काठमाडौं । वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालमा वेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ।
मंगलबार पत्रकारसँग कुराकानीमा आयोगका अध्यक्ष युवराज सुवेदीले द्वन्द्वकालमा कुनै व्यक्ति वेपत्ता भएका कारण सम्पत्ति रोकिएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेका छन्।
अध्यक्ष सुवेदीले द्वन्द्वकालमा बन्दीहरु बेपत्ता गरेको आरोपमा बदनाम नेपाली सेनाका दुई व्यारेकमाथि छानबिन हुने पनि बताएका छन्।
उनले काठमाडौंस्थित नेपाली सेनाको भैरवनाथ गण र बाँकेको चिसापानी ब्यारेक (तत्कालीन भीमकाली गुल्म) मा भएका मानवअधिकार उलंघनका घटनाको पनि छानबिन गरिने जानकारी पत्रकारहरुलाई दिएका हुन्।
नेपाली सेनाको तत्कालीन भैरवनाथगणमा माओवादी कार्यकर्ता र माओवादी समर्थकहरुलाई बन्दी बनाएर चरम यातना दिएको आरोप छ। यो ब्यारेकमा थुनिएकामध्ये ४९ जनालाई शिवपुरीमा लगेर गोली हानी मारिएको आरोप सेनामाथि लागेको छ।
भैरवनाथ गणमा भन्दा धेरै संख्यामा बन्दीहरु बेपत्ता र हत्या गरेको आरोप बाँकेको चिसापानी ब्यारेकमाथि पनि लागेको छ। चिसापानी व्यारेकबाट आफ्ना आफन्त बेपत्ता र हत्या गरिएको भन्दै बर्दियासहितका २७५ जनाले उजुरी दिएका थिए।
त्यसैगरी रुकुमको खारा घटनाको पनि छानबिन गरिने जानकारी सुवेदीले दिएका छन्। द्वन्द्वकालमा सबैभन्दा प्रभावित रुकुमको खारामा २०५६ साल फागुन १० गते तत्कालीन शाही नेपाली सेनाबाट १५ स्थानीयबासी मारिएका थिए।
माओवादी समर्थित केही गाउँलेसहित १५ जना खाराबासीलाई तत्कालिन शाही नेपाली सेनाले माओवादीका लडाकु भन्दै हत्या गरेको आरोप छ। त्यसबेला सेनामाथि ८० भन्दा बढी घरहरुमा लागो लगाएर गाउँ नै सखाप पारेको अर्को आरोप पनि छ।
आयोगका अध्यक्ष युवराज सुवेदी
सम्पत्ति हस्तान्तरण, अंशबण्डालगायतका समस्या आएका छन् भने आयोगमा सम्पर्क गरेर समाधान गर्न सकिने उनले बताए। ‘आयोगमा सम्पर्क गर्नुहोस्। परिपत्र दिनुपर्ने हो की, पत्र लेख्नुपर्ने हो की, कसैलाई भन्नुपर्ने हो कीरु हामी गर्छौ’, उनले बताए।
आयोगले व्यक्ति हेरेर छानबिन नगर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष सुवेदीले उजुरीकर्ताले दिएको उजुरीको र छानबिनको आधारमा निर्णय हुने बताए।
ठूला माछालाई छोड्ने र सानालाई समात्ने भन्ने आशंका नगर्न आग्रह गर्दै उनले भने, ‘अनुसन्धानले को ठूलो को सानो भन्छ। हामीले गरेको अनुसन्धानको नतिजा हेरेर तपाईंले मुल्यांकन गर्नुहोला।’
आयोगमा २५ सय ६ वटा उजुरीमाथिको अनुसन्धान सुरु भएको छ। आयोगमा परेका उजुरीहरू खोलेको र अनुसन्धान अधिकृत तोकेर रोल्पामा टोली पठाउने तयारी भएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष सुवेदीले वेपत्ता भएको भनि उजुरी परेका केही व्यक्तिहरू सम्पर्कमा आएको बताए।
आयोगको सम्पर्कमा आएका व्यक्तिहरुको नाम केही दिनमा नै सार्वजनिक गरिने उनले बताए। आयोगका अध्यक्ष सुवेदीले ऐन संशोधनको तयारी सुरु भएको बताएका छन्। उनले पीडितको सहमतिमा क्षमादान दिन सक्ने गरी कानुनी व्यवस्था गर्न सरकारलाई १४ बुँदे सुझाव दिइएको बताए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।