काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबाबुले न्यायको आश मरिसकेको बताएका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएर फर्केपछि निर्मलाका आमाबाबुले सरकारबाट आश्वासन धेरै पाएको भन्दै अब न्याय चाहिएको बताए । ‘आश्वासन धेरै पायौँ, न्याय चाहियो गृहमन्त्रीज्यू,’ ज्ञापनपत्र बुझाउने क्रममा निर्मलाकी आमा दुर्गादेवीले भनिन् । यो समाचार आजको नयाँपत्रिकामा छापिएको छ ।
गृहमन्त्रीले भने चिन्ता लिनु नपर्ने भन्दै दोषी पक्राउ पर्ने आश्वासन दिए । ‘हामी अपराधीको धेरै नजिक पुगिसकेका छौँ, चिन्ता लिनुपर्दैन, गृहमन्त्रीका रूपमा अपराधी पक्राउ नपर्दा मलाई पनि धेरै पीडा भइरहेको छ,’ गृहमन्त्री थापाको जवाफ थियो । तर, गृहमन्त्रीको जवाफबाट उनीहरू खुसी हुन सकेनन् । किनकि यस्ता आश्वासन उनीहरूले धेरैपटक पाइसकेका छन् । गृहमन्त्री थापाले एक महिनाअघि नै दुई अभियुक्त पक्राउ परिसकेको भनेर संसद्मा बोलेका थिए । गृहमन्त्रीसँग भेटेर निस्किएपछि गृह मन्त्रालय परिसरमा निर्मलाका बाबु यज्ञराजले भने, ‘आश्वासनको अब विश्वास लाग्न छाडिसक्यो ।’
























