— शिशिर भण्डारी
भूमिका:
नेपालको वामपन्थी आन्दोलन अहिले सामान्य राजनीतिक उतारचढावको चरणमा मात्रै छैन । यो आफ्नो ऐतिहासिक औचित्य, वैचारिक विश्वसनीयता र भविष्यको अस्तित्वमाथि उठेका गम्भीर प्रश्नहरूको मोडमा उभिएको छ । वास्तवमा नेपालको राजनीतिक इतिहासमा वाम आन्दोलन केवल एउटा चुनावी शक्ति वा सत्ताको प्रतिस्पर्धी राजनीतिक धारा मात्र थिएन – यो सामाजिक न्याय, वर्गीय मुक्ति, राष्ट्रिय स्वाधीनता र आमूल सामाजिक–आर्थिक तथा सांस्कृतिक रूपान्तरणको वैचारिक आन्दोलन थियो ।
जहानियाँ राणा शासनविरुद्धको संघर्षदेखि राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना, संघीयता, समावेशीकरण र सामाजिक न्यायका एजेण्डासम्म आइपुग्दा वाम आन्दोलन नेपालको राजनीतिक रूपान्तरणको प्रमुख संवाहक रह्यो । तर विडम्बना के छ भने – जुन आन्दोलनले उत्पीडित वर्ग, श्रमिक, किसान, सुकुम्बासी, दलित, महिला, आदिवासी जनजाति, मधेसी र सीमान्तीकृत समुदायको प्रतिनिधित्व गर्ने दाबी गर्यो, आज त्यही आन्दोलनमाथि ती वर्गका आकांक्षा, पीडा र भविष्यलाई बेवास्ता गरेको आरोप बढ्दो रूपमा लागिरहेको छ ।
२०७४ सालमा झण्डै दुईतिहाइ जनमत प्राप्त गरेका कम्युनिस्ट शक्तिहरू केही वर्षमै तीव्र गतिमा कमजोर बन्दै जानु केवल चुनावी अंकगणितको परिवर्तन होइन । संसद र राज्यसत्तामा वाम शक्तिको प्रभाव तीव्र रूपमा खस्किनुको जरो गहिरो वैचारिक विचलन, संगठनात्मक जडता, सत्ताकेन्द्रित प्रवृत्ति, आर्थिक दृष्टिकोणको अस्पष्टता, बदलिँदो विश्व–समाज बुझ्न नसक्नु र जनतासँगको भावनात्मक सम्बन्ध कमजोर हुँदै जानुमा छ । यो संकट केवल पार्टीहरूको संकट होइन; यो एउटा गहिरो राजनीतिक–वैचारिक धाराको संकट हो ।
आज नेपाली समाज तीव्र संक्रमणबाट गुज्रिरहेको छ । भूमण्डलीकरण, डिजिटल पूँजीवाद, वैदेशिक श्रम बजार, कृत्रिम बुद्धिमत्ता, सामाजिक सञ्जाल, सूचना प्रविधि र नयाँ पुस्ताको मनोविज्ञानले राजनीति बुझ्ने तरिका नै बदलिदिएको छ । तर अधिकांश वामपन्थी दलहरू अझै २०औँ शताब्दीको भाषामा २१औँ शताब्दीको समाज बुझ्ने प्रयास गरिरहेका छन् । परिणामतः पार्टीहरू समाजभन्दा पछाडि परिरहेका छन् ।
यद्यपि, वाम आन्दोलनको यो संकटलाई यसको अन्त्यको घोषणा ठान्नु हुँदैन । आर्थिक असमानता, श्रम शोषण, बेरोजगारी, वित्तीय केन्द्रीकरण, दलाल पूँजीवाद, सामाजिक विभेद र राष्ट्रिय स्वाधीनतामाथिका नयाँ चुनौतीहरूले आज पनि वाम राजनीतिको सान्दर्भिकता समाप्त भएको छैन । प्रश्न आन्दोलनको औचित्य होइन, त्यसको रूपान्तरण क्षमताको हो ।
द्वन्द्वात्मक भौतिकवादको आधारभूत मान्यता नै के हो भने – कुनै पनि समाज, राज्य वा राजनीतिक आन्दोलन स्थिर हुँदैन; त्यसको विकास आन्तरिक अन्तरविरोधद्वारा संचालित हुन्छ । यही दृष्टिकोणबाट हेर्दा नेपाली वाम आन्दोलनको संकटलाई केवल “वैदेशिक षड्यन्त्र”, “मिडिया/प्रविधि हमला” वा “प्रतिक्रियावादी चलखेल” ले मात्र व्याख्या गर्न सकिँदैन । मुख्य प्रश्न आन्दोलनभित्र विकसित भएको वैचारिक जडता, सत्तामुखी चरित्र, संगठनात्मक सामन्तवाद र वर्गीय विचलनसँग सम्बन्धित छ । प्रस्तुत लेख यिनै सन्दर्भको विश्लेषण गर्ने प्रयास हो ।
वाम आन्दोलनको ऐतिहासिक भूमिका, उपलब्धि र विडम्बना:
नेपालको आधुनिक राजनीतिक इतिहासमा वाम आन्दोलनको योगदान अग्रपंक्तिमा छ । सामन्तवाद अर्थात राणा शासनविरुद्धको चेतना, पञ्चायती निरंकुशताविरुद्धको संघर्ष, जनआन्दोलन, गणतन्त्र स्थापना र संघीयताको वैचारिक जग निर्माणमा वाम शक्तिको प्रभाव निर्णायक रह्यो ।
विशेषगरी माओवादी जनयुद्धपछि राज्य पुनर्संरचना, समावेशीकरण र उत्पीडित समुदायको प्रतिनिधित्व राष्ट्रिय बहसको केन्द्रमा आयो । दलित, महिला, मधेसी, आदिवासी जनजाति र सीमान्तीकृत समुदायले पहिलोपटक राजनीतिक रूपमा “दृश्यता” पाए । राज्य केवल शासक वर्गको उपकरण होइन, उत्पीडित वर्गले पनि राज्य पुनर्गठनको दाबी गर्न सक्छ भन्ने चेतना समाजमा स्थापित भयो ।
तर विडम्बना के भयो भने – राजनीतिक परिवर्तनको नेतृत्व गर्ने शक्ति नै राज्यसत्तामा पुगेपछि रूपान्तरणकारी भन्दा व्यवस्थापकीय बन्दै गयो । सत्ता परिवर्तन भयो, तर राज्यको आर्थिक चरित्र मूलतः दलाल पूँजीवादी संरचनामै सीमित रह्यो । शासक फेरिए, तर श्रमिकको जीवन फेरिएन । संविधान बदलियो, तर आर्थिक असमानताको संरचना झन् गहिरियो ।
फलतः जनतामा एउटा गम्भीर मनोवैज्ञानिक प्रश्न जन्मियो – “यदि वामपन्थी सरकार हुँदा पनि वर्गीय न्याय, श्रमिक सुरक्षा र सामाजिक रूपान्तरण हुँदैन भने वाम आन्दोलनको विशेषता के रह्यो र ?” यही प्रश्न आजको संकटको केन्द्र हो ।
मार्क्सवादको गतिशीलता र नेपाली वाम आन्दोलनको जडता:
मार्क्सवादको मूल आत्मा गतिशीलता हो । यो कुनै स्थिर धार्मिक ग्रन्थ होइन; बदलिँदो भौतिक परिस्थिति, उत्पादन सम्बन्ध र शक्ति संरचनाको वैज्ञानिक विश्लेषण गर्ने पद्धति हो । मार्क्सले औद्योगिक पूँजीवादको विश्लेषण गरे, लेनिनले साम्राज्यवादको चरणमा त्यसलाई विकसित गरे, माओले अर्धसामन्ती समाजको सन्दर्भमा पुनर्व्याख्या गरे । अर्थात् मार्क्सवादको इतिहास नै समय र समाजअनुसार निरन्तर पुनर्विचार र विकासको इतिहास हो ।
तर नेपाली वाम आन्दोलनले धेरैजसो अवस्थामा मार्क्सवादलाई जीवन्त विश्लेषणात्मक दर्शनका रूपमा होइन, उद्धरण दोहोर्याउने स्थिर वैचारिक संरचनाका रूपमा व्यवहार गरेको देखिन्छ । २१औँ शताब्दीको डिजिटल पूँजीवाद, डेटा अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, प्लेटफर्म श्रम, वित्तीय पूँजीको विश्वव्यापी नियन्त्रण, सांस्कृतिक उद्योग र मनोवैज्ञानिक उपभोक्तावादजस्ता नयाँ यथार्थमाथि गहिरो वैचारिक बहस विकास हुन सकेको छैन ।
यसको प्रत्यक्ष प्रभाव वर्गीय राजनीतिमा देखिन्छ । वाम आन्दोलनको मूल आधार वर्गीय राजनीति भए पनि आज नेपाली कम्युनिस्ट आन्दोलनमा वर्गीय दृष्टिकोण क्रमशः कमजोर बन्दै गएको छ । देशभित्र लाखौँ युवा बेरोजगार छन्, वैदेशिक श्रम बजारमा नेपाली श्रमिक चरम शोषणको सिकार भइरहेका छन्, अनौपचारिक क्षेत्रका मजदुर सामाजिक सुरक्षाविहीन छन्, भूमिहीन र सुकुम्बासी अझै असुरक्षित छन् । कृषि उत्पादन घट्दो छ, गाउँहरू खाली भइरहेका छन्, र श्रम विदेश निर्यात नै अर्थतन्त्रको मुख्य आधार बनेको छ ।
तर कम्युनिस्ट पार्टीहरूको राजनीतिक ऊर्जा यिनै वर्गीय प्रश्नभन्दा बढी सत्ता समीकरण, गठबन्धन, पद बाँडफाँड र गुट व्यवस्थापनमा केन्द्रित देखिन्छ । अझ विडम्बना के छ भने – वर्गीय राजनीतिलाई नै “पुरानो” वा “अप्रासंगिक” विषयजस्तो प्रस्तुत गर्ने प्रवृत्ति बढ्दो छ, जबकि विश्वभर आर्थिक असमानता झन् तीव्र हुँदै गएको छ ।
आज विश्वका सीमित पुँजीपति समूहले स्रोत, प्रविधि, डेटा र वित्तीय संरचनामाथि अभूतपूर्व नियन्त्रण स्थापित गरिरहेका छन् भने अर्कोतर्फ श्रमको मूल्य क्रमशः घटिरहेको छ । श्रम अब केवल कारखानाभित्र सीमित छैन; विदेशमा श्रम बेच्ने आप्रवासी, डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक, अनौपचारिक श्रममा बाँचेका युवा र डेटा उत्पादनमार्फत मूल्य सिर्जना गर्ने मानिसहरू पनि नयाँ श्रमिक वर्गका हिस्सा हुन् ।
नेपालमा पनि यही प्रवृत्ति स्पष्ट देखिन्छ – धनी झन् धनी, गरिब झन् असुरक्षित हुँदै गएका छन् । हिजो गाउँमा सामान्य जीवन चलाउन सक्ने किसान परिवार आज शहरमा न्यून ज्यालादारी मजदुरी गर्न वा खाडी र मलेसियामा श्रम बेच्न बाध्य छन् । विदेश जान नसक्ने ठूलो युवा समूह निराशा, बेरोजगारी र भविष्यप्रतिको असुरक्षाबीच बाँचेको छ । यही वर्गीय असन्तोष अहिले नयाँ पुस्ताको राजनीतिक विद्रोहको आधार बन्दै गएको छ ।
त्यसैले वाम आन्दोलनको सान्दर्भिकता समाप्त भएको होइन; बरु आजको आवश्यकता भनेको डिजिटल पूँजीवाद, डेटा स्वामित्व, जलवायु न्याय, आप्रवासी श्रमिक अधिकार, कृत्रिम बुद्धिमत्ता र वित्तीय असमानताले सिर्जना गर्ने नयाँ वर्गीय अन्तरविरोधलाई केन्द्रमा राखेर मार्क्सवादी वैचारिकीको पुनर्विकास गर्नु हो ।
नयाँ पुस्ताको राजनीतिक असन्तोष – भविष्यविहीनताको विस्फोट:
हाल देखिएको नयाँ पुस्ताको असन्तोष केवल सामाजिक सञ्जालमा व्यक्त भावनात्मक प्रतिक्रिया मात्र होइन; यसको गहिरो जरो नेपाली समाजको सामाजिक, आर्थिक, राजनीतिक र मनोवैज्ञानिक संकटसँग जोडिएको छ । आजको पुस्ताले देखिरहेको यथार्थ भनेको – पढाइपछि बेरोजगारी, देशभित्र अवसरको अभाव, वैदेशिक पलायनको बाध्यता, भ्रष्ट राजनीतिक संरचना, नेतृत्वप्रति अविश्वास र भविष्यप्रतिको अनिश्चितता हो ।
जेन एक्स पुस्ताले लामो समय वाम आन्दोलनसँगै संघर्ष गर्यो, तर नेतृत्वमा सीमित घेराको एकाधिकार देख्यो । जेन वाई पुस्ताले उदार अर्थतन्त्र, भूमण्डलीकरण र आधुनिक अवसरको सपना देख्यो, तर बेरोजगारी, वैदेशिक पलायन र पेशागत असुरक्षाको यथार्थ भोग्यो । यिनै दुई पुस्ताको निराशा र असन्तोषसँगै जेन जी पुस्ताले पुराना राजनीतिक कथनमाथि विश्वास गर्न छोड्यो र “पुरानो राजनीतिको अस्वीकृति” को मनोविज्ञान निर्माण गर्यो ।
यही कारण अहिलेको पुस्ता विचारधाराभन्दा परिणाम खोजिरहेको छ । उनीहरू अब नारा होइन, जीवनस्तरमा परिवर्तन चाहन्छन् ।
यस असन्तोषको जरोमा वर्गीय अन्तरविरोध स्पष्ट देखिन्छ । आन्दोलनमा सहभागी ठूलो हिस्सा त्यही वर्ग हो – जसले राज्यबाट अवसर पाएन, विदेश जान सकेन वा गएर पनि स्थिर जीवन बनाउन सकेन । तर यही पुस्ताभित्र नयाँ प्रकारको राजनीतिक चेतना पनि विकास भइरहेको छ – भ्रष्टाचारविरोध, पारदर्शिता, सामाजिक न्याय, अवसरको समानता र वैकल्पिक राजनीतिक संस्कृतिप्रतिको आग्रह ।
यदि वाम आन्दोलनले यो पुस्तासँग संवाद गर्न सक्यो भने पुनर्जीवनको सम्भावना समाप्त भएको छैन । तर त्यसका लागि पुरानो भाषण, पुरानै संगठनात्मक शैली र केवल ऐतिहासिक गौरवको पुनरावृत्तिले पुग्दैन । वाम आन्दोलनले यो पुस्ताको मनोविज्ञान बुझ्न सकेन भने उसको आधार झन् कमजोर हुँदै जाने निश्चित छ ।
भूमण्डलीकरण र वाम आन्दोलनको वैचारिक अलमल:
आजको विश्व २०औँ शताब्दीको विश्व होइन । भूमण्डलीकरणले विश्वलाई केवल प्रविधिगत रूपमा जोडेको छैन; यसले अर्थतन्त्र, संस्कृति, राजनीति, कानून र राज्यको चरित्रमै गहिरो प्रभाव पारेको छ । आज नेपालजस्तो मुलुकका अधिकांश नीतिगत निर्णय अन्तर्राष्ट्रिय वित्तीय संस्था, वैश्विक बजार, कूटनीतिक दबाब र भूराजनीतिक प्रतिस्पर्धाबाट प्रभावित हुन्छन् ।
अब राजनीति केवल राष्ट्रिय सीमाभित्र सीमित छैन । डिजिटल पूँजीवाद, कृत्रिम बुद्धिमत्ता, डेटा अर्थतन्त्र, अन्तर्राष्ट्रिय वित्तीय संरचना, बहुराष्ट्रिय कम्पनी र वैश्विक श्रम बजारले राज्यको चरित्र नै बदलिरहेका छन्।
तर नेपालका अधिकांश वाम दलहरूको विश्लेषण अझै पुरानो शीतयुद्धकालीन भाषा र राजनीतिक ढाँचामा सीमित देखिन्छ । उदाहरणका लागि – आज सार्वभौमिकताको अर्थ केवल सीमाना रक्षा होइन; आर्थिक नीति, डेटा नियन्त्रण, डिजिटल पूर्वाधार, श्रम बजार, वित्तीय निर्भरता र सांस्कृतिक स्वायत्ततासँग पनि जोडिएको छ ।
आज नेपालले गर्ने धेरै आर्थिक र कानूनी निर्णयहरू अन्तर्राष्ट्रिय वित्तीय संस्था, वैश्विक बजार, क्षेत्रीय शक्ति सन्तुलन र कूटनीतिक दबाबबाट प्रभावित हुन्छन् । यस्तो अवस्थामा “पूर्ण स्वतन्त्र नीतिनिर्माण” को पुरानो बुझाइ वस्तुगत यथार्थसँग मेल खाँदैन ।
तर वाम आन्दोलनभित्र यी विषयमा गम्भीर वैचारिक बहस नै छैन । फलतः उनीहरू न त पूँजीवादको नयाँ स्वरूप बुझ्न सक्षम छन्, न त्यसको वैकल्पिक मोडेल निर्माण गर्न । यही कारण वाम आन्दोलनले भूमण्डलीकरणलाई या त पूर्ण अस्वीकार गर्ने वा पूर्ण स्वीकार गर्ने सरलीकृत दृष्टिकोणमा आफूलाई सीमित गरिरहेको देखिन्छ ।
ऐतिहासिक मोड र प्रतिक्रान्तिको प्रवृत्ति – एक द्वन्द्वात्मक दृष्टि:
नेपालको वर्तमान राजनीतिक – आर्थिक संरचनालाई केवल सत्ता परिवर्तनको सामान्य चरणका रूपमा मात्र बुझ्न सकिँदैन । वाम आन्दोलनले लामो संघर्षबाट स्थापित गरेको सामाजिक रूपान्तरणको एजेन्डा व्यवहारमा कमजोर हुँदै गएको, र सत्तामुखी प्रवृत्ति संस्थागत हुँदै गएको सन्दर्भमा केही विश्लेषकहरूले यस अवस्थालाई प्रतिक्रान्तिकारी प्रवृत्तिको चरणका रूपमा पनि व्याख्या गर्ने गर्छन् ।
यहाँ “प्रतिक्रान्ति” भन्नाले अनिवार्य रूपमा राजनीतिक प्रणाली उल्टिनु भन्ने अर्थ होइन; सामाजिक रूपान्तरणको गति कमजोर हुँदै जानु, वर्गीय एजेण्डा क्रमशः निष्प्रभावी बन्नु र पुराना शक्ति संरचनाले नयाँ रूपमै पुनः प्रभाव जमाउनु भन्ने अर्थमा बुझ्नुपर्छ ।
द्वन्द्वात्मक भौतिकवादको दृष्टिले हेर्दा कुनै पनि क्रान्तिपछि पुराना र नयाँ शक्तिबीच अन्तरविरोध तीव्र हुन्छ । यही अन्तरविरोध कहिलेकाहीँ रूपान्तरण उल्टिएको जस्तो, वा पुराना संरचनाले पुनः प्रभाव जमाएको जस्तो देखिन्छ । नेपालको सन्दर्भमा पनि सामाजिक न्याय र वर्गीय एजेन्डा कमजोर हुँदै गएको अनुभूति यस्तै ऐतिहासिक तनावको अभिव्यक्ति हो ।
यस्तो अवस्थामा क्रान्तिकारी शक्तिको प्रमुख दायित्व आन्दोलनलाई वैचारिक विचलन, अवसरवाद र संगठनात्मक पतनबाट जोगाउनु हो । किनकि आन्दोलनको क्षय बाह्यभन्दा आन्तरिक कारणबाट बढी हुन्छ ।
गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय प्रभाव र वैचारिक अस्पष्टता:
नेपालको लोकतान्त्रिक संक्रमणपछि गैरसरकारी संस्थाहरू विकास, मानवअधिकार, सामाजिक समावेशीकरण र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय रूपमा सक्रिय देखिएका छन् । तर वाम आन्दोलनभित्र यिनको भूमिकाबारे अझै पनि एकीकृत, स्पष्ट र दीर्घकालीन वैचारिक दृष्टिकोण विकसित हुन सकेको छैन ।
परिणामतः एकातिर यिनलाई “बाह्य प्रभावका औजार” भन्दै अस्वीकार गर्ने र अर्कोतिर “शासन र विकासका अपरिहार्य साझेदार” का रूपमा स्वीकार गर्ने द्वैध व्यवहार कायम छ ।
यसले एउटा गम्भीर प्रश्न उठाउँछ – के वाम आन्दोलनले आजको विश्वमा राज्य, नागरिक समाज, अन्तर्राष्ट्रिय नेटवर्क र विकास राजनीति बीचको सम्बन्धलाई पर्याप्त रूपमा बुझेको छ ?
यदि यो प्रश्नको स्पष्ट उत्तर छैन भने वाम आन्दोलन अझै वैचारिक संक्रमणमै छ भन्ने बुझ्न कठिन हुँदैन ।
यो द्वैधता केवल NGO सम्बन्धी बहसको समस्या होइन; यो स्वयं वाम आन्दोलनभित्रको वैचारिक अस्पष्टताको प्रतिबिम्ब हो । राज्य कमजोर हुँदा, नीति निर्माण अपूर्ण हुँदा र राजनीतिक नेतृत्वभित्र रणनीतिक स्पष्टता अभाव हुँदा उत्पन्न रिक्तता विभिन्न बाह्य तथा अर्ध–स्वायत्त संस्थागत संरचनाले पूर्ति गर्ने गर्छन् ।
त्यसैले प्रश्न NGO को पक्ष वा विपक्ष होइन; राज्यको क्षमता, राजनीतिक नेतृत्वको वैचारिक स्पष्टता र राष्ट्रिय प्राथमिकतासँग यसको सम्बन्ध कसरी परिभाषित गर्ने भन्ने हो ।
संगठनभित्रको सामन्तवाद:
नेपालका वामपन्थी आन्दोलनको अर्को गम्भीर संकट यसको संगठनात्मक संस्कृतिमा छ – संगठनात्मक सामन्तवाद ।
सिद्धान्ततः प्रगतिशील भनिए पनि व्यवहारमा अधिकांश वाम दलहरू गहिरो सामन्ती मानसिकताबाट ग्रस्त छन् । वरिष्ठ स्वतः ज्ञानी हुने, नेतृत्वलाई प्रश्न गर्नु अपराध मानिने, अनुभवलाई ज्ञानभन्दा माथि राखिने, सीमित गुटको नियन्त्रण, आलोचनालाई “अवज्ञा” का रूपमा बुझिने र नेतृत्वलाई विचारभन्दा माथि राख्ने प्रवृत्तिले संगठनभित्र वैचारिक विकास अवरुद्ध गरेको छ।
मार्क्सवादलाई गतिशील दर्शन भनिन्छ, तर व्यवहारमा त्यसलाई स्थिर धार्मिक ग्रन्थजस्तो बनाइएको छ । सूचना र ज्ञानको विस्फोट (तिब्र विकास) भएको युगमा पनि “अनुभव नै अन्तिम सत्य” भन्ने सोचले संगठनलाई गतिहीन बनाइरहेको छ ।
आज डिजिटल युगमा एउटा युवा कार्यकर्ताले केही दिनको अध्ययनमै दशकौँ पुराना वैचारिक सामग्री अध्ययन गर्न सक्छ । ज्ञानको संरचना बदलिइसकेको छ । तर वाम आन्दोलनभित्र अझै ज्ञानलाई उमेर, पद र पुरानो अनुभवसँग जोडेर हेर्ने सामन्ती दृष्टिकोण बलियो छ ।
वास्तवमा अनुभव आफैंमा ज्ञान होइन; ज्ञान भनेको बदलिँदो यथार्थलाई संश्लेषण गरेर भविष्यको दिशा पहिचान गर्ने क्षमता हो ।
पूँजीवादलाई परास्त गर्ने दाबी गर्ने आन्दोलन स्वयं पूँजीवादभन्दा कम गतिशील भयो भने त्यसको वैचारिक संकट अपरिहार्य हुन्छ ।
आर्थिक दृष्टिकोणको संकट र दलाल पूँजीवादको विस्तार:
वाम आन्दोलनको सबैभन्दा गम्भीर कमजोरीमध्ये एउटा स्पष्ट आर्थिक दृष्टिकोणको अभाव हो । राजनीतिक रूपमा समाजवादको नारा दिने, तर व्यवहारमा दलाल पूँजीवादलाई संरक्षण गर्ने विरोधाभास नेपाली वाम आन्दोलनको मूल संकट बनेको छ ।
राष्ट्रिय उत्पादन, औद्योगिकीकरण, श्रम–आधारित अर्थतन्त्र र आत्मनिर्भर विकासको कुरा गरिए पनि व्यवहारमा आयातमुखी उपभोक्तावाद, वित्तीय दलाली र बिचौलिया अर्थतन्त्र विस्तार भयो ।
आज पनि मूल प्रश्न अनुत्तरित छ – नेपालको उत्पादनमुखी अर्थतन्त्रको मोडेल के हो ? निजी क्षेत्रको भूमिका कहाँसम्म हो ? राष्ट्रिय पूँजी र दलाल पूँजीबीच भिन्नता के हो ? श्रम, प्रविधि र उत्पादनलाई कसरी जोड्ने ? आत्मनिर्भर अर्थतन्त्रको आधार के हो ?
यिनै प्रश्नमा अस्पष्टता हुँदा व्यवहारमा दलाल पूँजीवाद हाबी भयो । राज्यको नेतृत्व गर्ने वाम शक्तिहरूले उत्पादनभन्दा उपभोग, श्रमभन्दा आयात र उद्योगभन्दा बिचौलियापनलाई अप्रत्यक्ष रूपमा बढावा दिए ।
परिणामतः गाउँहरू खाली भए, कृषि कमजोर भयो, श्रमिक वर्ग असुरक्षित बन्यो, उद्योग घटे, युवा विदेशिए र रेमिटेन्स आधारित उपभोक्तावादी अर्थतन्त्र विकसित भयो ।
यसले एउटा विचित्र अवस्था सिर्जना गर्यो – वर्गीय मुक्तिको राजनीति गर्ने नेतृत्वको आर्थिक स्तर उकासियो र अभिजात वर्गमा रूपान्तरित हुँदै गयो, तर श्रमिक वर्गको जीवनमा संरचनात्मक परिवर्तन आएन। यही कारण अहिले ठूलो जनसंख्या वाम शक्तिप्रति भावनात्मक रूपमा टाढिँदै गएको छ ।
विश्व अनुभव : इतिहासले दिएका कठोर सन्देश:
इतिहासले स्पष्ट देखाएको छ – आन्दोलनहरू बाह्य शक्तिले भन्दा आफ्नै आन्तरिक जडताले कमजोर हुन्छन् ।
सोभियत संघको विघटन केवल अमेरिकी दबाबको परिणाम थिएन; आन्तरिक वैचारिक जडता, आर्थिक अक्षमता, नेतृत्व संकट र जनतासँग दूरी त्यसका मुख्य कारण थिए । पूर्वी युरोपका कम्युनिस्ट शासनहरू सुधार गर्न नसक्दा ढले । पश्चिम बंगालमा ३४ वर्ष शासन गरेको सीपीआई (एम) अन्ततः जनतासँगको दूरी, संगठनात्मक जडता र नयाँ पुस्तासँग सम्बन्ध कमजोर हुँदा पराजित भयो ।
यी सबै उदाहरणहरूले एउटै कुरा देखाउँछन् – समयअनुसार रूपान्तरण गर्न नसक्ने आन्दोलन अन्ततः इतिहासको स्मृतिमा सीमित हुन्छ ।
नेपालको वाम आन्दोलन अहिले यही मोडमा उभिएको छ ।
अबको बाटो : आत्मसमीक्षा कि आत्मरक्षा ?
यद्यपि, नेपाली वाम आन्दोलनका लागि सम्भावना अझै बाँकी छ । समाजमा असमानता, शोषण, बेरोजगारी, महँगी र सीमान्तीकरण अझै गहिरो छ । यी प्रश्नहरूले वाम राजनीतिलाई समाप्त होइन, पुनःपरिभाषित हुन बाध्य बनाइरहेका छन् ।
यदि वाम आन्दोलनले अझै पनि आलोचनालाई “षड्यन्त्र”, प्रश्नलाई “अराजकता”, आत्मसमीक्षालाई “कमजोरी” र पुस्तान्तरणलाई “खतरा” ठानिरह्यो भने यसको क्रमिक अवसान रोक्न कठिन हुनेछ । तर सम्भावना अझै समाप्त भएको छैन ।
पुनर्जीवनका लागि वाम आन्दोलनले केही आधारभूत साहस देखाउनैपर्छ – वर्गीय राजनीतिमा पुनः फर्कने, श्रमिक, सुकुम्बासी, सीमान्तीकृत र आप्रवासी समुदायसँग पुनः सम्बन्ध निर्माण गर्ने, संगठनभित्र लोकतन्त्र विकास गर्ने, आलोचना र आत्मआलोचनालाई संस्थागत गर्ने, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने, डिजिटल युगका नयाँ आर्थिक–राजनीतिक प्रश्न बुझ्ने, मार्क्सवादी वैचारिकीको समकालीन पुनर्विकास गर्ने, राष्ट्रिय स्वाधीनता र वैश्विक अन्तरनिर्भरताबीच सन्तुलित दृष्टिकोण विकास गर्ने, उत्पादनमुखी अर्थतन्त्रको स्पष्ट खाका प्रस्तुत गर्ने, सामाजिक न्यायलाई व्यवहारमा लागू गर्ने ।
वाम आन्दोलनको भविष्य केवल पुराना नारा दोहोर्याएर सुरक्षित हुँदैन । नयाँ युगका प्रश्नको नयाँ उत्तर दिन सक्नुपर्छ । द्वन्द्वात्मक भौतिकवादले आन्दोलनलाई स्थिर होइन, निरन्तर परिवर्तनशील प्रक्रिया मान्छ । अन्तरविरोधलाई दबाउने होइन, पहिचान गरेर रूपान्तरण गर्नु नै विकासको आधार हो ।
निष्कर्ष : इतिहासको गौरव कि भविष्यको चुनौती ?
नेपालको वाम आन्दोलन अहिले केवल चुनावी संकटमा छैन; यो वैचारिक, नैतिक, संगठनात्मक र ऐतिहासिक संकटको घेरामा देखिन्छ । यसले विगतमा ठूलो राजनीतिक परिवर्तन सम्भव बनायो, तर अहिलेको चुनौती सत्ता प्राप्ति होइन – विश्वास पुनर्निर्माण हो ।
जनताले वाम आन्दोलनलाई केवल इतिहासका कारण साथ दिँदैनन्; उनीहरूले भविष्यको आशा देखे मात्र साथ दिन्छन् । जसको मुक्तिको नाममा आन्दोलन जन्मियो, यदि त्यही वर्ग आज असुरक्षित, अपमानित र निराश छ भने आन्दोलनले आफ्नो औचित्यमाथि उठेका प्रश्नको जवाफ दिनैपर्छ ।
आज नेपाली समाज गहिरो वर्गीय, मनोवैज्ञानिक र राजनीतिक संक्रमणबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा वाम आन्दोलन या त नयाँ वैचारिक पुनर्जागरणको वाहक बन्न सक्छ, या आफ्नै जडता र आत्ममोहको शिकार भएर क्रमशः अप्रासंगिक बन्न सक्छ ।
अब नेपाली वाम आन्दोलनसामु दुई बाटा मात्रै बाँकी छन् – पहिलो, आत्मरक्षाको बाटो : जहाँ इतिहासको गौरव दोहोर्याउँदै वर्तमानको असफलता ढाक्ने प्रयास हुनेछ । दोस्रो, आत्मसमीक्षाको बाटो : जहाँ कठोर समीक्षा, वैचारिक पुनर्निर्माण र रूपान्तरणमार्फत नयाँ राजनीतिक भविष्य निर्माण गर्ने प्रयास हुनेछ ।
अन्ततः प्रश्न एउटै हो – नेपाली वाम आन्दोलन परिवर्तनको नेतृत्व गर्नेछ, कि परिवर्तनको सिकार बन्नेछ ?
— २०८३ जेठ २ गते ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।


















