पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवैध यौन धन्दा रोक्न रेडलाइट एरियाको व्यवस्था र यौनकर्मीलाई परिचय पत्र दिन आवश्यक रहेको बताएका छन । होटल संघ नेपाल र पश्चिमाञ्चल होटल संघले पोखरामा मंगलबार आयोजित गण्डकी प्रदेशको पर्यटन रणनीति विषयक अन्तक्रियामा बोल्दै यस्तो धारणा राखेका हुन् ।

समाजमा लुकिछिपी भएको यौन कार्यले कसैलाई फाइदा नहुने भएकाले व्यवस्थित बनाउन आवश्यक रहेको मुख्यमन्त्री गुरुङले बताए । समाजमा हुने यौन धन्दा व्यवस्थित गर्न बहस हुनु आवश्यक रहेको उनको भनाई थियो । उनले रेडलाईट एरिया बनाउन नसके यौनकर्ममा लागेकालाई परिचय पत्र दिने व्यवस्था गर्नु पर्ने बताए । परिचय पत्र लिएकालाई प्रहरी प्रशासनले कारबाही गर्न नपाउने तर, उनीले सरकारलार्इ कर तिर्नु पर्ने उनको भनाई थियो ।

गोप्य भइरहेको यौन धन्दाले केही मानिसलाई मात्र फाइदा भएको भन्दै उनले परिचय पत्र लागू गरे प्रहरीसमेत झन्झटबाट मुक्त हुने बताए । कामको शिलशिलामा पोखरा आएका सरकारी कर्मचारी निशुल्क उपलव्ध हुने अतिथी गृहमा नबस्नु र लेकसाइड साथै अन्य स्थानमा बस्नु यौन कारण रहेको उनले बताए ।

यौन व्यवसायलाई व्यवस्थित गर्न आवश्यक रहेकाले खुला दिलले छलफल गर्नु पर्ने समय आएको उनको धारणा थियो । यसो गर्न सके समाजमा शान्ति सुरक्षा र अमन चयन कायम गर्नसमेत सहयोग पुग्ने उनले उल्लेख गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।