काभ्रे । आगामी भदौ १ गतेबाट गाई मारेमा ३ वर्ष कैद हुने भएको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २८९ पशुपंक्षी सम्बन्धि कसूर अनुसार त्यस्तो व्यवस्था गरिएको हो ।
उक्त कसुर अन्तर्गत गाई, गोरु मार्न वा कुट्न प्रतिवन्ध लगाइएको छ । उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्न गराउन बन्देज गरिएको छ ।
कसैको उद्योगले कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने भएको छ । उपदफा ३ मा कसैले गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पारेमा ६ महिनासम्म कैद र अन्य चोट पु¥याएमा ५० हजार रुपैयाँँसम्म जरिवाना तोकिएको छ । आफ्नो वा अरुको जिउज्यानमा पु¥याउने क्षतिबाट बच्नका लागि गरेको उद्योगबाट गाई वा गोरु मरेमा वा चोटलागेमा ऐन आकर्षित हुने छैन ।
पशुपंक्षी सम्बन्धि कसुरमा यस्तो पनि छ
ऐनको दफा २९० को उपदफा १ मा कसैले कुनै पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्नु दण्डनिय हुनेछ ।
तर पशुपक्षीलाई कुनै काम गर्न सिकाउने, तालिम दिने, त्यसलाई आफ्नो कामप्रति निपुर्ण बनाउने उद्देश्यले न्यूनतम बल प्रयोग गरी कुनै काम गर्न वा पशुपंक्षीलाई त्यसको शारीरिक क्षमता अनुसार कुनै भारी बोकाउन वा दौडाउन भने बाधा पर्ने छैन । त्यस्ता कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
सार्वजानिक स्थलमा पशु वा पंक्षी मार्न नहुने
ऐनको दफा २९१ को उपदफा १ मा कुनै पशु वा पंक्षीलाई परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मार्न रोक लगाइएको छ । परम्परादेखि पशु वा पंक्षीको बध गर्दै आएको मेला, जात्रा, हाट वा महोत्सव वा स्थानमा पशु वा पंक्षी मार्न वाधा पर्ने छैन । यस प्रयोजनका लागि बाटो, सडक, पुल, चौर वा मानिस आवत जावत गर्ने ठाउँलाई सार्वजनिक स्थलको रुपमा व्याख्या गरिएको छ ।
धार्मिक स्थलमा पशु वा पंक्षीको बली दिनुपरे विकल्पमा हुन सक्ने अन्य उपाय भएसम्म अवलम्बन गर्न सकिने ऐनमा व्यवस्था गरिएको छ । कसूर गर्ने वा गराउने व्यक्तिलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । दफा २९२ ले कसूर भएको मितिले वा कसूर भएको थाहा पाएको मितिले तीन महिना भित्र उजुर लाग्ने गरि हदम्याद तोकेको छ ।
















