काठमाडौं । नेपालमा कतिपय आदिवासी जनजाति समुदायमा ‘मामा चेला फूपू चेला’ विवाह हुने प्रचलन रहेको छ । यस अघि मुलुकी ऐनमा हाडनाता परेकोले प्रतिबन्ध नै लगाएको थियो । तर हालै बनेको मुलुकी ऐन (अपराध संहिता) २०७४ भने लचिलो भएको छ ।
हालसम्म प्रचलनमा रहेको मुलुकी ऐन २०२० ले हाडनाता विवाहमा प्रतिबन्ध नै लगाएको थियो । यद्यपि हाडनाताभित्र विहे गर्नेमाथि कारबाही भएको चाहिँ व्यवहारमा पाइँदैनथ्यो ।
मुलुकी ऐनको विहेबारीको महलको १ नम्बरमै लेखिएको छ ‘विहेबारी भएकोमा हाडनातामा पर्न गएको रहेछ भने ती लोग्ने स्वास्नीलाई छुट्याइ दिनुपर्छ । जानीजानी त्यस्तो विहावरी गरेकोमा हाडनाता करणीको महलमा लेखिए बमोजिम सजायँ समेत हुन्छ ।’
तर भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा भने समाजमा प्रचलित हाडनाता विवाहलाई मान्यता दिइएको छ । यसको विवाहसम्बन्धी कसुरको दफा १७२ मा भनिएको छ ‘कसैले परम्परा अनुसार चलिआएको अवस्थामा बाहेक हाडनाता करणीमा सजाय हुने नातामा विवाह गर्न गराउन हुँदैन ।’
यदि परम्परामा चलेको बाहेक हाडनातामा विवाह गरेमा भने यसमा पनि बदर हुने व्यवस्था गरिएको छ ।
२० वर्ष नपुगी बिहे गरे ३ वर्ष कैद
मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । विहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।