-
अशोक बुद्ध लामा(गुरु)
पुर्वी झापाको लोदावारीमा च्यामे नामको गरिब बस्दछ । उसको घरमा श्रीमती छोरा सहित ३ जनाको परिवार छ । सम्पतिको नाममा सानो झुपडी रहेको छ । उसले अरुको घरमा ज्यामी काम गरेर परिवार दुःखजीलो गरेर पाल्दछ । श्रीमतीलाई मुटुको व्यथा छ तर उसको गरिबीको कारणले उपचार भने गर्न सकिदैन, गरिबीकै कारणले छोरालाई पनि पढाउन सकिदैन ।
मंसिर महिनाको समय थियो पुरै धान काट्ने समय थियो तर उसलाई के मंसिर के असार किनकि ऊ प्रायः साहु महाजनको गगनचुम्बी महल बनाउने ज्यामी काममा व्यस्त हुन्थ्यो । ऊसँग खेतीबाली लगाउने खेतबारी नै थिएन ।
सदाझै ऊ धनीको घर बनाउने काममै थियो । मंसिर महिनाको समयमा पुरै सहर बस्ती चुनावको रंगिन संसारमा हुन्छ, घर, मन्दिर, मस्जिद, चैत्य, पाटी, पौवा, सडकका भित्ता सबैमा रंगिचंगी चुनावका उमेदवारको पर्चा टाँसेको हुन्छ र झन्डा गाडेको हुन्छ । शहर बेहुलीझै सिंगारिएको हुन्छ र उसलाई लाग्छ यतिका खर्च गर्ने पैसा कहाँबाट आउने हो ?
यतिका प्रचारप्रसार गर्ने मान्छे (नेता,कार्यकर्ता) राम्रा चिल्लो गाडीमा हिड्छन् । महंगो होटलमा खान्छन् । उसलाई लाग्छ उनीहरूलाई त पैसा छाप्ने मेसिन नै होला होइन भने यतिका धेरै खर्च कसरी गर्न सक्छन त ?
ऊ सदाझै धनी वर्गको महल बनाउने काममा नै व्यस्तता थियोे । एक हुल मान्छेहरु आएर चर्को आवाज (माइक)बाट भन्छन्ः हाम्रो नेता महान छ, हाम्रो पार्टी जिन्दावाद, माक्सवाद–लेनिनवाद –जिन्दावाद, संसारका मजदुरहरु एक हौँ !
एकछिन उमेदवारले भाषाण गर्न थाल्छः हाम्रो पार्टी मजदुरहरुको पार्टी हो, संसारका मजदुरहरु एक हुनुपर्छ पूँजीवादी सामाज र सामान्तवाद समाजको अन्त्य गर्नुपर्छ त्यसैले मलाई भोट दिनुहोस्, म तपाईंहरुको आवस्यकता पूरा गर्नेछु ।
च्यामेको मनमा खुसीको बहार छाउछ र सोच्न थाल्छ अब भने हामी गरिबीको पनि राम्रो दिन आएजस्तो छ ! किनकि हामी जस्ता मजदुरहरुको पक्षमा बोल्ने नेता पनि हुँदा रहेछन् अब मेरी श्रीमतीको पनि उपचार होला, मेरा छोरा पनि पढ्न पढाउन सक्छु होला, छोरा अदालतमा बहस गरेको कल्पना गर्छ ।
भोलिपल्ट उहीँ समयमा त्यस्तै एकहुल आएर चर्को आवाजमा भन्न थाल्छः राष्ट्रियता–जिन्दावाद, लोकतन्त्र–जिन्दावाद, समाजवाद–जिन्दावाद र उमेदवार बोल्न थाल्छः ‘आदार्णिय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरु हाम्रो पार्टी राम्रो छ, हामी पुँजीवादी अर्थतन्त्रमा विस्वास गर्छौ, हाम्रो पार्टी धनीहरुको पार्टी हो, हामी गरिबलाई पनि धनी बनाउछौ, मलाई भोट हालेर जिताउनुहोस, गरिब कोही पनि रहनुपर्दैन, गरिब केवल शव्दकोषमा मात्रै सिमित हुन्छ ।’
च्यामे कल्पनामा रमाउन थाल्छ, आफ्नो पनि महल भएको श्रीमतीको उपचार भएको छोराले विद्यालय पढेको आदि।आदि !
अब चुनावको दिन पनि आयो र भोट पनि हालियो । उक्त चुनावमा एक पक्षको जित हुन्छ र विजय जुलुस निकाल्छ र नेताले भाषाण गरेर भन्छ, ‘मलाई जिताएकोमा धन्यवाद अब मेरो क्षेत्रमा कुनैको पनि उपचार नभएर मर्नुपर्ने छैन, यो सबै मिलाउने जिम्मा मेरो भयो…… आदि…. आदि यत्तिमात्रै के भनेको थियो सबैले हाम्रो नेता महान छ, हाम्रो पार्टी जिन्दावाद हाम्रो नेता जिन्दावाद !
चुनावको सकेको १ महिनापछि च्यामेको श्रीमतीको व्याथा झन् बढी हुन थाल्छ र अस्पतालमा लानैपर्ने हुन्छ र त्यो समयमा उ आफुले जिताएको नेताको समक्ष पुगेर बिम्ती गर्दै भन्छः ‘नेता ज्यू, मेरी श्रीमती सिकिस्त छे उपचार गराइ पाउँ…..’ नेताले भन्छन्ः ‘अब म दुनियाँको श्रीमतीको जिम्मा लिएर हिड्नुर्यौ होइन ?’ च्यामेले बिम्ती बिसाएर भन्छ, ‘हजुरले चुनावको समयमा बोल्नुभएको थियो त छोराछोरी अशिक्षित र बेरोजगारी हुनु पर्दैन सबैले उपचार पाउने छ ।’ नेताले भन्छन्ः ‘त्यो त भाषाणमा पो भनेको त थोडी यथार्थमा हुने कुरा हो ।’ नेताको यस्तो वचन सुनेपछि उ निराशा भइ फर्कन्छ र अस्पतालमा श्रीमतीको मृत्युु भैसकेको हुन्छ ।
उसलाई नेता चिल्ला गाडीमा हिडेको सानोतिनो स्वास्थ समस्य भएपनि विदेशमा उपचारको लागि गएको यो सबै सम्झेर उ आफ्नो देश र कर्मलाई धिकार्दै भन्छन् ‘थुक्क मेरो देश, थुक्क मेरो नेता, थुक्का मेरो जिन्दगी ।’
(लेखकः रोशी साहित्य मञ्चको सचिव हुनुहुन्छ)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।