काठमाडौं । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
छ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको सो हेलिकप्टर धादिङको गंगाजमुना गाउँपालिकास्थित रि गाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको एल्टिच्यूड एयरका सञ्चालक फुर्बा शेर्पाले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार ९ एन ए एल एच कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए ।
यसैगरी एल्टिच्यूड एयरका प्रवन्ध निर्देशक निमा निरु शेर्पाले रेस्क्युका लागि टोली पठाइएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको जानकारी दिए ।
हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए ।
इलाका प्रहरी कार्यालय सामागाउँ प्रहरी चौकीका अनुसार हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका ल्हो आनी डाेल्पा डिक्की, छोवाङ नुर्बु र सुनिल तामाङ छन् ।
यता, धादिङ प्रहरी प्रमुख डम्बर बिसीले भने नुवाकोट र धादिङको सीमामा हेलिकप्टर फेला परेको भन्ने प्रारम्भिक सूचना आफूहरुलाई प्राप्त भएको जानकारी दिए ।
‘सम्भावित ठाउँमा खोजीका लागि दार्खा र नुवाकोटबाट प्रहरीको टोली खटाइएको छ,’ उनले भने, ‘हेलिकप्टर फेला परिसकेको अवस्था छैन ।’























