–देवकुमार मोक्तान
नेपालको संविधान २०७२ को प्रस्तावनामै संविधान जारी गर्नुको मूल ध्येय मध्ये ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न’ भन्ने वाक्यांश उल्लेख गरी समाजवादको परिकल्पना समेत गरिएको देखिन्छ । यहाँ ‘समाजवाद’ शब्द भन्दा अगाडि प्रयुक्त भएका अन्य शब्दहरुले बोकेको अवधारणागत अर्थ नबुझी समाजवादको अर्थ बुझ्न सकिँदैन । ती सबै केवल शब्द समूह नभई बृहत अर्थ राख्ने सैध्दान्तिक अवधारणाहरु हुन् । ती अवधारणाहरुबाट हालको नेपालको संविधानले व्यक्त गर्न खोजेको समाजवाद माक्र्सवादको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादले व्याख्या गरेको समाज विकासको क्रममा देखा पर्ने समाजवादी समाज अन्तर्गतको समाजवाद होइन भन्ने प्रष्ट रहेको छ ।
संविधानको प्रस्तावनामा रहेको समाजवाद शब्द अगाडि राखिएका सबै अवधारणागत शब्दहरु उक्त समाजवादको विशेषता जनाउने विशेषण बोधक शब्दावलीहरु भएकाले प्रष्ट नै देखिन्छ कि यो ‘समाजवाद’ शब्द बहुदलीय संसदीय पूँजीवादी राज्य प्रणालीलाई रक्षा गर्नका लागि संविधानसभाका सदस्यहरुले बढो चलाखीपूर्ण ढङ्गले संविधानमा घुसाएको शब्द हो भन्ने बुझ्न कुनै कठिनाइ छैन ।
बिडम्बनाको कुरा, संविधानमा प्रयुक्त ‘समाजवाद’ शब्दलाई नेपालका कम्युनिष्ट नामधारीहरुले ठुला चिच्याहटका साथ उच्चारण गरिरहेको पाइन्छ । उनीहरु के भन्छन् भने अव नेपालमा सबै प्रकारका राजनैतिक क्रान्ति सकियो, अव आर्थिक क्रान्ति गरेर समाजवादको दिशामा अगाडि बढ्ने हो । यही समाजवाद शब्दको व्यापार गरेर तिनीहरु नेपालका गरिवीका रेखामुनि रहेका, उत्पादनको साधनको रुपमा श्रम बाहेक अरु विकल्प नभएका निम्न र अति निम्न तहका जनताहरुलाई भ्रममा पार्न सफल भइरहेका छन् ।
यो भ्रमजाल यतिसम्म शक्तिशाली भयो कि तिनीहरुले भन्न पनि के पायो भने ‘समाजवाद’ त संविधान मै राखियो । यसो हेर्दा हो पनि जस्तो । कसरी नपत्याउने ? संविधानमै राखेपछि समाजवाद नआउने कुरै छैन भनेर तिनीहरुले भन्ने नै भए । त्यही भन्न र जनतालाई भ्रम पार्ने निहीत स्वार्थबाट प्रेरित भएर नै संविधानमा उक्त शब्दको अवतरण गरिएको बुझिन्छ ।
दुई छाक खानको लागि भौंतारिन बाध्य जनताले समाजवाद शब्दको बहुरुपी अर्थ बुझ्न सक्ने अवस्था र फुर्सद पनि छैन । उनीहरु त यिनीहरुले भनेका गुलिया र मीठो आश्वासनहरुमा लट्ठ छन् । समाजवाद शब्दले गरीव जनतामा एक खालको एनेस्थेसिया (लट्ठ्याउने औषधी) को काम गरे जस्तो देखिन्छ ।
माक्र्सवादको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादले व्याख्या गरे अनुसार समाज विकासका पाँच युगहरु हुन्छन् १. आदिम साम्यवाद, २. दास युग, ३. सामन्तवादी युग, ४. पूँजीवादी युग र ५. साम्यवादी युग । जस मध्ये समाजवादी समाज पूँवीवाद र साम्यावदको बीचको चरणको समाजलाई भनिएको हुन्छ । यो समाज परिवर्तनको सिध्दान्त हो । यो त गतिशील ९म्थलबmष्अ० सिध्दान्त हो । समाज गतिशील भएकै कारण उल्लेखित विभिन्न चरणहरुमा समाजको विकास भएर आएको र हुन बाँकी रहेको प्रष्ट नै छ ।
समाज परिवर्तनको सवालमा माक्र्सवादको उक्त व्याख्या मानव इतिहासमा आजसम्मकै नवीनतम र वैज्ञानिक व्याख्या मानिन्छ । यो भन्दा बढी र नवीन व्याख्या भनिएका व्याख्याहरु कि त संशोधनवाद हो कि त माक्र्सवादको अपव्याख्या र सतही आलोचना वा विरोध मात्रै हो । संसारका माक्र्सवादका असली विरोधीहरु जस्तै नेपालका नामधारी कम्युनिष्टहरु पनि माथि वर्णित समाज विकासको गतिशील सिध्दान्तलाई जडसूत्रवाद भनी कोकोहोलो गर्छन् र गर्दै आएका छन् । गतिशील सिध्दान्त मान्नु जडसूत्र कसरी हुन्छ ? भन्ने प्रश्नको जवाफ यिनीहरुमा छैन । किनकि यिनीहरु त समाज विकासको परिवर्तनशील चरित्रलाई हैन कि स्वयं माक्र्सवादलाई परिवर्तन गर्नु वा संशोधन गरी पूँजीवादी सिध्दान्तसँग मितेरी गाँस्नु वा त्यसलाई लत्याई विसर्जनवादमा जानुलाई गतिशील र सही विचार हो भनी व्याख्या गर्ने गर्दछन् । यो त उनीहरुले वैज्ञानिक माक्र्सवादलाई नबुझेर होइन कि उनीहरुको रुझान पूँजीवादतर्फ भएको र माक्र्सवादी नाम धारण गरी बढो षडयन्त्रपूर्वक गरीव जनतालाई आफ्नो भोटर बनाई दास बनाउने र लुट्ने उद्देश्यले जानी जानी यस्तो व्याख्या गरिरहेका हुन्छन् ।
वास्तवमा उनीहरु संसदीय फोहोरी व्यवस्था भन्दा पर जानै चाहँदैनन् । यसैलाई उनीहरु समाजवाद भनी अनेक रंग बुट्टा भर्ने गर्दछन् । गरीव जनतालाई ूसमाजवादू शब्दरुपी लड्डुमा भुलाएर कम्युनिष्ट नामधारीहरु देशमा अव्यवस्था सृजना गरेर आफ्नो निजी स्वार्थ पूरा गर्न मस्त छन् ।
उनीहरुले माक्र्सवादलाई अपव्याख्या गर्न मदन भण्डारीको जबजको सिध्दान्तको सहारा पनि लिइरहेको देखिन्छ । मदन भण्डारीको जबज सिध्दान्तमा अन्ततः समाज परिवर्तनको साधन वर्ग समन्वय नभै वर्गसंघर्ष र बल प्रयोग नै हो भनिएको रहेछ । आजका नामधारीहरु मदन भण्डारीको यो मूल निचोडलाई ढाकछोप गरेर वर्ग समन्वय अर्थात संसदीय प्रणालीलाई नै नेपाली माटो सुहाउँदो माक्र्सवाद हो भनी अकर्मण्य र स्वाँठपूर्ण व्याख्या गरिरहेका छन् र संविधानमा संसदीय प्रणालीको फुर्को जोडिएको नाङ्गो समाजवाद शब्द राखेर गरीव जनतालाई छलकपट गरिरहेका छन् ।
वास्तवमा मदन भण्डारीले वारीपट्टिको समाज पुरातनवादी, अर्धसामन्ती र अर्धऔपनिवेशिक शोषणमूलक पूँजीवादी समाज भएको, तत्काल कम्युनिष्ट आन्दोलन कमजोर रहेको, पारीको समाजवादी समाजमा पुग्न बीचमा रहेको नदीमा ठूलो भेल बाढी आई तर्न कठिन र ज्यान जाने खतरा भएकोले तत्काल नतरौं र बाढी रहेपछि तर्ने हो भनी कम क्षतिमा समाजवाद ल्याउने भन्ने सिध्दान्त प्रतिपादन गरेको देखिन्छ । यो कम्युनिष्ट आन्दोलनलाई तत्काल जोगाउन अल्पकालीन उपाय जस्तो देखिन्छ र तत्काल औचित्यपूर्ण पनि थियो होला । तर आजका नामधारीहरुले यसलाई सदाकालका लागि रटान गरेर पूँजीवादको फोहोरमा रमेर आफ्नो स्वार्थ पूरा गर्न लागिपरेको देखिन्छ ।
वास्तवमा मदन भण्डारीले भनेको बाढी भेल सुकेर नदी स्याप्पै भएर तर्न सजिलो अवस्था त अहिले तयार भएको छ । जुन मोडमा अहिले नेपाली समाज उभिएको छ, त्यसको शक्तिकेन्द्रमा हालीमुहाली गर्ने हाल यिनै नामधारीहरु रहेका छन् । तर उनीहरुले नदीको साङ्गलो पानीमा आफैंले बालुवा हालेर धमिल्याएर बाढी आएको भनी भ्रम सृजना गरिरहेको अवस्था छ ।
सोलीले छोपिउन्जेल लुकिएला तर अव सोली उप्केर डोकोले छोपिन थालेपछि नक्कली ‘समाजवाद’को पर्दा विस्तारै उतारिन थालेको छ । जबर्जस्त थोपरिएको भ्रमको बादल पातलिन थालिएको छ । बाँकी हेर्दै जाऊँ ।
(लेखक हाल काभ्रेपलाञ्चोक जिल्ला बार एशोसिएशनको अध्यक्ष हुनुहुन्छ)

Comments

comments