्यक्ति होइन, नीति अनिवार्य बनाउने—‘को ठीक?’ होइन, ‘के गर्ने?’ भन्ने बहस चलाउने। एल्गोरिदमिक चेतना निर्माण – नागरिकले बुझ्नुपर्छ कि देखाइने सत्य नै सम्पूर्ण सत्य होइन । हरेक दल र नेता लिखित नीति प्रतिबद्धता र प्रगति सूचकमा बाँधिनुपर्छ।

एल्गोरिदमिक भ्रम तोड्न राजनीतिक शिक्षा प्रवाह गर्नुपर्छ। डिजिटल लिटरेसी अब वैकल्पिक होइन, लोकतान्त्रिक आवश्यकता हो। मिडिया र शिक्षाले ‘ट्रेन्ड’ र ‘सत्य’ को फरक नागरिकलाई सिकाउनैपर्छ।

पुराना दलका लागि आत्मसुधार कि राजनीतिक अवसान—पुस्तान्तरण अब भाषण होइन, संरचनामा देखिनुपर्छ। नसुध्रिने पुरानो स्वयं परिवर्तनको शत्रु बन्छ। यस अवस्थामा सबै दोष भिडलाई थोपरेर उम्किन मिल्दैन। पुराना दलहरूको असफलता स्पष्ट छ—सुशासनमा चुक, संस्थागत सुधारमा ढिलासुस्ती, पुस्तान्तरणमा अनिच्छा, आत्मालोचनाको अभाव।

तर समाधान पुरानोलाई गाली गरेर नयाँलाई देवत्वकरण गर्नु होइन। समाधान विचारयुक्त सुधार हो—व्यक्ति पूजा र अन्धविरोध होइन।

नयाँ शक्तिका लागि कडा संस्थागत परीक्षा आवश्यक छ—लोकप्रियता होइन, प्रक्रिया; नाराभन्दा कानुन; ‘हामी फरक छौं’ होइन, ‘हामी उत्तरदायी छौं’ भन्ने प्रमाण।

निष्कर्ष :

नयाँ राजनीतिक शक्ति आउनु लोकतन्त्रको खतरा होइन; सम्भावना हो। तर जब नयाँपन विचारविहीन हुन्छ र पुरानोपन आत्मसन्तुष्ट, तब लोकतन्त्र स्वयं संकटमा पर्छ। आजको बहस ‘पुरानो कि नयाँ’ होइन। आजको वास्तविक प्रश्न यो हो—के हामी लोकतन्त्रलाई विचारले चलाउनेछौँ, कि एल्गोरिदमले? यसको उत्तर चुनावी नतिजाले होइन, हामीले आज गर्ने बहसले तय गर्नेछ। यसको उत्तर नेताले होइन, हामी नागरिकले दिनेछौँ—हामी कुन प्रकारको राजनीति स्वीकार गर्छौँ भन्ने निर्णयबाट।

-२०८२ माघ २५ गते

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।