२७ फागुन, सिन्धुपाल्चोक । बैदेशिक रोजगार नेपालीहरुको इच्छा र खुशीको रोजगार होइन, बाध्यता, अभाव, गरिबीका कारण अनिच्छित रोजाई हो बैदेशिक रोजगार । विशेष गरि ग्रामिण भेगका अधिकांश युवाहरु परिवार पाल्न, छोराछोरी पढाउन विदेशिन बाध्य हुन्छन् । लाखौं युवाहरु माध्यमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका नवलपुरका हरिबहादुर तामाङ ठूलै सपना बोकेर विदेशिएका थिए । उनी ‘होला कि’ भनेर पटक पटक गरि तीन पटक विदेशिन बाध्य भए । तर अवस्था उहीं, अभाव झनपछि झन बढ्दै गयो, ऋण माथि ऋण थपियो ।

‘ऋण काटेर विदेश गएँ, ऋण तिर्नु त कता हो कता उल्टै ऋण पो थपियो ।’ हरिबहादुरले भने– ‘ऋण तिर्न नै भनेर तीन पटक विदेश गएँ, तर सकिन ।’  रित्तो हात मात्र होइन, ऋणै बोकेर विदेशबाट आएका हरिबहादुर युवाअवस्था काम खोज्दै काठमाडौंमा नपसेका पनि होइन । तर काठमाडौंमा उनले कुनै काम पाएनन् । बेरोजगारहरुको जंगलमा उनी पनि थपेको मात्र थियो । अनि उमेरले २८ वर्ष लाग्दै गर्दा उनले बैदेशिक रोजगारको बाटो तताउने शुरमा पुगे ।


हरिबादुर पहिलो पटक पुगे साउदी । तीन वर्ष साउदी बसाईमा कमाई राम्रो भएन । ‘साउदीमा गएपछि दलालको फन्दामा परेको रहेछु, दलालले भनेको जस्तो कमाई भएन ।’ उनले तेमाल अनलाईनसँग भने– ‘उल्टै ऋण तिर्न समेत सकिन, स्वदेश फर्कें ।’

स्वदेश फर्केपछि पनि उनलाई दैनिकी चलाउन गा¥हो नै भयो । अब फेरि उनले विदेशमै जाने सोंच बनाए । फेरि साहुसँग ऋण लिएर भिसा लगाउन तिर लागे । फेरि दोस्रो पटक पनि पुगे साउदी नै । दोस्रो पटक पनि विदेश यात्रा फापेन उनलाई । ‘दोस्रो पटक विदेश जाँदा झन् समस्यामा परें ।’ हरिबहादुर पुरानो दिनहरु सम्झदै भन्दै थिए– ‘स्वदेश फर्किनुको मसँग कुनै विकल्प रहेन ।’ स्वदेश फर्केपछि साथीभाईको सहयोगमा काठमाडौंको इन्द्रचोकमा चप्पल पसल खोले । कमाई राम्रै थियो । विस्तारै विदेश गएको ऋण तिर्दै र परिवार पाल्दै थिए उनी । तर विडम्बना, काठमाडौं महानगरपालिकाले सडक विस्तार गर्ने भएपछि उनले पसल छोड्नुपर्ने बाध्यता आईलाग्यो ।

अब फेरि हरिबहादुरको अगाडि विदेसिनुको विकल्प रहेन । ‘पसल छोडेपछि मेरो अगाडि विदेशिनुको विकल्प थिएन । त्यसैले मेनपावर चाहर्न थालें मैले ।’ उनले भने– ‘म मलेसियामा गएँ ।’

कुनै बेला वैदेशिक रोजगारीका लागि राम्रो गन्तव्य मानिने मलेसिया उनी पुग्दा असुरक्षित बनिसकेको रहेछ । धेरैपटक लुटेराहरुको सामना गर्नुप¥यो । त्यसपछि ज्यान जोगाउन भएपनि मलेसिया छाड्ने निधो गरे । ‘मैले देखेको सपना पूरा हुनु त परै जाओस्, आधारभूत आवश्यकता पूरा गर्न समेत धौ–धौ भएपछि मलेसिया बस्नु उचित लागेन ।’ उनले भने– ‘म मनभरि पिडा बोकेर स्वदेश फर्कें ।’

स्वदेश फर्केपछि उनले आफ्नै पाखो पखेरोमा जीवन खोज्ने निधो गरे । विदेशको यात्रा अब कहिल्यै नगर्ने निधो गरे । ‘पाखो खेतबारीमा तरकारी खेती र बाख्रापालन गर्ने योजना बनाए ।’ हरिबहादुरले भने– ‘स्वदेशमै सुन फलाउने निधो गरें मैले ।’

गत सालकै चैतमा ‘थाकन पशुपालन तथा कृषि उद्योग’ दर्ता गरे उनले । आफ्नै पाखाको चित्रे गोठमा बाख्रा र कुखुरा फाम खोले उनले । त्यतिमात्र होइन एक्लै जाँदा डर लाग्ने त्यो पाखो खेतमा गोलभेडा, काँक्रो, फर्सीले पाखो ढाक्दै थियो । उनले यो कार्यमा आफ्नै श्रीमतिको सहयोग पाएका थिए ।

अचेल उनको फर्ममा उत्पादन भएको कुखुरा, खसी र तरकारी किन्न ग्राहक फार्म सम्मै आउन थालेका छन् । यतिखेर उनलाई आफ्नै पाखामा निर्धक्क काम गर्न पाउँदाको आनन्दले तीनपटक विदेशिएको पीडा विर्सेको अनुभूति भको छ ।
‘सुरुमा ३ ओटा बाख्रा किनेको थिएँ, अहिले १९ ओटा माउ सहित ३५ बाख्रा भएका छन् ।’ खुसी हुँदै तामाङले भने– ‘त्यसपछि गोलभेडाको टनेल लगाइ गोलभेडा र काँक्रो फलाएँ ।’


पहिलो वर्ष खर्च कटाएर हरिबहादुरले २ लाख रुपैयाँ कमाए । अनि विदेशमा लाग्दाको ऋण र पसल राख्दाको ऋण यसैबाट तिर्दै छन् उनी ।

अहिले तामाङको दैनिकी खसी, बोका, बाख्रालाई सफासुग्घर राख्नै रोग लाग्न नदिने र घाँस काट्नेदेखि कुखुराको हेरचाहमा बित्छ । यसका अलावा सिजन अनुसार तरकारी खेतीमा पनि व्यस्त छन् । गोलभेडा, काँक्रो, काउली, फर्सी फल्न थालेको छ । बजार राम्रै पाएको छ ।

विशेष गरि वैदेशिक रोजगारको सिलसिलामा विदेशिएका युवाहरुको लागि हरिबहादुर नमुना पात्र बनेका छन् । स्वदेशमै लगानी, स्वदेशमै उत्पादन तिर लागे कमाई यतै हुनेरहेछ भन्ने उदाहरणीय पात्र बनेका छन् हरिबहादुर । त्यतिमात्र होइन, रोजगारीको नारा लगाएर नथाकेका राजनीतिक पार्टी र त्यसको नेतृत्वमा बनेको सरकारलाई पनि हरिबहादुरको जीवनले केही पाठ सिकाएको हुनुपर्छ ।

‘रिमिट्यान्सले देश चले छ’ भनी गर्वका साथ भाषण गर्ने नेताहरुले अब स्वदेशमै रोजगारको ग्यारेन्टी गर्ला त ? समृद्धि त्यसै आउँदैन, स्वदेशको श्रम स्वदेशमै लगाए समृद्ध मुलुक धेरै टाढाको विषय होइन । अब सोच्ने पो हो कि सबैले ?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।