तेमाल- काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ मा ‘फ्री वाइफाइ जोन’ विस्तार कार्य सफलतापूर्वक सम्पन्न भएको छ। वडा कार्यालयको योजना अनुरूप यस क्षेत्रका विभिन्न महत्वपूर्ण पर्यटकीय तथा सांस्कृतिक स्थलहरूमा ‘फ्री वाइफाइ जोन’ विस्तार गरिएको हो ।
यसअघि वडा कार्यालयले पहिलो चरण अन्तर्गत गत मिति २०८२/११/२० देखि २०८२/१२/२० सम्म (एक महिना) उक्त क्षेत्रका प्रमुख पर्यटकीय र सांस्कृतिक महत्वका स्थलहरूमा नि:शुल्क वाइफाइको परीक्षण प्रसारण गरेको वडा अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिए । उक्त परीक्षण पूर्ण रूपमा सफल भएपछि प्रविधिको पहुँचबाट लाभान्वित भएका वडावासीहरूले अन्य सार्वजनिक तथा ऐतिहासिक स्थानहरूमा पनि फ्री वाइफाइ सेवा विस्तार गर्न सल्लाह, सुझाव र माग पेश गरेका थिए ।
स्थानीय नागरिकहरूको सोही उत्साहजनक माग र आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालयले दोस्रो चरण अन्तर्गत ९ वटा महत्वपूर्ण स्थानहरूमा फ्री वाइफाइ जोन स्थापना गर्न सफल भएको वडा अध्यक्ष तामाङले बताए । उनका अनुसार वाइफाइ जोन स्थापना गरिएका नयाँ स्थानहरू साबिक वडा १ को पकुवाल बुद्धपार्क, साबिक वडा २ को साबिक २ वडा कार्यालय, साबिक वडा ३ को छोर्दोन म्हाने, साबिक वडा ४ को पन्चाबुद्ध पुर्गाडाँडा, साबिक वडा ५ को देराली डाँडा, साबिक वडा ६ को रातमाटे पन्चाकन्या मन्दिरडाँडा, साबिक वडा ७ को छापा मगर सामुदायिक भवन, साबिक वडा ८ को छापाधार वाङ्तेन म्हाने र साबिक वडा ९ को सिङ्गटि छोर्दोन म्हाने रहेका छन् ।
यस प्रविधिमैत्री कदमले धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएका यी क्षेत्रहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई थप आकर्षित गर्नेछ। साथै, स्थानीय बासिन्दाहरूलाई सूचना र सञ्चारको मूल प्रवाहसँग जोड्न यस योजनाले ठूलो मद्दत पुर्याउने विश्वास वडा अध्यक्ष तामाङले जानकारी दिए ।
वडालाई सञ्चार प्रविधिले चुस्त बनाउने र नागरिकलाई आधुनिक सेवा सुविधा दिने वडा अध्यक्ष तामाङको यो कार्यप्रति यतिबेला सम्पूर्ण वडावासीले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरिरहेका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















