प्रकाश तमाङ
चितवन। विश्व सरसफाइ दिवसको अवसर पारेर सुन्दर नेपाल सरसफाइ अभियानले आज देशव्यापी रुपमा सरसफाइ गरेको छ।

काठमाडौंसहित मुलुकका विभिन्न शहरहरुमा बिहान ७ बजेदेखि ११ बजेसम्म एक साथ सरसफाइ कार्यक्रम गरेको हो। ‘सुन्दर नेपाल बनाउन, सुन्दर नेपाल सरसफाइ अभियानमा सहभागी बनौ। विश्व सरसफाइ दिवस सफल पारौ।’ भन्ने नाराका साथ गरिएको देशव्यापी सरसफाइ अभियानमा हजारौ स्वयंसेवकहरु सहभागी भएका थिए।
सरसफाइ अभियानको समापन समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,सुन्दर नेपाल सरसफाइ अभियानका राष्ट्रिय सम्योजक वीर बहादुर तमाङ, क्लिन अप नेपाल चितवनका बिरेन्द्र पौडेल भरतपुर महानगरपालिकाका प्रासासकिय प्रमुख महानगरपालिकाको वातावरण प्रशासन महाशाखाका प्रमुख लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले हरेक व्यक्तिले आफ्नो कर्तव्य महशुस गर्ने हो भने सबै समुदाय सफा राख्न कुनै समस्या नहुने बताए। ‘आफूले उत्पादन गरेको फोहोरलाई व्यवस्थापन गर्न आफैँ लाग्नु पर्नेमा पनि जोड दिनु भएको थियो।
यस्तै काठमाडौंमा काठमाडौं महानगरपालिकासँगको साझेदारितामा सबै ३५ वटै वडामा सरसफाइ कार्यक्रम भएको थियो। त्यस्तै, भक्तपुर, ललितपुरसहित उपत्यका बाहिर बैतडी, दैलेख, मकवानपुर, पोखरा, बुटवल, इटहरी, बिराटनर, बनेपा, धुलिखेल, नगरकोट, पनौति, पाल्पा, जुम्ला लगायत जिल्लाहरुमा सरसफाइ भएको छ। सुन्दर नेपाल सरसफाइ अभियानले बिभिन्न संघ संस्था तथा सरसफाई अभियानता सँगको साझेदारितामा इटहरीमा ११ हजार व्यक्तिले ११ हजार बिरुवा रोपेका थिए। यस्तै, काठमाडौंको नरदेवीमा पनि वृक्षारोपण गरिएको छ।
त्यस्तै, भक्तपुरको बालकोटमा फोहोर व्यवस्थापन सम्बन्धी नाटक प्रदर्शन गरिएको थियो। आजको सरसफाइ अभियान मार्फत देशभरबाट एक लाख ६ हजार ४८ किलो फोहोर संकलन भएको छ। यो वर्ष मुलुकभरबाट २ सय ४० वटा स्थानीय समुदाय तथा संघसंस्थाहरु सरसफाइ अभियानमा सहभागी भएका थिए। सुन्दर नेपाल सरसफाइ अभियानले अघिल्लो वर्ष मा पनि देशव्यापी रुपमा सरसफाइ अभियान सञ्चालन गरेको थियो।
























